वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडिओ भाइरल भएपछि गाउँपालिका अध्यक्षले दिए राजीनामा
कात्तिक १८, २०८२ २१:२९
काठमाडौँ । कार्यवाहक वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडिओ बाहिरिएपछि सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले राजीनामा दिएका छन् । जनप्रतिनिधिबाटै पदीय आचरण विपरीत कार्य भएको भन्दै प्रश्न उठेपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।
हाल उक्त भिडिओ टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्ममा भाइरल छ । भिडिओ सार्वजनिक भएपछि अध्यक्ष चौधरीले ५ असोजमै पालिका उपाध्यक्ष कल्पना चौधरीलाई पत्र लेखी राजीनामा दिएका थिए । मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
आफ्नो राजीनामा पत्रमा चौधरीले विभिन्न व्यक्तिगत कारणले पदीय जिम्मेवारी निरन्तर बहन गर्न असमर्थ भएको उल्लेख गरेका छन् ।

भाइरल भिडिओमा सोही गाउँपालिकाका वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि खंगले गाउँपालिका अध्यक्ष चौधरीको खुट्टा मालिस गरेको देखिन्छ ।
एमालेबाट निर्वाचित चौधरीको राजीनामापछि पालिकाको नेतृत्व कार्यवाहक अध्यक्षका रूपमा उपाध्यक्ष कल्पना चौधरीले सम्हाल्नेछिन् ।
राजीनामा स्वीकृत भएपनि गाउँपालिकाको वेबसाइटबाट भने यो सामग्री तयार पार्दासम्म अध्यक्षको नाम र फोटो हटाइएको छैन ।
पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८२ २१:२९
