टेस्ला शेयरधनीले स्वीकृत गरे एलन मस्कको १ ट्रिलियन डलर अर्थात् १४१५ खर्ब रुपैयाँको तलब योजना
कात्तिक २१, २०८२ ११:२५
काठमाडौँ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले आफ्नो कीर्तिमानी तलब प्याकेज शेयरधनीहरूबाट अनुमोदन गराउन सफल भएका छन् । यदि उनले कम्पनीका लागि तोकिएका सबै लक्ष्यहरू पूरा गरे १ ट्रिलियन अमेरिकी डलरसम्म पाउनेछन् । यो भनेको करिब १४१५ खर्ब नेपाली रुपैयाँ हुन आउँछ ।
बिहीबार अस्टिन, टेक्सासमा आयोजित कम्पनीको वार्षिक साधारण सभाका क्रममा टेस्ला शेयरधनीहरूको ७५ प्रतिशतभन्दा बढी मतले यो सम्झौता अनुमोदन गरेको हो । सम्झौताको घोषणापछि सभामा उपस्थित शेयरधनीहरूले ताली बजाएका थिए र 'एलन ! एलन !' भन्दै नारा लगाएका थिए ।
तलब प्याकेजको स्वीकृतिपछि मस्क मञ्चमा देखा परेका थिए र छोटो समयका लागि नाचेका थिए । उनले यस कदमलाई टेस्लाको भविष्यको लागि 'नयाँ अध्याय मात्र नभई, सम्पूर्ण नयाँ किताब भएको बताएका छन् ।
यो ऐतिहासिक भुक्तानी प्राप्त गर्नका लागि विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले अबको १० वर्षमा कम्पनीका लागि केही अत्यन्तै महत्वाकाङ्क्षी लक्ष्यहरू पूरा गर्नुपर्ने हुन्छ ।
जसअनुसार उनले टेस्लाको बजार मूल्यलाई हालको लगभग १.५ ट्रिलियन अमेरिकी डलरबाट बढाएर ८.५ ट्रिलियन अमेरिकी डलरसम्म पुर्याउनु पर्नेछ । यसका साथै उनले १० लाख सेल्फ-ड्राइभिङ रोबोट्याक्सी व्यापारिक सञ्चालनमा ल्याउनु पर्नेछ ।
यति मात्र नभएर उनले १० वर्षको अवधिमा १० लाख ह्युमनोइड रोबोट (अप्टिमस) विकास गरी बेच्नु पर्नेछ । साथै उनले दुई करोड इलेक्ट्रिक गाडीहरू खरिदकर्ताहरूलाई डेलिभर गर्नुपर्नेछ ।
यदि उनले यी सबै लक्ष्यहरू भेट्टाए भने उनलाई करोडौँ नयाँ शेयरहरू दिइनेछ ।मस्कसँग हाल टेस्लाको १५ प्रतिशत शेयर छ । तर उनी त्यसलाई बढाएर २५ प्रतिशतसम्म पुर्याउन चाहन्छन् ।
बैठकमा मस्कको ध्यान विशेष गरी कम्पनीको अप्टिमस रोबोटमा केन्द्रित थियो, जसले केही विश्लेषकहरूको आशामाथि पानी खन्यायो । किन भने उनीहरू मस्कले आफ्नो ध्यान इलेक्ट्रिक गाडीको व्यवसायमा केन्द्रित गरुन् भन्ने चाहन्थे ।
मस्कले अप्टिमस रोबोटहरूलाई कम्पनीको र मानवताको भविष्यको रूपमा वर्णन गरेका छन् । उनले यो उत्पादन 'सबै समयको सबैभन्दा ठुलो उत्पादन' हुने दाबी दोहोर्याए ।
मस्कले यो तलब प्याकेज खोज्नुको कारण कम्पनीमा आफ्नो थप नियन्त्रण स्थापित गर्नु र आफूले निर्माण गर्ने 'रोबोट सेना' माथि बलियो प्रभाव राख्नु रहेको बताएका छन् ।
यति विशाल भुक्तानीको योजनालाई लिएर आलोचना पनि भएको छ । केही आलोचकहरूले मस्कलाई यो रकम दिनु भनेको कम्पनीले सामना गरिरहेका चुनौतीहरू (जस्तै बिक्रीमा आएको गिरावट र सुरक्षा जोखिम) लाई बेवास्ता गर्नु भएको बताका छन् ।
नर्वेको सार्वभौम सम्पत्ति कोष (विश्वको सबैभन्दा ठूलो राष्ट्रिय सम्पत्ति कोष) र क्यालिफोर्निया सार्वजनिक कर्मचारी अवकाश प्रणाली लगायत केही प्रमुख संस्थागत लगानीकर्ताहरूले यो नयाँ तलब योजनालाई अस्वीकार गरेका थिए ।
एक लगानीकर्ताले मस्कको सार्वजनिक व्यक्तित्वको ध्रुवीकरणले टेस्लाको ब्रान्ड मूल्यलाई ध्वस्त पारेको भन्दै आफ्नो कम्पनीले टेस्लामा रहेको आफ्नो हिस्सेदारी घटाएको बताए ।
टेस्लाको बोर्डले यो तलब स्वीकृत नगरेमा मस्कले कम्पनी छोड्न सक्ने र कम्पनीले उनलाई गुमाउन नसक्ने तर्कका कारण यो योजना स्वीकृत गरेको थियो । स्मरण रहोस्, मस्कको सन् २०१८ मा भएको करिब ५६ अर्ब अमेरिकी डलरको अघिल्लो तलब प्याकेजलाई डेलावेयरका एक न्यायाधीशले खारेज गरिदिएका थिए ।
न्यायाधीशले टेस्लाका बोर्ड सदस्यहरू मस्कसँग धेरै नजिक भएको कारण देखाउँदै उक्त निर्णय गरेका थिए । शेयरधनीहरूले हालैको सभामा उक्त २०१८ को पारिश्रमिक योजनालाई पनि अनुमोदन गर्ने योजना स्वीकृत गरेका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८२ ११:२६
