close

एकै पटक ३० हजार कर्मचारीलाई जागिरबाट निकाल्दै अमेजन, कम्पनी इतिहासकै सबैभन्दा ठुलो कटौती हुने

टेकपाना टेकपाना

कात्तिक ११, २०८२ ९:७

एकै पटक ३० हजार कर्मचारीलाई जागिरबाट निकाल्दै अमेजन, कम्पनी इतिहासकै सबैभन्दा ठुलो कटौती हुने

काठमाडौँ । अमेजनले मङ्गलबारदेखि ठुलो मात्रामा कर्मचारी कटौतीको घोषणा गर्ने तयारी गरिरहेको बुझिएको छ । सीएनबीसीले सम्बन्धित मामिलाका एक जानकारलाई उद्धृत गर्दै अमेजनको इतिहासमा सबैभन्दा ठुलो कर्मचारी कटौती हुने खबर बाहिर ल्याएको हो ।

स्रोतका अनुसार यस किसिमको कटौती लगभग हरेक व्यवसायमा फैलिनेछ । रोयटर्सको रिपोर्ट अनुसार कम्पनीले आफ्नो कर्पोरेट जनशक्तिमा ३० हजार जनासम्म कर्मचारीहरूलाई हटाउने योजना बनाएको छ ।

कम्पनीले मङ्गलबार बिहान इमेल मार्फत कर्मचारीहरूलाई कटौतीको जानकारी दिन सुरु गर्ने अपेक्षा गरिएको छ । अमेजनले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको उल्लेख छ ।

यो पछिल्लो कर्मचारी कटौती अमेजनका सीईओ एन्डी जस्सीले चलाएको व्यापक लागत कटौती अभियानको हिस्सा हो । जुन कोभिड-१९ महामारीको समयमा सुरु भएको थियो ।

जस्सीले तहगत संरचना हटाएर अमेजनको कर्पोरेट संरचनालाई सरल बनाउन पनि कदम चालेका छन् । जसमा म्यानेजरहरूको सङ्ख्या थोरै हुनेछ ।

सीईओ जस्सीले गत जुनमा कम्पनीले जेनरेटिभ एआईलाई अपनाएपछि अमेजनको जनशक्ति अझै घट्न सक्ने बताएका थिए । उनले कर्मचारीहरूलाई भनेका थिए, "आज भइरहेका केही कामहरू गर्न कम मानिसहरू र अन्य प्रकारका कामहरू गर्न बढी मानिसहरूको आवश्यकता पर्नेछ ।"

उनले यो परिवर्तनले आगामी केही वर्षहरूमा कम्पनीको कूल कर्पोरेट जनशक्ति घट्ने अपेक्षा रहेको बताएका थिए । अमेजनले सन् २०२२ देखि नै कम्पनीभर क्रमिक रूपमा कटौतीहरू गरिरहेको छ, जसको परिणाम स्वरूप अहिलेसम्म २७ हजारभन्दा बढी कर्मचारीहरूलाई हटाइ सकिएको छ ।

यस वर्ष पनि सानो स्तरमा रोजगारी कटौतीहरू जारी नै रहेको थियो । हालैका महिनाहरूमा अमेजनको क्लाउड, स्टोर, सञ्चार र डिभाइस सेग्मेन्टमा कटौती भएका छन् ।

यो योजनाबद्ध कटौती सन् २०२० पछि प्रविधि उद्योगमा भएको सबैभन्दा ठुलो रोजगारी कटौती हुनेछ । लेअफ्स डट एफवाईआईका अनुसार यस वर्षको सुरुवातदेखि नै २०० भन्दा बढी प्रविधि कम्पनीहरूले करिब ९८ हजार कर्मचारीहरूलाई हटाइसकेका छन् ।

प्रविधि क्षेत्रमा रोजगारी कटौतीको सबैभन्दा कठिन वर्ष सन् २०२३ रहेको थियो । त्यतिखेर झन्डै १२ सय प्रविधि कम्पनीहरूले २ लाख ६० हजार भन्दा बढी रोजगारी कटौती गरेका थिए ।

इन्टेलले २२ हजार रोजगारी कटौती गरेको थियो, जुन सबैभन्दा धेरै हो । माइक्रोसफ्टले अहिलेसम्म १५ हजार मानिसहरूलाई हटाएको छ ।

सेल्सफोर्सले ४ हजार कस्टमर सपोर्ट कर्मचारीहरूलाई हटाएको थियो, जसमा सीईओ मार्क बेनियफले एआईलाई एक उत्प्रेरकको रूपमा औँल्याएका थिए ।

मेटाले गत हप्ता आफ्नो एआई युनिटभित्र करिब ६०० रोजगारी कटौती गरेको थियो । गुगलले यस महिनाको सुरुमा क्लाउड युनिटमा १०० भन्दा बढी डिजाइन-सम्बन्धित भूमिका कटौती गरेको थियो ।

अमेजनसँग विश्वव्यापी रूपमा दोस्रो त्रैमासिकको अन्त्यसम्ममा १५ लाख ४० हजारभन्दा बढी कर्मचारीहरू छन् । यद्यपि त्यो सङ्ख्या मुख्यतया यसको वेयरहाउसको जनशक्ति हो । कम्पनीसँग करिब ३ लाख ५० हजार कर्पोरेट कर्मचारीहरू छन् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८२ ९:७