फ्याक्टचेकः नतर्सिनुस्, आकाशबाट भयानक ठुल्ठुला असिना खसेको होइन, भाइरल भिडिओ एआई सिर्जित हो
कात्तिक १४, २०८२ ९:०
काठमाडौँ । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा आकाशबाट ठुला ठुला असिना आएर मानिसहरूको घर तथा गाडीमा नोक्सानी पुर्याएको भिडिओ भाइरल भइरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ सत्य हो वा फेक हो भनेर प्रश्न गरिरहेका छन् । टेकपाना तथ्यजाँचका क्रममा ती भिडिओहरू मिथ्या रहेको पाइएको छ ।
दाबी
बुधबार बिहान ६:५० बजे सामाजिक सञ्जाल फेसबुकमा ‘नमस्ते घर बजार’ पेजले आकाशबाट निकै ठुला असिना जस्तो देखिने सेता डल्लाहरू खसेको भिडिओ सार्वजनिक गर्यो । भिडिओमा सडकको बिच भागमा र कुनै घरको छेउबाट देखिने गरि दुई किसिमले खिचिएको छ ।
उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “यो त अचम्मै देखियो । एआइ त पक्कै हैन होला” । सो भिडिओ यो सामग्री तयार पार्दा सम्ममा ४९ लाख भन्दा धेरै पटक हेरिएको छ । ५८ हजार बढीले लाइक गरेका छन् भने १४ हजार बढिले शेयर गरेका छन् । १४ सयभन्दा धेरैले भिडिओमा कमेन्टसमेत गरेका छन् । भिडिओ र स्क्रिनशट
अनुसन्धान
टिकटकमा 'yadavpahadi427' युजरनेम भएका प्रयोगकर्ताले उक्त भिडिओ शेयर गर्दै अफ्रिकामा झरेको असिना भएको दाबी गरेका छन् । “अचम्मै देखियो अफ्रिकामा झरेको असिना । एआइ त पक्कै हैन होला यो त ?” उनले लेखेका छन् । बुधबार सार्वजनिक गरिएको सो भिडिओमा यो सामग्री तयार पार्दा सम्म सत्तरी लाख पटक हेरिएको छ । भिडिओलाई दुई लाख ७९ हजार बढी लाइक र एक लाख ११ हजारभन्दा धेरै पटक शेयर गरिएको छ । भिडिओ र स्क्रिनशट ।
भाइरल भिडिओमा उक्त दृश्य विदेशको कुनै ठाउँको रहेको जस्तो देखिन्छ । त्यसैले हामीले सामाजिक सञ्जालमा ‘Giant Hailstone’, ‘hailstorm’ सर्च गर्दा विदेशी अकाउन्टबाट पनि उक्त भिडिओहरू राखेको देखियो ।
यस्ता भिडिओ नेपालमा मात्र नभएर विदेशी अकाउन्टहरूबाट पनि पोस्ट गरिएको र उक्त भिडिओ भाइरल भएको पाइयो । ‘Ai viral hub’ फेसबुक पेजले "Nature gone wild! Never seen hail this big before — streets are chaos" । यो सामाग्री तयार पार्दा सम्ममा उक्त भिडिओ दुई लाख ४० हजारपटक भन्दा धेरै पटक हेरिएको छ भने २६ सय बढी लाइक गरिएको छ ।
सामाजिक सञ्जालमा भाइरल उक्त भिडिओको हामीले किफ्रेम निकालेर हेर्यौँ । किफ्रेमको विश्लेषण गर्दा उक्त भिडिओमा गाडीको सिसा फुटेको केही समयपछि उक्त गाडीको सिसा पुन नफुटेको दृश्य देखियो । तल हेर्नुहोस् किफ्रेमको विश्लेषण ।
हामीले उक्त भिडिओलाई एआई जेनेरेटेड भिडिओ पत्ता लगाउन प्रयोग गरिने हाइभ मोडेरेसनमा राखेर हेर्यौँ । जहाँ उक्त भिडिओ ७५% एआई जेनेरेटेड रहेको देखायो ।
दाबी २
फेसबुक प्रयोगकर्ता ‘Dil Bahadur Thapa’ ले फेसबुकमा ठुला ठुला असिना खसेको अर्को भिडिओ राखेका छन् । बुधबार राति १०:०६ मा सार्वजनिक भिडिओमा उनले लेखेका छन्, “यो त अचम्मै देखियो । एआइ त पक्कै होइन होला” । उक्त भिडिओमा त्यहाँ कयौँ असिना बर्सिएको देखिन्छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।
टिकटकमा 'br_ai_ded' नामको युजरनेमबाट पनि उक्त भिडिओ शेयर गरिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओलाई तीन करोड सात लाख भन्दा धेरै पटक हेरिएको छ भने चार लाख बढी लाइक गरिएको छ । टिकटकमा सार्वजनिक उक्त भिडिओको तल एआई जेनेरेटेड भिडिओ भनेर खुलाइएको छ ।
‘AI-generated’ लेखेको ठाउँमा क्लिक गरेर हेर्दा टिकटकले कुनै पनि सामग्रीलाई एआई जेनेरेटेड कन्टेन्ट भनेर किन लेभल गरिन्छ भनेर विस्तृतमा उल्लेख गरेको छ । कन्टेन्ट क्रियटरले आफूले एआईको प्रयोग गरेर सामग्री तयार पारेको जानकारी भ्युअर्सलाई दिएर आफ्नो सिर्जनशीलता देखाउन सकुन् भनेर उक्त लेबल दिइएको कुरा टिकटकले त्यहाँ स्पष्ट पारेको छ । एआई जेनेरेटेड कन्टेन्टको लेबल टिकटकमा किन लगाइन्छ र कसरी लगाइन्छ भनेर विस्तृत जानकारी सहित टिकटकको लेख हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यस्तै हामीले अर्को असिनाका ठुला डल्ला आकाशबाट खसेको भिडिओलाई पनि विश्लेषण गर्यौँ । यसका लागि हामीले भिडिओलाई ०.२५x को स्पिडमा राखेर हेर्यौँ । यसरी हेर्दा भिडिओमा आकाशबाट जमिनतर्फ नभइ जमिनबाट असिनाका डल्ला आकाशतिर गएर पुन फर्किएको जस्तो दृश्य देखियो । हेर्नुहोस् भिडिओ ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘aiwonderfel’ ले राखेको सोही भिडिओ समेत फेला पर्यो । जहाँ एआई कन्टेन्ट तयार पार्ने सफ्ट्वेयर इनभिडिओको वाटरमार्कसहित उक्त भिडिओ राखिएको छ ।
दाबी १ र दाबी २ मा भएका भिडिओहरू अफ्रिका र अमेरिकाको कान्सास सहरको भएको छुट्टाछुट्टै दाबि समेत गरिएका छन् । त्यसैले हामीले सुरुमा अफ्रिकाका कुनै स्थानमा ठुलो असिना पानी परेको समाचारहरू खोज्यौँ । यसरी खोज्दा भिडिओमा देखिए जस्तो ठुला ठुला असिना परेको कुनै पनि समाचार र भिडिओ फेला परेनन् । यद्यपी दक्षिण अफ्रिकामा मध्य नोभेम्बरसम्म असिनासहित आँधी चल्न सक्ने सम्भावनासहितको मौसम पूर्वानुमान गरिएका समाचारहरू भने फेला परे ।
यस्तै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ अमेरिकाको कान्सास सहरको भएको र त्यहाँ असिना खसेको दाबी गरेका छन् । हामीले कान्सास सहरमा असिना परेको समाचार खोज्दा गत अगस्ट र सेप्टेम्बरमा त्यहाँ असिना पानी परेको समाचारहरू फेला पार्यौँ ।
विभिन्न समाचारहरू हेर्दा ३ सेप्टेम्बरमा त्यहाँ आँधीसहित ठुला ठुला दानाको असिना पानी परेको समाचारहरू फेला परे । ती समाचारहरूमा उक्त दिन ७५ माइल प्रति घण्टाको गतिले आँधी चलेको र गल्फ बल तथा पिङ्गपङ बल जत्रा असिना परेको उल्लेख छ । बेसबल जत्रो असिना खस्दा कारहरूमा क्षति पुगेको समेत सामाचारहरूमा उल्लेख छन् ।
कान्सासको विचिटा भन्ने स्थानबाट सञ्चालनमा रहेको अनलाइन न्युज पोर्टल ‘१२ न्युज’ ले ४ सेप्टेम्बरमा भारी असिना पानी परेको बारेमा तयार पारेको समाचार यहाँ क्लिक गरेर हेर्नुहोस् । तर भाइरल भिडिओहरूमा देखिए जस्ता निकै ठुला असिना खसेको समाचार वा विश्वासिलो स्रोतबाट सार्वजनिक फोटो तथा भिडिओ भने फेला परेनन् ।
दाबी:
आकासबाट ठुला ठुला असिना खसे ।
दाबीकर्ता
फेसबुक पेज ‘नमस्ते घर बजार’, ‘Dil Bahadur Thapa’, टिकटक प्रयोगकर्ता ‘yadavpahadi427’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्य
असिना खसेको दाबीसहित विभिन्न भिडिओहरू भाइरल भएका छन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ अफ्रिका र केहीले अमेरिकाको भएको दाबी गरेका छन् । तर वास्तवमा उक्त भिडिओहरू एआईको प्रयोगबाट तयार पारिएका हुन् ।
किफ्रेमको विश्लेषण, भिडिओको प्लेब्याक स्पिड घटाएर हेर्दा उक्त भिडिओ सामान्यभन्दा फरक देखिएका छन् । यस्तै हाइभ मोडेरेसन टुलले दाबी १ को भिडिओ ७५ प्रतिशत एआईबाट तयार भएको देखाएको छ ।
दाबी २ का भिडिओमा केही प्रयोगकर्ताले स्पष्टरूपमा एआईबाट तयार पारिएको समेत उल्लेख गरेका छन् र एआई टुलको वाटरमार्क पनि देखिएको छ । त्यसैले दाबी १ र २ को भिडिओ एआईबाट तयार पारिएको पुष्टि हुन्छ ।
यस्तै कान्सास वा अफ्रिकामा असिना परेको सामान्य समाचारहरू भेटिए पनि भिडिओमा देखिएजस्ता अस्वाभाविक ठुला असिना परेको कुनै समाचार वा विश्वसनीय फोटो तथा भिडिओ फेला परेनन् ।
निष्कर्षः
सामाजिक सञ्जालमा आकाशबाट ठुला असिना खसेको भन्दै भाइरल भएका भिडिओहरू मिथ्या हुन् । उक्त भिडिओहरू एआई प्रयोग गरेर तयार पारिएका हुन् । किफ्रेम विश्लेषण, हाइभ मोडेरेसन टुलको प्रयोग र भिडिओको प्लेब्याक स्पिड घटाएर हेर्दा उक्त भिडिओहरू एआईबाट तयार पारिएको पुष्टि भएको हो । यस्तै टिकटकमा समेत उक्त भिडिओ 'AI-generated' भनेर लेबल गरिएको छ ।
यस्तै केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त भिडिओ अफ्रिका र केहीले अमेरिकाको कान्सास सहरको रहेको समेत दाबी गरेका छन् । अफ्रिकामा मौसम पूर्वानुमानमा असिनासहित आँधीको सम्भावना रहेको बताइएको छ । यस्तै अमेरिकाको कान्सासमा गत सेप्टेम्बरमा गल्फबल जत्रो आकारसम्मको असिना परेका थिए । तर भाइरल भिडिओहरूमा जस्तो अस्वाभाविक ठुलो असिना परेको कुनै विश्वसनीय प्रमाण वा समाचार भने फेला परेनन् ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८२ ९:०
