एआई र रोबोटले सबै जागिर विस्थापित गर्ने एलन मस्कको भविष्यवाणी, भन्छन्ः काम ऐक्षिक हुनेछ
कात्तिक ७, २०८२ १६:१४
काठमाडौँ । प्रविधि जगतका अर्बपति उद्यमी एलन मस्कले एआई र रोबोटले भविष्यमा संसारका सबै जागिर विस्थापित गर्ने दाबी गरेका छन् । ई-कमर्स प्लेटफर्म अमेजनले आगामी वर्ष पाँच लाख बढी काम स्वचालित बनाउने विषयको रिपोर्ट बाहिरिएपछि मस्कले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
मस्कले जागिरलाई आफ्नै बारीमा तरकारी उब्जाउने कामसँग तुलना गर्दै वैकल्पिक हुने बताएका छन् । “एआई र रोबोटले सबै काम विस्थापित गर्नेछन् । पसलबाट किन्नुको सट्टा आफ्नै तरकारी उमारे जस्तै काम गर्नु ऐच्छिक हुनेछ,” मस्कले आफ्नो पोस्टमा भनेका छन् ।
न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार जेफ बेजोस नेतृत्वको कम्पनीले पाँच लाखभन्दा बढी जागिरलाई रोबोटले प्रतिस्थापन गर्ने योजना बनाएको छ । यद्यपि अमेजनले आधिकारिक प्रतिक्रिया दिँदै समाचारमा उल्लेख गरिएका कागजात अपूरो भएको र यसले कम्पनीको भविष्यको कर्मचारी नियुक्तिको रणनीतिलाई नदेखाएको स्पष्ट पारेको छ ।
AI and robots will replace all jobs.
— Elon Musk (@elonmusk) October 21, 2025
Working will be optional, like growing your own vegetables, instead of buying them from the store.
अमेरिकी सिनेटर टेड क्रुजसँगको एक अन्तर्वार्तामा अर्बपति एलन मस्कले भविष्यमा मानव जातिका लागि उपलब्ध हुने सामान र सेवा लगभग निःशुल्क हुने बताएका थिए । मस्कले जोड दिँदै भनेका थिए, “भविष्यमा अर्बौँ रोबोटहरू हुनेछन्, जसले तपाईँलाई लगभग केही पनि नलिई कुनै पनि सेवा उपलब्ध गराउनेछन् ।”
उनले अगाडि भनेका थिए, “सामान र सेवा लगभग निःशुल्क हुनेछन् । मानिसहरूलाई सामान वा सेवाको अभाव हुने छैन । तपाईँसँग अर्बौँ रोबोट हुनेछन्, जसले तपाईँले चाहेको कुनै पनि चिज बनाउन वा कुनै पनि सेवा प्रदान गर्न सक्छन् । त्यो पनि लगभग सित्तैमा ।”
ELON: PEOPLE WILL HAVE A HIGHER STANDARD OF LIVING IN AN AI WORLD
— Mario Nawfal (@MarioNawfal) October 21, 2025
Ted Cruz:
“If AI will be smarter than any person, how many jobs will go away because of that?”
Elon:
“Goods and services will become close to free.
It's not as though people will be wanting in terms of goods… https://t.co/jf5cX6qqhG pic.twitter.com/nf0VqNFKgp
मस्कका अनुसार एआई र रोबोटतर्फको यो कदमले मानिसलाई उच्च जीवनस्तर जिउन मद्दत गर्नेछ । तर मानिसका लागि एक मात्र चिन्ताको विषय ‘सन्तुष्टि’ प्राप्त गर्नु हुनेछ ।
“मानिसको जीवनस्तर घट्ने नभई धेरै उच्च हुनेछ । तर, चुनौती भनेको सन्तुष्टि हुनेछ,” मस्कले टेड क्रुजलाई भनेका थिए ।
पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८२ १६:१४
