close

अनलाइनबाट सामसङ फोल्ड सेभेन मगाउँदा घरमा इँटा आइपुगेपछि

टेकपाना टेकपाना

कात्तिक १५, २०८२ १६:२३

अनलाइनबाट सामसङ फोल्ड सेभेन मगाउँदा घरमा इँटा आइपुगेपछि

काठमाडौँ । भारतको बैङ्गलोरमा अनलाइनमार्फत महँगो स्मार्टफोन मगाएका एक सफ्टवेयर इन्जिनियर ठगीको शिकार बनेका छन् । अमेजनबाट अर्डर गरेको सामसङ ग्यालेक्सी जेड फोल्ड ७ को सट्टा बक्सभित्र एउटा सेतो इँटा मात्र आएपछि उनी ठगिएका हुन् । 

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार प्रेमानन्द नामका इन्जिनियरले १४ अक्टोबरमा उक्त स्मार्टफोन अनलाइनमार्फत अर्डर गरेका थिए । त्यसबेला उनले आफ्नो एचडीएफसी क्रेडिट कार्ड प्रयोग गरी एक लाख ८६ हजार भारु भुक्तानी गरेका थिए ।

१९ अक्टोबरको दिउँसो ४:१६ बजे उनको घरमा प्याकेज डेलिभरी भयो । ठगीबाट बच्नका लागि उनले अनबक्सिङको भिडिओ रेकर्ड गरिरहेका थिए । भिडिओ रेकर्ड गर्ने क्रममा नै उनले बाकसभित्र फ्ल्यागशिप फोनको सट्टा एउटा सेतो टाइल मात्र भेट्टाएपछि चकित परे ।

“मैले सामसङ ग्यालेक्सी जेड फोल्ड ७ अर्डर गरेको थिएँ । तर दीपावलीको ठिक एक दिन अगाडि फोनको सट्टा मार्बलको ढुङ्गा पाउँदा म स्तब्ध भएँ,” उनले भने, “यस घटनाले वर्षदिनदेखि पर्खिरहेको चाडपर्वको उत्साहलाई पूर्ण रूपमा बर्बाद गरिदियो ।”

उनले अगाडि भने, “अमेजन वा यस्ता अनलाइन ईकमर्स प्लेटफर्मबाट सामान किन्दा अत्यधिक सावधानी अपनाउन आग्रह गर्छु । यो अनुभव अत्यन्तै निराशाजनक रह्यो ।”

उनले तत्कालै राष्ट्रिय साइबर अपराध रिपोर्टिङ पोर्टलमा उजुरी दर्ता गराए । पछि उनले कुमारस्वामी लेआउट प्रहरी चौकीमा समेत पुगेर थप सहयोग मागे ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । पछिल्ला केही दिनयता उनको उक्त अनबक्सिङ भिडिओ व्यापक रूपमा भाइरल भइरहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ १६:२३