close

गुगल ड्राइभको स्पेस खाली गर्ने तथा जिमेल, फोटोज र ड्राइभको स्टोरेज बढाउने सजिलो तरिका

टेकपाना टेकपाना

कात्तिक ३, २०८२ ११:१२

गुगल ड्राइभको स्पेस खाली गर्ने तथा जिमेल, फोटोज र ड्राइभको स्टोरेज बढाउने सजिलो तरिका

काठमाडौँ । गुगल ड्राइभले निःशुल्क १५ जीबी स्टोरेज प्रदान गर्छ । तर यो स्पेस चाँडै भरिन सक्छ । यदि तपाईँ अतिरिक्त स्टोरेज खरिद गर्न चाहनुहुन्न भने ड्राइभको उक्त स्टोरेज खाली गर्नुपर्ने हुन्छ ।

यस्ता केही सरल उपायहरू छन्, जसलाई अपनाएर तपाईँले छिटोभन्दा छिटो स्पेस खाली गर्न सक्नुहुन्छ र महत्त्वपूर्ण फाइलहरूका लागि ठाउँ बनाउन सक्नुहुन्छ ।

यहाँ हामी तपाईँलाई गुगल ड्राइभमा स्पेस खाली गर्ने ६ वटा सरल उपायहरू बताउँदै छौँ ।

१. के कुराले स्पेस लिइरहेको छ, पत्ता लगाउनुहोस्

धेरै प्रयोगकर्ताहरूले गुगल ड्राइभको स्पेस खाली गर्ने काम ठुला फाइलहरू डिलिट गरेर सुरुवात गर्छन् । तर ड्राइभको १५ जीबी निःशुल्क स्टोरेज जिमेल र गुगल फोटोजमा पनि शेयर गरिएको हुन्छ भन्ने कुरा बिर्सिरहेका हुन्छन् । यसको मतलब स्टोरेज भरिनुको वास्तविक कारण ड्राइभ नहुन सक्छ ।

कुन सर्भिसले धेरै स्पेस लिइरहेको छ भनेर पत्ता लगाउन गुगल वन स्टोरेज पेजमा जानुहोस् । त्यहाँ ड्राइभ, जिमेल र फोटोज प्रत्येकले कति स्पेस प्रयोग गरिरहेका छन् भन्ने विस्तृत विवरण देख्न सकिन्छ ।

यो जानकारीले तपाईँलाई साना फाइलहरू मेटाएर समय खेर फाल्नुको सट्टा मुख्य समस्या भएको ठाउँमा केन्द्रित हुन मद्दत गर्छ ।

२. गुगल ड्राइभबाट ठुला फाइल र 'ओर्फन फाइल' हटाउनुहोस्

यदि गुगल वन पेजमा गुगल ड्राइभले सबैभन्दा बढी स्टोरेज प्रयोग गरिरहेको देखाउँछ भने त्यहीँबाट खाली गर्ने कार्य सुरु गर्नुहोस् । ड्राइभमा प्रायः नचाहिने ठुला फाइल, डुप्लिकेट चिजवस्तु, पुराना ब्याकअप वा जिप गरिएका फोल्डरले स्पेस लिएका हुन सक्छन् ।

यसलाई खाली गर्न गुगल ड्राइभ खोल्नुहोस् र बायाँ साइडबारमा रहेको Storage ट्याबमा जानुहोस् । त्यसपछि Storage Used मा क्लिक गर्नुहोस् । यसले फाइलहरूलाई सबैभन्दा ठुलोबाट सानो क्रममा क्रमबद्ध गर्छ । जसले तपाईँलाई धेरै स्पेस खपत गर्ने फाइलहरू चाँडै पहिचान गर्न मद्दत गर्छ ।

तपाईँले भिडिओ, कम्प्रेस्ड फोल्डर वा फारम जस्ता फाइल प्रकारहरू अनुसार फिल्टर गरेर पनि ड्राइभ खाली गर्न सक्नु हुन्छ । तपाईँले कसैको स्वामित्वमा रहेको शेयर्ड फोल्डरमा थप्नुभएका तर अहिले डिलिट भइसकेका फाइलहरूलाई 'ओर्फन फाइल' भनिन्छ ।

यी फाइलहरू मुख्य ड्राइभ सूचीमा नदेखिए पनि तिनीहरूले अझै पनि स्टोरेज स्पेस लिइरहेका हुन्छन् । यस्तोमा स्टोरेज फिर्ता पाउन यी ओर्फन फाइलहरू खोजेर मेटाउनुपर्छ ।

३. गुगल फोटोज अप्टिमाइज गरी स्पेस खाली गर्नुहोस्

यदि गुगल फोटोजले तपाईँको धेरै स्टोरेज खपत गरिरहेको छ भने निम्न उपायहरू अपनाउन सक्नुहुन्छ ।

  • अपलोड गुणस्तर परिवर्तन: यदि तपाईँले फोटो र भिडियोहरू 'Original Quality' मा ब्याकअप गरी रहनुभएको छ भने त्यसलाई Storage Saver (पहिले High Quality भनिन्थ्यो) मा बदल्नुहोस् । यस मोडले भिजुअल गुणस्तरमा न्यूनतम असर पार्दै मिडियालाई थोरै सङ्कुचित (compress) गर्छ ।

  • नचाहिने सामग्री मेटाउने: गुगल फोटोज सेटिङ हुँदै Manage Storage मा जानुहोस् । यहाँ तपाईँले ब्लर फोटोहरू (blurry photos), स्क्रिनशट वा ठुला, पुराना भिडिओ जस्ता अनावश्यक वस्तुहरू डिलिट गर्न सक्नुहुन्छ ।

  • एक्सटर्नल स्टोरेज प्रयोग: तपाईँको सबैभन्दा महत्त्वपूर्ण हाई-रिजोलुसन फोटोहरूलाई क्लाउड स्टोरेजमा राख्नुको साटो एक्सटर्नल ड्राइभमा राख्ने विचार गर्नुहोस् ।

४. जिमेलमा ठुला अट्याचमेन्ट खाली गर्नुहोस्

यदि जिमेलले धेरै गुगल स्टोरेज प्रयोग गरिरहेको छ भने यसको कारण समयसँगै जम्मा भएका ठुला अट्याचमेन्ट भएका पुराना ईमेलहरू हुन् । यी अनावश्यक इमेलहरू मेटाउँदा गुगल ड्राइभ र गुगल फोटोजका लागि मूल्यवान् स्टोरेज स्पेस खाली हुन्छ । किनकि तिनीहरूले एउटै स्टोरेज कोटा शेयर गरिरहेका हुन्छन् ।

जिमेलमा यस्ता इमेलहरू पत्ता लगाउन सजिलो छ । यसका लागि सर्च बारमा has:attachment larger:10MB टाइप गर्नुहोस् ।

यसले ठुला अट्याचमेन्ट भएका इमेलहरू फिल्टर गर्छ । नचाहिने इमेलहरू रिभ्यु गर्नुहोस् । यदि इमेलमा महत्त्वपूर्ण फाइलहरू छन् भने मेल डिलिट गर्नु अघि ती अट्याचमेन्टहरू डाउनलोड गर्नुहोस् ।

५. गुगल वन स्टोरेज म्यानेजर प्रयोग गर्नुहोस्

यदि तपाईँ प्रत्येक गुगल सर्भिसको स्टोरेज छुट्टाछुट्टै सफा गर्न चाहनुहुन्न भने गुगल वनको स्टोरेज म्यानेजर प्रयोग गर्न सक्नुहुन्छ ।

यसले ब्लर फोटोहरू, स्क्रिनशटहरू, ठुला अट्याचमेन्ट भएका इमेलहरू र ठुला ड्राइभ फाइलहरू जस्ता वस्तु सरसफाइका लागि सुझावहरू दिन्छ ।

यसमा रहेको Review मा क्लिक गरेर तपाईँले अनावश्यक वस्तुहरू चयन गर्न र तिनीहरूलाई सिधै मेटाउन सक्नुहुन्छ । यसले स्पाम, ट्राश (trash) वा ठुला अट्याचमेन्ट भएका इमेलहरू मेटाएर जिमेल स्टोरेज फिर्ता पाउन मद्दत गर्छ ।

६. सबै गुगल एपहरूमा ट्राश खाली गर्नुहोस्

तपाईँले गुगल ड्राइभबाट फाइलहरू, जिमेलबाट इमेलहरू र फोटोजबाट फोटोहरू मेटाए पनि ती वस्तुहरू ३० दिनसम्म ट्राशमा रहन्छन् र स्थायी रूपमा नमेटिएसम्म स्टोरेज स्पेस लिइरहेका हुन्छन् । त्यसैले स्पेस फिर्ता पाउनका लागि तपाईँले प्रत्येक गुगल सर्भिसमा म्यानुअल्ली ट्राश खाली गर्नुपर्ने हुन्छ ।

यसका लागि गुगल ड्राइभको साइडबारमा रहेको Trash चयन गर्नुहोस् र Empty Trash मा क्लिक गर्नुहोस् । त्यसैगरी जिमेलमा पनि Trash फोल्डरमा जानुहोस् र Empty Trash रोज्नुहोस् ।

गुगल फोटोजमाको लाइब्रेरीमा रहेको Trash ट्याबमा जानुहोस् र यसलाई खाली गर्न Empty Trash मा क्लिक गर्नुहोस् ।

एक पटक स्थायी रूपमा मेटिएपछि खाली भएको स्पेस तपाईँको स्टोरेजमा प्रतिविम्बित हुनेछ । ठुला मेटाइएका फाइलहरूलाई स्थायी रूपमा हटाउन नियमित रूपमा ट्राश खाली गर्नुपर्ने हुन्छ ।

यदि यी चरणहरूले पनि पर्याप्त स्पेस खाली गर्न सकेनन् र तपाईँलाई निःशुल्क १५ जीबी स्टोरेज अपर्याप्त लाग्यो भने तपाईँसँग सशुल्क स्टोरेज लिने विकल्प त जहिले पनि रहीरहन्छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८२ ११:१२