close

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा किन देखिन्छन् स्क्यामका अत्यधिक विज्ञापन ?

टेकपाना टेकपाना

कात्तिक २२, २०८२ १६:२४

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा किन देखिन्छन् स्क्यामका अत्यधिक विज्ञापन ?

काठमाडौँ । मेटाका प्लेटफर्म खासगरी फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपमा ठगी गर्ने‍ किसिमका विज्ञापन तपाईंले पनि पक्कै देख्नु भएको होला । वा, जान अञ्जानमा तपाईं पनि त्यसको शिकार बन्नु भएको हुनसक्छ । झुटा आश्वासन दिने, अप्रत्याशित प्रलोभन देखाउने यस्ता विज्ञापनको बिगबिगी नेपालमा पनि उत्तिकै छन् । के तपाईंले कहिल्यै सोच्नुभएको छ किन यी प्लेटफर्ममा यस्ता विज्ञापन दिनानुदिन बढ्दै गएका होलान् ?

के स्क्यामर दिनप्रतिदिन चलाख बन्दै गएका हुन् ? यी स्क्यामरले विश्वका सर्वाधिक प्रयोग हुने प्लेटफर्म शोषण गर्न नयाँ रणनीति वा एआई टुल प्रयोग गरिरहेका पो हुन् कि ? वा, यसको पछाडि मेटाको आफ्नै स्वार्थ लुकेको छ कि ? किनभने यस्तै ठगीजन्य ट्राफिकबाट पनि कम्पनीलाई इङ्गेजमेन्ट र नाफा नै भइरहेको छ ।

हालै सार्वजनिक भएको एउटा रिपोर्टले मेटाको यस नीतिको पछाडिको डरलाग्दो वित्तीय कारण भएको खुलासा गरेको छ । रोयटर्सले विश्लेषण गरेको आन्तरिक कागजात अनुसार कूल आम्दानीमध्ये १० प्रतिशत रकम मेटाले ठगी र प्रतिबन्धित वस्तुको विज्ञापनबाट कमाउने गरेको छ । यो १० प्रतिशत भनेको १६ अर्ब डलरभन्दा बढीको ठुलो रकम हो ।

अर्को एक कागजातले के देखाएको छ भने मेटाले प्रत्येक वर्ष लगभग ७ अर्ब डलर ‘उच्च जोखिम’ भनिएका विज्ञापनबाट कमाएको छ । यी त्यस्ता विज्ञापन हुन् जसलाई प्लेटफर्मले समस्याग्रस्त मानेको छ तर प्रयोगकर्ताका लागि सम्भावित खतरा हुँदाहुँदै पनि खुलेआम सञ्चालन गरिरहेको छ ।

रोयटर्सको रिपोर्टले सन् २०२१ देखि २०२४ को मेटा सम्बन्धी आन्तरिक कागजातको विश्लेषण गरेको छ । यी कागजातले कम्पनीले प्लेटफर्ममा हुने दुरुपयोगको वास्तविक मापन बुझ्ने प्रयास गरिरहेको देखाए पनि यसले मेटाभित्रको स्वार्थको द्वन्द्व लाई पनि स्पष्ट पारेको छ ।

रोयटर्सको यो रिपोर्टप्रति मेटा खासै सन्तुष्ट छैन । रोयटर्ससँग कुरा गर्दै मेटाका प्रवक्ता एन्डी स्टोनले उक्त आन्तरिक कागजातले ठगी तथा स्क्यामप्रतिको मेटाको दृष्टिकोणलाई ‘भ्रमित पार्ने एकपक्षीय वा छनोट गरिएको दृष्टिकोण’ मात्र प्रस्तुत गरेको बताए ।

यद्यपि प्रवक्ता स्टोनले ठगीजन्य विज्ञापन र नक्कली उत्पादन प्लेसमेन्टबाट कम्पनीलाई हुने नाफासम्बन्धी पछिल्लो तथ्याङ्क भने सार्वजनिक गर्न अस्वीकार गरे ।

उनले थप स्पष्ट पार्दै भने, “मेटाको सम्बन्धित विभागले ‘ठगी र स्क्याम विरुद्ध आक्रामक रूपमा संघर्ष गरिरहेको’ छ ।”

मेटाका प्लेटफर्म विश्वव्यापी विज्ञापनको मुख्य आधार हुन् । र, कम्पनीले सबैभन्दा बढी आम्दानी विज्ञापनबाट गर्दै आएको छ । तर, मेटाका प्लेटफर्म निकै ठूलो भएकाले त्यहाँ हुने ठगी नियन्त्रण गर्न सकस भइरहेको छ । यही कारणले पनि स्क्यामरलाई मेटा उपयोगी भइरहेको छ । 

बेलायतमा गरिएको एक अनुसन्धान अनुसार पेमेन्ट सिस्टम्स रेगुलेटरले सन् २०२३ मा भएका कुल ठगीका घटनामध्ये आधाभन्दा बढीमा मेटाको कुनै न कुनै प्लेटफर्मको संलग्नता रहेको पाएको थियो ।

यसको अर्थ बेलायतमा ठगीका कारण हुने हरेक ५ पाउन्डको कुल नोक्सानीमध्ये लगभग १ पाउन्ड मेटाको प्लेटफर्मसँग सम्बन्धित थियो ।

यस बाहेक ठगीका विज्ञापन अत्यधिक बढ्नु र प्रयोगकर्ता ठगिनुका पछाडि कम्पनीको ‘पर्सनलाइज्ड एड्भर्टाइजिङ’ प्रणाली छ । एक पटक कुनै प्रयोगकर्ताले झुक्किएर स्क्यामको विज्ञापनमा क्लिक गर्‍यो भने उसको फिडमा निरन्ततर त्यस्तै किसिमका विज्ञापन ओहिरिन्छन् । किनभने मेटाले तपाईं त्यस्ता विज्ञापनमा इच्छुक हुनुहुन्छ भन्ने बुझ्छ । तर, निरन्तर ठगीका विज्ञापन फिडमा देखिंदा प्रयोगकर्ता वास्तविक ठान्छन् । र, विश्वास गर्दा ठगिन पुग्छन् । 

के मेटा यस्ता ठगीसँग लडिरहेको छ ?

मेटाले गैरकानुनी विज्ञापनबाट हुने आफ्नो नाफा कम गर्ने सन्दर्भमा केही सार्वजनिक घोषणा गरेको छ । एकातिर प्लेटफर्मलाई प्रयोग गर्न थप सुरक्षित बनाउन मेटामाथि नियामकीय दबाब पनि छ । अर्कोतिर आन्तरिक कागजातले के देखाउँछ भने मेटाले यी गैरकानुनी आम्दानीका स्रोतमाथिको आफ्नो निर्भरता घटाउने लक्ष्य राखेको छ ।

यो स्क्याम विज्ञापन राजस्व अचानक घटाउँदा मेटाको व्यवासयमा गम्भीर असर पर्ने अर्को एक कागजातले देखाएको छ । यसका बावजुद अन्य आन्तरिक कागजातले सकारात्मक कदममाथि प्रश्न उठाएका छन् । 

ठगी र नक्कली विज्ञापन विरुद्ध कारबाही गर्नका लागि कम्पनीले कति रकम खर्च गर्ने वा कतिसम्म नाफा घटाउने भन्ने विषयमा सीमा तोकिएका छन् । यसको अर्थ मेटाका विभागलाई एकैपटक धेरै नोक्सान हुने खालका उपाय अपनाउन अनुमति छैन ।

यसबाट एक्कासि नोक्सानी बेहोर्नुभन्दा प्रयोगकर्तालाई नै पीडित बनाउन उपयुक्त हुने मेटाको रणनीति रहेको स्पष्ट पार्छ । 

यसलाई पुष्टि गर्ने अर्को तथ्य के हो भने मेटाको आन्तरिक चेतावनी प्रणालीले कुनै विज्ञापनदाताले ठगी गर्दैछ भन्ने विषयमा ९५ प्रतिशत निश्चित भयो भने मात्र प्रतिबन्ध लगाउने गर्छ । 

यदि यो तथ्याङ्क ९५ प्रतिशतभन्दा कम छ तर शंकास्पद छ भने मेटाले उनीहरूलाई प्लेटफर्म प्रयोग गर्नका लागि थप शुल्क लिन्छ । यसले गर्दा कम्पनीको नाफा त बढ्छ तर घाटा प्रयोगकर्तालाई नै हुन्छ । 

यसका अतिरिक्त सन् २०२३ को एउटा कागजातले मेटाले ठगी गतिविधि विरुद्ध गरिएका ९६ प्रतिशतभन्दा बढी दाबीलाई बेवास्ता गर्ने वा गलत तरिकाले अस्वीकार गर्ने गरेको देखाउँछ ।

त्यसोभए हामीले के गर्नुपर्छ ?

मेटाले कसरी स्क्यामका विज्ञापनलाई प्रसय दिइरहेको छ भन्ने स्पष्ट भइसकेपछि तपाईं हामी यस्ता विज्ञापनको शिकार बन्न सक्छौं । अब यसबाट जोगिने कसरी त ? सबैभन्दा सरल र स्पष्ट जवाफ हो- मेटाका प्लेटफर्म छोड्ने । अर्थात तपाईंले फेसबुक र मेसेन्जरबाट टाढिनु, इन्स्टाग्रामलाई बिदा गर्नु र थ्रेड्स अकाउन्ट बन्द गर्नुपर्ने हुन्छ । 

तर यो भन्न जति सजिलो छ गर्न त्यति सजिलो छैन । हामीमध्ये धेरैले काम, मनोरञ्जन र अनुसन्धानका लागि मेटाका विभिन्न प्लेटफर्म प्रयोग गर्छौं । एकहिसाबले भन्दा यी प्लेटफर्म नै हाम्रो दैनिकीका अभिन्न हिस्सा बनेका छन् । त्यसैले अर्को विकल्प भनेको कसरी यी स्क्याम पत्ता लगाउने भन्ने बुझ्नुपर्छ भने सकेसम्म धेरै नक्कली विज्ञापनबाट बच्नुपर्छ । साथै ठगी गर्नेले फेसबुक र इन्स्टाग्रामलाई मालवेयर पठाउन कसरी प्रयोग गर्छन् भन्ने कुरा बुझ्नु पर्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८२ १८:३५