close

प्रधानमन्त्री सुशीला कार्कीबारे भ्रम फैलाएको आरोपमा अधिवक्ता स्वागत नेपालसँग ५ घण्टा बयान

टेकपाना टेकपाना

कात्तिक १०, २०८२ १८:१४

प्रधानमन्त्री सुशीला कार्कीबारे भ्रम फैलाएको आरोपमा अधिवक्ता स्वागत नेपालसँग ५ घण्टा बयान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबारे विभिन्न माध्यमबाट भ्रम फैलाएको आरोप लागेका अधिवक्ता स्वागत नेपालसँग साइबर ब्युरोले ५ घण्टा बयान लिएको छ । आइतबार दिउँसो दुई बजेदेखि करिब सात बजेसम्म सोधपुछ गरिएको ​ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

“अनुसन्धानको सिलसिलामा उहाँ (स्वागत नेपाल) बाट केही जानकारी आवश्यक परेकाले बोलाएका थियौँ । उहाँ आउनुभयो । अब मङ्गलबार फेरि बोलाइएको छ,” अवस्थीले टेकपानासँग भने ।

बयान दिएर फर्किने क्रममा अधिवक्ता नेपालले सञ्चारमाध्यमहरूसँग कुरा गर्दै आफूले पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीको नियुक्तिबारे बोलेपछि ब्युरोले बोलाएको दाबी गरे । “मैले विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीको हकमा साइबर क्राइम भयो रे,” उनले आक्रोश पोखेका छन् ।

आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै राजतन्त्र पक्षधर अधिवक्ता नेपालले कानुनी प्रतिरक्षाका लागि आफ्नो पक्षमा वरिष्ठ अधिवक्ता, अधिवक्ता र मानव अधिकारकर्मीहरू उपस्थित हुन लागेको उल्लेख गरेका थिए ।

उनले केही समयअघि सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री कार्कीको नियुक्तिको विषयमा आफ्नो धारणा राख्दै आलोचना गरेका थिए । उनको अभिव्यक्तिलाई लिएर उजुरी परेपछि ब्युरोले अनुसन्धान अघि बढाइएको बताइए पनि उजुरी कसले दियो र त्यसमा के आरोप लगाइएको छ भन्ने स्पष्ट खुलेको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८२ १८:१४