अब च्याटजीपीटीबाट ईकमर्स जस्तै सामान पनि किन्न मिल्ने, भुक्तानीका लागि पेपालसँग सम्झौता
कात्तिक १२, २०८२ ११:२०
काठमाडौँ । ओपनएआईले पेपालको भुक्तानी वालेट च्याटजीपीटीमा एकीकृत गर्न एउटा सम्झौतामा हस्ताक्षर गरेको छ । यससँगै अब पेपाल च्याटजीपीटीको पहिलो भुक्तानी वालेट बनेको छ ।
आगामी वर्षदेखि पेपालका खरिदकर्ता र विक्रेताहरूले एआई उपकरणमार्फत कारोबार पुरा गर्न सक्नेछन् । यस सम्झौताले प्याकेज ट्र्याकिङ र विवाद समाधान लगायतका ग्राहकको हीत संरक्षण सुनिश्चित गर्नेछ ।
सम्झौतामा अन्तर्गत पेपालका प्रयोगकर्ताहरूले च्याटजीपीटीमार्फत फेला पारेका वस्तुहरूको भुक्तानी गर्न सक्नेछन् । यो समाचार सार्वजनिक भएपछि कम्पनीको शेयर मूल्यमा करिब ४% को उछाल आएको थियो ।
पेपालका सीईओ एलेक्स क्रिसले आगामी वर्षदेखि पेपालको इकोसिस्टमका दुवै पक्षहरू च्याटजीपीटीमा जोडिन सक्ने बताएको सीएनबीसीमा उल्लेख छ । यसको मतलब पेपालका प्रयोगकर्ताहरूले एआई प्लेटफर्ममार्फत खरिद गर्न सक्नेछन् र यसका मर्चेन्टहरूले आफ्ना सामानहरू त्यहाँ राखेर बेच्न सक्नेछन् ।
क्रिसले एक अन्तर्वार्तामा भनेका छन्, "हामीसँग करोडौँ लोयल पेपाल वालेट प्रयोगकर्ता छन्, जसले अब च्याटजीपीटीमा Buy with PayPal बटनमा क्लिक गर्न सक्नेछन् र सुरक्षित तथा सुनिश्चित चेकआउट अनुभव प्राप्त गर्न सक्नेछन् ।"
ई-कमर्सका लागि च्याटजीपीटीको प्रयोगलाई फराकिलो बनाउने ओपनएआईको प्रयासको यो सुरुवाति प्रयास हो । ७० करोडभन्दा बढी साप्ताहिक प्रयोगकर्ताहरू भएको यो प्लेटफर्मले अब सरसामान खोज्नका लागि एआईलाई पसल जस्तै प्रयोग गर्न सक्नेछ ।
सीईओ क्रिसका अनुसार यो किनमेलको लागि पूर्णतया नौलो आयाम हो । उनले एजेन्टिक कमर्स (agentic commerce) भविष्यको ठुलो हिस्सा नहोला भन्न नसकिने बताए ।
पेपालले आफूलाई एजेन्टिक एआई किनमेलको आगामी युगका लागि भुक्तानीको ब्याकबोनको रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ । यस क्रममा फिनटेक फर्मले हालसालै गुगल र एआई फर्म पर्प्लेक्सिटीसँग पनि सम्झौता गरिसकेको छ ।
उपभोक्ता र व्यापारी दुवैलाई फिनटेक फर्मले प्रमाणीत (verified) गरेको हुने भएकाले यसले ठगीको जोखिम कम गर्ने बताइएको छ । प्रयोगकर्ताहरूले खरिदका लागि लिङ्क गरिएका बैँक खाता वा क्रेडिट कार्डहरू वा जम्मा गरिएको ब्यालेन्सबाट रकम प्रयोग गर्न सक्छन् ।
पेपालले च्याटजीपीटीमा आफ्ना विक्रेताहरूका लागि मर्चेन्ट राउटिङ, भुक्तानी प्रमाणीकरण र भुक्तानी प्रोसेसिङ जस्ता पर्दा पछाडिका पक्षहरू पनि व्यवस्थापन गर्नेछ । जसले गर्दा हरेक मर्चेन्टले ओपनएआईसँग छुट्टै साइन अप गर्नु पर्दैन ।
पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८२ ११:२१
