नेपालमा पनि उपलब्ध भयो कोडिङ नगरिकनै एआईमा आधारित मिनी एप बनाउन मिल्ने गुगलको ओपल
कात्तिक २१, २०८२ १२:८
काठमाडौँ । गुगल ल्याब्सले आफ्नो 'नो-कोड एआई एप बिल्डर' ओपल (Opal) विश्वभर रोलआउट गरेको छ । सुरुवाती १५ देशहरूबाट बिहीबारको विस्तारसँगै अब यो प्लेटफर्म नेपालसहित १६० भन्दा बढी देशहरूमा उपलब्ध भएको हो ।
यसमा कुनै पनि कोड नलेखीकन एआईमा आधारित मिनी-एपहरू बनाउन सकिन्छ । गुगल ल्याब्सका सिनियर प्रोडक्ट म्यानेजर मेगन लीका अनुसार, मानिसहरूले ओपललाई विभिन्न तरिकाले प्रयोग गरिरहेका छन् । जसमा कार्यहरू स्वचालित गर्ने र डेटा विश्लेषण गर्ने जस्ता कामहरू समावेश छन् ।
प्रयोगकर्ताहरूले विभिन्न किसिमका जटिल कार्यहरू स्वचालित गर्ने एप निर्माणका लागि ओपलको प्रयोग गरिरहेका छन् । जसमा वेबबाट स्वचालित रूपमा डेटा निकाल्ने, निष्कर्षहरूको विश्लेषण गर्ने र नतिजाहरू सिधै गुगल शिटमा सुरक्षित गर्ने, डेटा बुझ्न र कस्टम रिपोर्टहरू तयार पार्ने टुल बनाउने, साप्ताहिक न्युजलेटर अपडेट, सम्झौताको पुनरावलोकन र खानाको योजना बनाउने जस्ता कार्यहरू स्वचालित गर्ने आदि छन् ।
यस्तै क्रियटर र मार्केटरहरूले लगातार र मापन गर्न सकिने तरिकाले कस्टम सामग्री सिर्जना गर्न ओपललाई अपनाइरहेको गुगलले जनाएको छ । जस्तै एउटै उत्पादन अवधारणाबाट तुरुन्तै कस्टम ब्लग पोस्ट, सामाजिक सञ्जाल क्याप्सन र भिडिओ विज्ञापन स्क्रिप्ट सिर्जना गर्ने टुल, तस्विर सिर्जना गर्ने र त्यसमा कस्टम टेक्स्ट ओभरले गर्ने जस्ता कम्पोजिट मिडिया तयार पार्ने, लेखकलाई कथावस्तुको योजना बनाउन, स्क्रिप्ट उत्पन्न गर्न र साथमा अडियो भ्वाइसओभर तयार गर्न मद्दत गर्ने आदि छन् ।
यस बाहेक ओपलले आन्टरप्रेनर र डेभलपरहरूका लागि नयाँ आइडिया छिटो प्रमाणित गर्न वा अरूसँग शेयर गर्न सरल मिनी-एप निर्माण गर्ने कार्यमा रहेको अवरोधलाई कम गर्न पनि पद्दत गरिरहेको छ । यस श्रेणीका केही ओपल एपहरूमा भाषा सिक्ने एप, कस्टम ट्राभल प्लान र क्विज जेनरेटर एप समावेश छन् ।
गुगल ल्याब्सले ओपलमा सुधार जारी राख्ने र यसलाई विश्वव्यापी रूपमा थप मानिसहरूसम्म पुर्याउने आशा व्यक्त गरेको छ । प्रयोगकर्ताहरूले opal.google मा गएर एप तयार पार्न सक्छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८२ १२:८
