‘लापरवाहीका साथ सवारी चलाएको’ कसुरमा ट्राफिक प्रहरीले हर्क साम्पाङलाई गर्यो कारबाही
जेठ २५, २०८३ १८:४८
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) लाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कानुनी कारबाही गरिएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओ र प्राप्त जनगुनासोका प्रहरीले उनलाई कारबाही गरेको हो ।
साम्पाङले केही दिनअघि उदयपुरको कटारीबाट फर्कने क्रममा एक हातले मोटरसाइकलको ह्यान्डल समातेर अर्को हातले मोबाइलबाट सेल्फी भिडिओ खिच्दै सवारी चलाएका थिए । सो क्रममा उनले सुरक्षाका लागि अनिवार्य मानिने हेल्मेटको फितासमेत नलगाएको देखिएको थियो । सोही लापरवाहीका कारण उनी सवार मोटरसाइकल दुर्घटनामा समेत परेको थियो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले साम्पाङलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) 'ङ' १८ बमोजिम लापरवाहीका साथ सवारी चलाएको कसुरमा कारबाही गरेको छ ।
प्रहरीले फेसबुक पोस्टमा भनेको छ, “सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ ।”

नियम बनाउने तहमा रहेका जनप्रतिनिधिले नै सडकमा लापरवाहीपूर्ण व्यवहार देखाएपछि सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भएको थियो । सर्वसाधारणले नियम मिच्दा प्रहरीले तत्काल कारबाही गर्ने, तर सांसदलाई किन नगर्ने भन्दै सामाजिक सञ्जालमा प्रहरीलाई मेन्सन गरी कारबाहीको माग गरिएको थियो ।
दुर्घटनामा सांसद साम्पाङको हात र शरीरका केही भागमा सामान्य चोट लागेको छ । उनले भने बाटोमा रहेको ढुङ्गामा ठोक्किएर दुर्घटना भएको दाबी गरेका थिए । यद्यपि, दुर्घटना हुनुअघिको भिडिओमा उनी स्पष्ट रूपमा लापरवाहीपूर्ण तरिकाले भिडिओ खिचिरहेको देखिएकाले उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ १९:२
