काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा खोज तथा अनुसन्धान गरिरहेका वैज्ञानिक डा. समीर मास्केको कम्पनी फ्युजमसिन्स इंकले अमेरिकी स्टक मार्केट नास्डकमा आफ्नो शेयर कारोबार सुरु गरेको छ । सन् २०१३ मा संयुक्त राज्य अमेरिकास्थित न्यू योर्कमा स्थापना भई हाल नेपाल, क्यानडा, ल्याटिन अमेरिका, डोमिनिकन रिपब्लिक लगायतका मुलुकमा विस्तार भएको यो कम्पनीले बिहीबारदेखि नास्डकमा साधारण शेयरको कारोबार थालेको हो ।
याेसँगै पहिलाे पटक नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधि कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । फ्युजमसिन्सले आफ्नो नास्डक सूचीकरणलाई एआईलाई सबैका लागि सुलभ बनाउने लक्ष्यतर्फको नयाँ अध्यायको रूपमा व्याख्या गरेको छ । विश्वव्यापी रूपमा एआई प्रविधि, शिक्षा र नवप्रवर्तनमा पहुँच विस्तार गर्न यस कदमले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।
यो अवसरमा फ्युजमसिन्सका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. समीर मस्केले भने, “सानो, उद्देश्यप्रेरित टोलीबाट सुरु भएर आज नास्डकमा सार्वजनिक सूचीकरणमा पुग्नु हाम्रो नवप्रवर्तन र कार्यान्वयनप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो । हामीले बनाएको प्लेटफर्म र साझेदारहरूले दिएको विश्वासमा गर्व छ । यो सूचीकरण हाम्रो अर्को चरणको सुरुवात हो, जसले दीर्घकालीन मूल्य सिर्जना र सन्तुलित वृद्धिलाई अघि बढाउनेछ ।”
कम्पनीले शेयर कारोबारबाट प्राप्त आम्दानीलाई वित्तीय सुदृढीकरण र आगामी विकास चरण तीव्र पार्न प्रयोग गर्ने जनाएको छ । फ्युजमसिन्सले उत्पादन नवप्रवर्तन, ग्राहक विस्तार, बिक्री र मार्केटिङ क्षेत्रमा रणनीतिक लगानी गर्ने योजना बनाएको छ । यसका माध्यमबाट कम्पनीले स्थायी आम्दानीका स्रोत विस्तार र शेयरधनीहरूलाई दीर्घकालीन मूल्य उपलब्ध गराउने लक्ष्य राखेको छ ।
त्यसैगरी, कम्पनीले बजार विस्तार तीव्र पार्ने, प्रविधि दायरा बढाउने र प्रतिस्पर्धी स्थिति सुदृढ पार्ने उद्देश्यका साथ रणनीतिक साझेदारी र सम्भावित अधिग्रहण (मर्जर एन्ड एक्विजिसन) अवसरहरू पनि खोज्ने जनाएको छ ।
फ्युजमसिन्सले 'डेमोक्रेटाइजिङ एआई' अभियानलाई विश्वव्यापीकरण गर्ने लक्ष्यसहित इन्टरप्राइज क्षेत्रका लागि एआई प्रडक्ट बनाउनेदेखि एआई सीप र शिक्षामा काम गरिरहेको छ । यसअन्तर्गत नेपालमा पनि युवाहरूलाई एआई शिक्षा तथा रोजगारीमा आबद्ध गराउन कम्पनीले भूमिका खेल्दै आएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८२ ८:३८
