close

विश्वव्यापी प्रोग्रामिङ म्याराथनमा नेपालका दुई टिम शीर्ष १०० मा

टेकपाना टेकपाना

कात्तिक १०, २०८२ १७:७

विश्वव्यापी प्रोग्रामिङ म्याराथनमा नेपालका दुई टिम शीर्ष १०० मा

काठमाडौँ । आईईईई एक्ट्रिम १९.० मा नेपालका दुई टिम विश्वव्यापी र्‍याङ्किङको शीर्ष १०० स्थानमा पर्न सफल भएका छन् । द इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स (आईईईई) ले शनिबार आयोजना गरेको २४ घण्टे विश्वव्यापी प्रोगामिङ म्याराथनमा इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोक क्याम्पसका दुई टोली उक्त सूचीमा परेका हुन् ।    

जसमा टिम ‘काम्लीकेओस्’ ६८ औँ  र टिम ‘एर्रीअफहोप’ ७७ औँ स्थानमा पर्न सफल भएका छन् । यस्तै आईओई पुल्चोक क्याम्पसकै केआईए (११७) र एसपीएएक्स (५०७) नेपालको लागि तेस्रो र चौँथो स्थानमा पर्न सफल भएका छन् ।

यस्तै एनसीआईटी कलेजबाट सहभागी भएको टोली नाइटिङ्गेल (६२१) पाँचौँ स्थानमा पर्न सफल भएको छ । 

प्रत्येक टोलीमा बढीमा तीन जना सहभागी रहेको उक्त प्रतियोगितामा विश्वका आठ हजार १६९ टोलीले प्रतियोगितामा सहभागी जनाएका थिए ।  नेपालका तर्फबाट ४६ टिम सहभागी भएका थिए । जसमा ६१ जना नेपालको आयोजना स्थन सिद्धार्थ फुडल्यान्डमा गएर सहभागीता जनाएका थिए भने बाँकीले अनलाइनबाट सहभागिता जनाएका थिए । प्रतिस्पर्धामा पाँच जना प्रोक्टोर्स (मेन्टर) उपस्थित थिए । 

२५ अक्टोबरदेखि २६ अक्टोबर (शनिबार बिहान ५:४५ बजेदेखि आइतबार ५:४५ बजेसम्म) कुल २४ घण्टाको प्रोगामिङ म्याराथन आयोजना भएको थियो । जहाँ उनीहरूले कोडिङ र समस्या समाधानका काम गरेका थिए । 

उक्त प्रतिस्पर्धामा नेपालमा शीर्ष तीन स्थान हासिल गर्ने टोलीलाई रक टेक शपद्वारा इलेक्ट्रोनिक्स उपकरणहरू र मुदिता स्टोर्सद्वारा पुरस्कारहरू प्रदान गर्ने घोषणा भएको आयोजकले जानकारी दिएको छ । 

यसअघि आयोजना भएको आईईईई एक्ट्रिम १७.० र आईईईई एक्ट्रिम १८.० मा पनि नेपालका विभिन्न टोलीले सहभागिता जनाएका थिए । आईईईई एक्ट्रिम १७.० मा त्रिभुवन विश्वविद्यालयको र्यान्डम टिम विश्व र्‍याङ्किङको ३७१ औँ स्थानमा पर्दै नेपालको प्रथम र्‍याङ्कमा परेको थियो ।  

आईईईई एक्ट्रिम १८.० मा भने पुल्चोक क्याम्पसको खैयार टिम शीर्ष सय स्थानमा पर्न सफल भएको थियो । उक्त टोलीले विश्वव्यापी र्‍याङ्किङमा ७६ औँ स्थान प्राप्त गरेको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८२ २२:४८