लापरवाहीपूर्वक बाइक चलाउँदै टिकटकमार्फत अफवाह फैलाउने दुई युवक पक्राउ
कात्तिक ४, २०८२ १८:१७
सांकेतिक तस्बिर
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सामाजिक सञ्जाल टिकटकमार्फत अफवाह र नकारात्मक असर पर्ने किसिमका गतिविधि प्रसारण गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरूमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय सजन श्रेष्ठ र भारतको सितामढी घर भई हाल काठमाडौँ सिनामंगल बस्ने १९ वर्षीय अफ्ताव अन्सारी रहेका छन् ।
श्रेष्ठलाई सुरुमा उनले चलाएको एनएस मोटरसाइकलमा क्रस फायरको हेन्डिल लगाएर लापरवाही तरिकाले साधन चलाएको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएको मोटरसाइकलको ह्यान्डिल परिवर्तनको विषयमा अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चालक श्रेष्ठले अन्सारीसमेतलाई प्रयोग गरी सामाजिक सञ्जाल टिकटकको 'SS_VLOGS' (@ssvlognp10) नामक आईडी मार्फत समाजमा नकारात्मक प्रभाव पार्ने किसिमका श्रव्यदृश्य सामग्रीहरू पोष्ट गरेको खुलेको थियो । सोही आधारमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
श्रेष्ठलाई सोमबार दिउँसो करिब साढे ३ बजे कागेश्वरी मनोहराको तीर्थचोकबाट र अन्सारीलाई सिनामंगलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट एक थान सामसङ ग्यालेक्सी ए१४ फाइभ जी स्मार्टफोन र एक थान गोप्रो हिरो ०९ ब्ल्याक क्यामेरा बरामद गरेको छ ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८२ १८:३२
