close

कनेक्ट आईपीएस तथा एनसीएचएलमा हिमालयन बैँकको सेवा ८ दिनसम्म नचल्ने

टेकपाना टेकपाना

कात्तिक २, २०८२ १६:४२

कनेक्ट आईपीएस तथा एनसीएचएलमा हिमालयन बैँकको सेवा ८ दिनसम्म नचल्ने

काठमाडौँ । हिमालयन बैँकले हाल प्रयोग गरिरहेको कोर बैङ्किङ सफ्टवेयरलाई स्तरोन्नति गर्ने भएपछि ३ देखि १० कात्तिकसम्म सीमित बैङ्किङ सेवा मात्रै उपलब्ध हुने भएको छ । बैँकले हाल प्रयोग गरिरहेको कोर बैङ्किङ सफ्टवेयरलाई ‘T24 Release R23’ मा स्तरोन्नति गर्ने निर्णयअनुसार तिहार र छठ बिदा पारेर काम अघि बढाउन लागेको हो । 

बैँकका अनुसार उक्त समयमा बैँकको एटीएम तथा कार्ड (डेबिट/क्रेडिट/प्रिपेड), पस (POS), क्यूआर र ई-कमर्स, अक्वायरिङ सेवा भने नियमित रूपमा सञ्चालनमा रहने छ । बाँकी सबै सेवा १० कात्तिकसम्म नचल्ने भन्दै ग्राहकमा पर्न जाने असुविधा प्रति बैँकले क्षमा मागेको छ ।

यससँगै हिमालयन बैँकको खाताबाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का विभिन्न उपकरण प्रयोग गरेर गरिने अधिकांश कारोबारसमेत रोकिने भएका छन् । एनसीएचएलका अनुसार हिमालयन बैँकको खाता प्रयोग गरेर हुने गरेका एनसीएचएल विद्युतीय चेक क्लियरिङ (ईसीसी), एनसीएचएल अन्तर बैँक भुक्तानी प्रणाली (आईपीएस), कनेक्ट आईपीएसबाट हुने अन्तर बैँक फन्ड ट्रान्सफर (आईबीएफटी), नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) सेवा चल्ने छैनन् ।

प्रणाली स्तरोन्नतिका कारण हिमालयन बैँकका ग्राहकहरूले पैसा जम्मा गर्न, चेक साटेर पैसा झिक्न, अन्तर बैँक पैसा पठाउनदेखि अन्य बैङ्किङ सेवा पनि पाउने छैनन् । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८२ १६:४२