अस्ट्रेलियन नागरिकता पाउने श्रीलङ्कन जोडी नचिनेर टिकटकमा लज्जाको विषय बन्यो नेपाली राष्ट्रवाद
कात्तिक २०, २०८२ १६:४६
काठमाडौँ । हालै अस्ट्रेलियाको नागरिकता पाएकोमा खुसी साट्न टिकट भिडिओ बनाएको एक श्रीलङ्कन जोडी विरुद्ध नेपाली प्रयोगकर्ताहरू अभद्र-अशिष्ट ढङ्गले खनिएका छन् । अरि एन्ड हेशी (oriandhehi) नामक टिकटक अकाउन्टमा 'अफिसियल्ली अस्ट्रेलियन' (अब आधिकारिक रूपमा अस्ट्रेलियाली) भन्दै उनीहरूले राखेको भिडिओमा नेपाली प्रयोगकर्ताले अश्लील र छाडा कमेन्टहरू बर्साएका हुन् ।
कमेन्ट गर्ने धेरैले उनीहरूलाई नेपाली ठानेका छन् र नेपालमाथि गद्दारी गरेको भन्दै तुच्छ शब्दमा गाली गरिरहेका छन् । टिकटकमा जम्मा ६९९ फलोअर रहेको उनीहरूको अकाउन्टमा गएको २३ अक्टोबरमा राखिएको सो भिडिओमा यो सामग्री तयार पार्दासम्म करिब ६ लाख भ्युज आइसकेको थियो ।
त्यसमा १६ हजारभन्दा धेरैले लाइक गरेका थिए भने करिब ९०० कमेन्ट आइसकेका थिए । जसमध्ये अधिकांश कमेन्ट नकारात्मक र गालीगलौजपूर्ण छन् ।
"अबदेखि म नेपाली हुँ भनेर नभन्नु", "सरकार मुर्दावाद, यिनीहरूको नागरिकता खारेज गर अनि जिन्दावाद भनौँला", "अब तिमीहरू गोर्खाली रहेनौ", "अब नेपालको बारेमा बोल्ने, सोच्ने केही नगर्नु, नागरिकता पनि च्यात्नु" । यी केही प्रतिनिधिमूलक कमेन्ट मात्र हुन् । कतिपय कमेन्ट त यहाँ उल्लेख गर्न समेत नसुहाउने किसिमको भाषा शैलीमा लेखिएका छन् ।
नेपालीहरूबाट अपाच्य गाली बर्सिन थालेपछि उनीहरू भ्याएसम्म हरेक जसो कमेन्टमा आफूहरू नेपाली नभई श्रीलङ्कन भएको स्पष्टीकरण दिन बाध्य भए । कति अन्य प्रयोगकर्ताले पनि उनीहरू नेपाली नभई श्रीलङ्कन भएको, नझुक्किन र गाली नगर्न अनुरोध पनि गरेका छन् ।
तर उनीहरू विरुद्ध गालीचलौजले भरिएका कमेन्टहरू ओइरिने क्रम भने रोकिएको छैन । सुरे नाम गरेका एक प्रयोगकर्ताले लेखेका छन्, "यो नेपाली अडियन्स बिचमा गयो र उनीहरू पागल भए । म त हाँसेर मर्न आँटे... मेरो पेट दुखिरहेको छ ।"
अर्जुन आचार्यले लेखेका छन्, "नेपालीहरूको फर यू पेजमा तिमीहरूको भिडिओ पठाएकोमा टिकटकले तिमीहरूलाई क्षतिपूर्ति तिर्नुपर्छ । खासमा तिमीहरू नेपाली जस्तै देखिन्छौँ ।"
idcam नाम राखेका अर्का प्रयोगकर्ताले लेखेका छन्, "चाहे उनीहरू नेपाली हौऊन् वा नहौऊन्, यस किसिमको व्यवहार अस्वीकार्य छ ।" मनिष नाम गरेका एक नेपाली प्रयोगकर्ताले कमेन्ट देखेर लज्जित हुँदै माफी समेत मागेका छन्, "एक नेपाली नागरिकको रूपमा सबै हाम्रा नेपाली मित्रहरूको व्यवहारका लागि म माफी चाहन्छु ।"
पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ १७:३६
