close

माग्ने बुढाले सन्दर्भ नखुलाई सामाजिक सञ्जालमा राखेको फोटोका कारण तनावमा ट्राफिक प्रहरी जवान

हिक्मत आचार्य हिक्मत आचार्य

कात्तिक ९, २०८२ १७:४९

माग्ने बुढाले सन्दर्भ नखुलाई सामाजिक सञ्जालमा राखेको फोटोका कारण तनावमा ट्राफिक प्रहरी जवान

काठमाडौँ । सडकमा खटिँदा धुलोधुवाँ र प्रदूषणबाट बच्न लगाइने मास्क आजभोलि ट्राफिक प्रहरी जवान जनकलाल महतोका लागि आफ्नो पहिचान लुकाउने माध्यम बनेको छ । उनी डराउँछन्, कतै कसैले चिनेर जिस्काउने हो कि ! कतै कसैले फोटो खिचेर सामाजिक सञ्जालमा ट्रोल वा मिमको पात्र बनाउने पो हो कि ! 

हास्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा)ले खिचेको एउटा सामान्य ट्राफिक जाँचको तस्बिरले उनको व्यावसायिक र व्यक्तिगत जीवनमा यति ठुलो तुफान ल्याइदियो कि अहिले उनी सार्वजनिक रूपमा अनुहार देखाउन पनि हिचकिचाउँछन् ।

काठमाडौँको सडकमा ट्राफिक व्यवस्थापनमा खटिनु उनको जागिरे कर्तव्य हो । गत सोमबार दिउँसो करिब पौने तीन बजेको हुँदो हो । कमलपोखरीस्थित कृष्ण पाउरोटी चोकमा उनी आफ्नो नियमित ड्युटीमा थिए । त्यही बेला फोल्ड गर्न मिल्ने ‘लुकिङ ग्लास’ (साइड मिरर) भित्र पट्याएर चर्को ध्वनि आउने गरी चलाइएको मोटरसाइकल महतोको नजिक आयो । 

“लुकिङ ग्लास त निकै महत्त्वपूर्ण हुन्छ, मैले फोल्ड भएको लुकिङ ग्लाससहित दुई व्यक्ति सवार बाइक देखेँ र रोकेँ,” प्रहरी जवान महतो घटनाको बेलीविस्तार लगाउँछन्, “एउटा मिरर ठिक थियो, अर्को भने घुम्ने किसिमको रहेछ ।”

मोटरसाइकल चालकलाई रोकेपछि उनले सुरुमा मोटरसाइकलको आवाज जाँच गरे, त्यो ठिकै थियो । त्यसपछि उनले विनम्रतापूर्वक चालकलाई सम्झाउन थाले । 

“यो लुकिङ ग्लास केको लागि त सर, हाम्रै लागि हैन ? यो लुकिङ ग्लास भनेको पछाडिको आँखा हो । सबै अगाडिबाट एक्सिडेन्ट हुन्छ भन्ने छैन, पछाडि नदेख्दा पनि ठोक्किन सक्छ,” उनले चालकलाई सम्झाउँदै भनेका थिए, “दुर्घटनाबाट बच्न हामीलाई यो मिरर दिइएको हो, यसको भरपुर प्रयोग गर्नुपर्छ ।” 

उनले यति भनेर आफैले दुवै मिरर खोलिदिए, तर एउटा खुकुलो भएर घुमिरहेको थियो । उनले त्यो बनाउन सुझाए र चालकको नम्बर नोट गर्दै अर्को पटक भेट्दा बनेको हुनुपर्ने सर्तका साथ धन्यवाद भनेर पठाए । 

यो एक सामान्य र सकारात्मक ट्राफिक सचेतना थियो । तर, उनले चालकलाई सम्झाइरहँदा माग्ने बुढाले तस्बिर खिचिरहेको उनलाई पत्तै भएन । चार बजेतिर ड्युटी सकियो । महतो आफू कार्यरत ट्राफिक प्रहरी वृत मालीगाउँ पुगे । र, आराम गर्न थाले ।

केहीबेरमै उनलाई गाउँतिरका साथीभाइबाट फोन आउन थाल्यो, “फेसबुक खोल् त, के हो यस्तो ?” उनी अकमक्क परे । फेसबुक खोल्दा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को पेजमा उक्त पोस्ट देखे । 

२० अक्टोबर ३ः२८ मिनेटमा माग्ने बुढाले पोस्ट गरेको फोटोको क्याप्सनमा लेखिएको थियो, “दुवै जनाले हेलमेट लगाउँदा पनि रोक्नुको कारण के हुन सक्छ ? अनुमान लगाउनुस् ।” हेर्नुहोस् आर्काइभ लिङ्क

केदारप्रसार घिमिरेले पहिलो पटक राखेको पोस्ट

उक्त पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्टमार्फत आफ्नो धारणा राखे । माग्ने बुढाले फोटोको प्रसंग खुलाएका थिएनन् । फोटो कसले, कहिले र कहाँ खिचेको भन्ने विवरण पनि केही उल्लेख थिएन । उक्त पोस्टमा १६०० बढी कमेन्ट मात्रै आए भने हजारौँ रियाक्सनले ओइरिए । 

फोटो र क्याप्सनलाई नै आधार बनाएर सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्टमा आफ्नो धारणा राखे । केहीले बाइक मोडिफाइ गरेको हुनसक्ने अड्कल काटे भने केहीले कागजात नभएकाले रोकेको हुनसक्ने आशङ्का व्यक्त गरे । 

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने व्यङ्ग्यात्मक रूपमा आफ्ना धारणा राखे । केहीले भने अनुमति बिनै ड्युटीमा खटिएका ट्राफिकको फोटो राखेर माग्ने बुढाले चरित्रहत्या गरेको आरोप लगाए । व्यङ्ग्यात्मक रूपमा कमेन्ट गर्नेमध्ये अधिकांशले ‘ट्राफिक प्रहरीको श्रीमती अर्काको बाइकमा भएको देखेकाले रोकेको हुनुपर्छ’ भनेर लेखे ।  

त्यसपछि यही शैलीको पोस्ट व्यापक रूपमा भाइरल भयो । फेसबुकमा पृथ्वीनारायण नामबाट खोलिएको फेसबुक पेजले सोही फोटो पोस्ट गर्‍यो । जसको क्याप्सनमा लेखिएको छ, “एक जना ट्राफिकले ट्राफिक चेकजाँचको क्रममा आफ्नो श्रीमती लाई अर्कैको मोटरसाइकलमा भेटेका छन् भने यो घटना धरानको हो ।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २४ हजार बढी रियाक्सन र ११०० बढी कमेन्ट आएका छन् भने २६४ पटक शेयर भएको छ । 

फेसबुकमा एभ्रिथिङ नलेज नामक पेजले सोही फोटो राख्दै लेख्यो, “एक जना ट्राफिकले ट्राफिक चेकजाँचको क्रममा आफ्नो श्रीमती लाई अर्कैको मोटरसाइकलमा भेटेका छन् भने यो घटना धरानको हो ।”

ललित जिग्री नामक फेसबुक प्रयोगकर्ताले पनि यही शैलीको फोटो र क्याप्सन राखे । उनले वास्तविक फोटोमा आफ्नो फोटो र वाटरमार्क पनि राखे । र, फोटोमा ‘ला आफ्नै बुढा परेछ’ भन्ने टेक्स्ट पनि थपिदिए ।

जेएके इन्टरटेन्मेन्ट नामक पेजले पनि त्यही पोस्ट राख्यो । हेर्नुहोस् आर्काइभ लिङ्क । यसरी कैयौँ अकाउन्टबाट उक्त फोटो फरक सन्दर्भसहित अपलोड भयो । यो सिलसिला केबल मिममा मात्र सीमित रहेन । यही फोटोलाई लिएर ‘विन्दु तारामी मगर’ले मनगणन्ते कथा नै बुनिन् । हेर्नुहोस् आर्काइभ लिङ्क । 

भाइरल ट्राफिकको फोटो आफैले खिचेको जस्तो गरी वाटरमार्क राखिन् । वाटरमार्कमा २५ अक्टोबर २०२५ को मिति र २ः१५ मिनेटको समय उल्लेख छ । जबकी फोटो २० अक्टोबरको हो । त्यही फोटोलाई थप सनसनीपूर्ण बनाउन एआई सिर्जित फोटो जोडिन् । 

उनले राखेको ३५२ शब्दको क्याप्सनको सार यस्तो छ । बिन्दुका अनुसार ती ट्राफिक प्रहरी धरानका हवलदार सरेन्द्र हुन् । र, त्यस दिन दुई जना सवार बाइक रोक्छन् । र, पछाडि हेर्दा उनकै श्रीमती रीमा हुन्छिन् । वास्तवमा रीमा आफ्ना साथीसँग अफिस जान लागेकी हुन्छिन् । हेल्मेट नलगाएको देखेपछि सुरेन्द्रले चिट काट्छन् र पठाउँछन् । यो बेतुक र अर्थै नभएको असम्बन्धित काल्पनिक कथाले झन् भ्रम छर्न मद्दत गर्छ । 

प्रहरी जवान महतो आफ्नो फेसबुक आईडीबाट उक्त पोस्टमा कमेन्ट गर्दै लेख्छन्, “कृपया, यस्तो पोस्ट नगरिदिनु होला । यो ट्राफिक म नै हुँ । यस्तो पोस्ट गरेर के पाउनु हुन्छ ? मेरो पनि घर परिवार छ । हुने नहुने पोस्ट गरेर मजाकको पात्र नबनाउनुस् मलाई । बाइकमा समस्या थियो । ठुलो आवाज आएको थियो । लुकिङ ग्लास फोल्ड अनि घुम्ने किसिमको थियो । त्यसैले मैले बाइकलाई रोकेर सम्झाइ बुझाइ गर्दै थिएँ । ट्राफिक नियम आफ्नै लागि हो । यो कुरा बुझी राखौँ सबैले । यो पोस्ट कृपया डिलिट गरिदिनुहोला ।”

तर, बिन्दु तारामी मगरले उक्त पोस्ट यो सामग्री तयार पर्दासम्म हटाएकी छैनन् । त्यस्तै पृथ्वीनारायण नाम लेखिएको र राजा पृथ्वीनारायण शाहको फोटो राखिएको पेजले ट्राफिक प्रहरी महतोलाई उल्टै धम्की दिएको छ । हेर्नुहोस् आर्काइभ पोस्ट । महतोले सोही फोटोको कमेन्टमा माथि उल्लेख गरिएकै कमेन्ट पेस्ट गरेका थिए । उक्त पेजले रिप्लाई गर्दै लेखेको छ, “अनि किन खाउँला जसरी हेरेको, कहिले केटी देखेको थिएनस् ?”

यसरी फिल्म प्रचारको लागि राखेको सामान्य पोस्ट भ्रामक सूचनाका रूपमा फैलिएपछि घिमिरेले माफी मागे । उनले भाइरल भएका पोस्टको स्क्रिनशट राख्दै ‘चालक र यात्रु दुवैले हेल्मेट लगाउँदा पनि ट्राफिकले किन रोकेको होला भन्ने चासोले फोटो खिचेर सामाजिक सञ्जालमा राखेको’ उल्लेख गरेका छन् । ट्राफिक सचेतना फैलाउन र चलचित्र ‘जेरी अन टप’ को प्रचार गर्न ह्याशट्याग सहित पोस्ट राखेको उनको भनाइ छ ।

विवाहित ट्राफिक जवानको व्यक्तिगत जीवनमाथि समेत प्रश्न उठाउँदै अनेकन् भ्रामक टीकाटिप्पणी हुन थालेपछि घरबाट फोन आएको उनी सुनाउँछन् । “सुरुमा घरपरिवारबाट पनि ‘के भएको हो ?’ भनेर सोधखोज भयो,” उनी भन्छन्, “मैले सबै कुरा सम्झाएपछि परिवार त कन्भिन्स भयो । तर समाज र सामाजिक सञ्जाललाई बुझाउन मलाई निकै गाह्रो भइरहेको छ । भाइरल भइयो तर सबैका अघि म नराम्रो बन्नुपर्‍यो ।”

उनी अगाडि भन्छन्, “त्यस्ता हुने-नहुने पोस्ट आइरहँदा अलिअलि पिडा त भइहाल्छ नि । मैले केही नराम्रो काम गरेको भए त्यसरी भाइरल हुनु स्वभाविक हो । मैले त सम्झाइ बुझाइ पठाएको थिएँ । अरू बेला पनि सवारी चालक तथा यात्रुलाई सघाएकै थिएँ ।”

एउटा कलाकारले सन्दर्भ नबुझी खिचेर अनुमान गर्न छोडिदिएको तस्बिरले आफूलाई यसरी मानसिक तनाव देला भन्ने उनले सोचेका पनि थिएनन् । “फोटो खिच्नु नै गलत हो । बरु भिडियो नै खिचेको भए मैले गरेको काम प्रस्ट देखिन्थ्यो, त्यसरी नकारात्मक सन्देश जाँदैनथ्यो होला,” उनी भन्छन्, “यदि चासो नै लागेको थियो भने मलाई भेटेर किन रोक्नु भएको भनेर सोधेको भए हुन्थ्यो । सामाजिक सञ्जालमा राखिदिँदा त्यसले मेरो चरित्रहत्या नै भयो ।” 

घुस खाएको वा कसैलाई दुर्व्यवहार गरेको भए खिचेर हाल्नु स्वाभाविक हुने उनी ठान्छन् । तर नियम पालना गर्न सिकाउँदा उल्टै चरित्रहत्याको सिकार बन्नुपर्दा उनको चित्त दुखेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १८:२९