close

एनसेलको सीईओमा माइकल फोले नियुक्त, को हुन् उनी ?

टेकपाना टेकपाना

असोज ३१, २०८२ १६:१५

एनसेलको सीईओमा माइकल फोले नियुक्त, को हुन् उनी ?

काठमाडौँ । एनसेलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माइकल फोले नियुक्त भएका छन् । फोलेले एनसेलको सीईओको रूपमा १५ कात्तिकदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त भएका हुन् । 

नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका रूपमा काम गरिरहेका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ) को जिम्मेवारी पाएका छन् । ​फोलेले दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका र अनुभव बटुलेको एनसेलको विज्ञप्तिमा उल्लेख छ ।

एनसेलमा आबद्ध हुनुअघि फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा काम गर्दै सात ओटा फ्राड्रोफोन अफ्रिकी बजारको सफलतापूर्वक सञ्चालन गरेका थिए । 

त्यसअघि उनले टेलिनोर पाकिस्तान (टीपी) का सीईओ भएर काम गरेका थिए । उनले कठिन व्यावसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै बजारमा अग्रणी कम्पनीको रूपमा टीपीलाई स्थापित गरेका थिए । 

उनले ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया) मा सीईओको जिम्मेवारी निभाएका थिए । सात करोडभन्दा बढी ग्राहक संख्या पुर्‍याउँदै नाफा ६० प्रतिशतभन्दा बढी वृद्धि हासिल गराउन सफल भएका थिए । 

फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान) को अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरिसकेका छन् । हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु (WATU) अन्तर्गतको बाटु डीआरसी एसए (WATU DRC SA ) का अध्यक्षका रूपमा कार्यरत छन् । 

“काठमाडौँमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुशी र सम्मानित महसुस गरिरहेको छु । एनसेल, देशका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ,” फोलेले भने, “आजको डिजिटल, एआई पावर्ड र सामाजिक सञ्जालको युगमा दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र होइनौं, हामी समाजको डिजिटल संरचना बुन्ने भूमिका निभाइरहेका छौं । हामी आधुनिक अर्थतन्त्रको सञ्चालन प्रणाली बनिसकेका छौं । यसैले, राष्ट्रको सेवा गर्न, हाम्रा सेवाहरू सुदृढ बनाउन र सबैभन्दा महत्त्वपूर्ण रूपमा आगामी पुस्तालाई सशक्त बनाउनका लागि यी महत्त्वपूर्ण सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु अत्यावश्यक छ।" 

फोल म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसीड (INSEAD) बाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेटस् प्राप्त गरेका छन् । उनले क्यानडा-केन्याको नागरिकता लिएका छन् ।

पारिवारिक कारण देखाउँदै एनसेलका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले गत साउनमा राजीनामा दिएका थिए । त्यसपछि एनसेलको कार्यवाहक सीईओको जिम्मेवारी सैयदले सम्हाल्दै आएका थिए । 

पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ १६:३५