close

गोपनीयतालाई ध्यानमा राखेर तयार गरिएका ४ ओटा ओपेन-सोर्स एन्ड्रोइड किबोर्ड

टेकपाना टेकपाना

कात्तिक १६, २०८२ १८:३९

गोपनीयतालाई ध्यानमा राखेर तयार गरिएका ४ ओटा ओपेन-सोर्स एन्ड्रोइड किबोर्ड

काठमाडौँ । धेरै एन्ड्रोइड डिभाइसहरूमा जीबोर्ड नै डिफल्ट किबोर्डको रूपमा रहेको हुन्छ । तर गुगलका अन्य सेवाहरूसँग यसको गहिरोसँग इन्टिग्रेसन गरिएको हुन्छ । जसले गर्दा धेरै प्रयोगकर्तालाई गोपनीयताको चिन्ता हुने गर्छ ।

यस्तै चिन्तालाई सम्बोधन गर्न ओपन-सोर्स एन्ड्रोइड किबोर्ड बनाइएका हुन्छन् । यहाँ हामीले जीबोर्ड जस्तै कार्यक्षमता प्रदान गर्ने प्रमुख ४ ओटा ओपनसोर्स किबोर्डहरूको बारेमा चर्चा गरेका छौँ । जसले गोपनीयतामा सम्झौता नगर्ने दाबी गरिएको छ ।

१. एनिसफ्टकिबोर्ड (AnySoftKeyboard)

एनिसफ्टकिबोर्डलाई जिबोर्डको सबैभन्दा नजिकको ओपेन-सोर्स विकल्प मानिन्छ । यो किबोर्ड गोपनीयताको दृष्टिकोणबाट बढी सम्मानजनक, कस्टमाइजेबल र कार्यात्मक छ ।

यसले बाह्य भाषा प्याकहरू मार्फत विभिन्न भाषाहरूका साथै QWERTY, Dvorak र AZERTY जस्ता विभिन्न किबोर्ड लेआउटहरूलाई सपोर्ट गर्दछ ।

जिबोर्ड जस्तै यसले भ्वाइस टाइपिङ र जेस्चर टाइपिङलाई पनि सपोर्ट गर्दछ । यदि जेस्चर टाइपिङ मन पर्दैन भने यसले छिटोको लागि कस्टमाइ गर्न मिल्ने जेस्चरलाई पनि सपोर्ट गर्छ ।

यसमा इनकग्निटो मोड उपलब्ध छ । जसलाई इन्टर किलाई लामो समयसम्म दबाएर चयन गर्न सकिन्छ । यो मोड सक्रिय भएपछि किबोर्डले टाइप गरिएको कुरा स्टोर गर्नबाट रोक्छ र अटोकरेक्ट तथा शब्द सुझावहरू (word suggestions) जस्ता सुविधाहरू अस्थायी रूपमा बन्द गर्दछ ।

यसले विभिन्न थिम र तिनीहरूलाई आफ्नो रुचिअनुसार कस्टमाइज गर्ने क्षमता प्रदान गर्दछ । यसमा प्रति-एप टिन्ट (per-app tint) सुविधा पनि छ, जसले हाल चलिरहेको एपको आधारमा किबोर्डको रङ स्वचालित रूपमा परिवर्तन गर्छ ।

२. हेलिबोर्ड (HeliBoard)

हेलिबोर्ड अर्को लोकप्रिय ओपेन-सोर्स एन्ड्रोइड किबोर्ड हो । यो ‌ओपनबोर्डको एक फोर्क हो, जुन एओएसपी (AOSP) मा आधारित ओपेन-सोर्स किबोर्ड हो । यो गोपनीयतामा केन्द्रित छ र अनेकौँ कस्टमाइज विकल्पहरूका लागि परिचित छ ।

यसको प्रमुख विशेषता भनेको यो पूर्ण रूपमा अफलाइन सञ्चालन हुन सक्छ, जसका लागि यसलाई इन्टरनेट अनुमतिहरू आवश्यक पर्दैन । यो सुविधा आफ्नो टाइपिङ डेटालाई आफ्नै डिभाइसमा सीमित राख्न चाहनेहरूका लागि उपयुक्त छ ।

तर इन्टरनेटमा कनेक्ट नभएका कारण यसमा सुझाव (suggestions) र हिज्जे जाँच (spell check) जस्ता सुविधाहरूको कमी छ । यद्यपि यसले स्थानीय रूपमा शब्दकोशहरू (dictionaries) थप्ने अनुमति दिएर यो समस्यालाई समाधान गर्ने प्रयास गर्छ ।

तर यसरी स्थानीय रूपमा दिइने सुझावहरूको गुणस्तर जिबोर्ड जस्ता क्लाउड-आधारित किबोर्डहरूसँग तुलनायोग्य हुँदैन । स्वाइप टाइपिङ सुविधा डिफल्ट रूपमा सक्रिय हुँदैन, जसका लागि क्लोज्ड-सोर्स जेस्चर लाइब्रेरी थप्नुपर्ने र म्यानुअल रूपमा अन गर्नुपर्ने हुन्छ ।

अन्य सुविधाहरूमा एक-हाते मोड (one-handed mode) र स्प्लिट किबोर्ड (split keyboard) सहित विभिन्न लेआउटहरूको सपोर्ट, कस्टमाइज गर्न मिल्ने क्लिपबोर्ड हिस्ट्री र थिम कस्टमाइज समावेश छन् ।

३. सिम्पल किबोर्ड (Simple Keyboard)

यदि तपाईँले कम सुविधायुक्त, न्यूनतम (मिनिमल), हल्का र गोपनीयता-केन्द्रित किबोर्ड खोजिरहनु भएको छ भने सिम्पल किबोर्ड एउटा राम्रो विकल्प हो ।

यो १ एमबी भन्दा कम आकारको छ र काम गर्नका लागि न्यूनतम अनुमतिहरू (केवल भाइब्रेट) मात्र आवश्यक पर्छ । सूचीमा रहेका अन्य किबोर्डहरू भन्दा फरक सिम्पल किबोर्डमा इमोजीहरू, गिफ, हिज्जे चेकर र स्वाइप टाइपिङ जस्ता सुविधाहरू छैनन् ।

यसले केवल सीमित कस्टमाइज विकल्पहरूका साथ मुट्‍ठीभर थिमहरू मात्र प्रदान गर्दछ । प्रयोगकर्ताले किबोर्डको उचाइ समायोजन गर्ने र केही किबोर्ड तत्त्वहरू वा सुविधाहरूलाई अन वा अफ गर्न मात्र सक्छन् ।

४. फ्लोरिसबोर्ड (FlorisBoard)

फ्लोरिसबोर्ड जिबोर्डको आधुनिक देखिने ओपेन-सोर्स विकल्प हो । यसले अन्य ओपेन-सोर्स किबोर्डहरू जस्तै गोपनीयताको सम्मान गर्छ । तर सफा र थप प्रयोगकर्ता-मैत्री डिजाइन, थिम र लेआउटका लागि कस्टमाइज गर्न मिल्ने विकल्पहरू उपलब्ध छन् ।

यो किबोर्डले गोपनीयता र उपयोगितालाई सन्तुलित गर्न चाहनेहरूका लागि राम्रो सन्तुलन प्रदान गर्दछ ।

यसमा बहु भाषा र स्प्लिट तथा एक-हाते मोड सहित विभिन्न किबोर्ड लेआउटहरूको समर्थन छ । हेलिबोर्ड जस्तै फ्लोरिसबोर्डले पनि इनकग्निटो मोड प्रदान गर्दछ, जसलाई एपको सेटिङबाट इनेबल गर्न सकिन्छ र यसले अस्थायी रूपमा नयाँ शब्दहरू सिक्नबाट रोक्छ ।

यसमा एकीकृत क्लिपबोर्ड म्यानेजर, जेस्चर सपोर्ट र भाषाहरू बीच छिटो स्विच गर्नका लागि दोस्रो किबोर्ड लेआउट सेट गर्ने क्षमता पनि समावेश छ ।

यो सामग्री तयार पार्दा फ्लोरिसबोर्ड बेटा चरणमा छ । यसको मतलब प्रयोगकर्ताहरूले केही सुविधाहरूमा त्रुटि वा समस्या भेट्टाउन सक्छन् । साथै, शब्द सुझाव र हिज्जे जाँच जस्ता केही सामान्य किबोर्ड सुविधाहरू यसमा समावेश भइसकेका छैनन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८२ १८:४०