close

नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानल 'एनटिभी वर्ल्ड' आजदेखि सुरु, युट्युबमा २४ सै घण्टा चल्ने

टेकपाना टेकपाना

कात्तिक २३, २०८२ १४:६

नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानल 'एनटिभी वर्ल्ड' आजदेखि सुरु, युट्युबमा २४ सै घण्टा चल्ने

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण (पीएसबी) ले नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानल एनटीभी वर्ल्ड (NTV World) को प्रसारण सुरु गरेको छ । नेपाल टेलिभिजनले विगत ६ वर्षदेखि अङ्ग्रेजी च्यानल एनटीभी वर्ल्ड प्रसारणका लागि तयारी गरिरहेको थियो । 

एनटीभी वर्ल्ड आइतबार साँझ ७ बजेदेखि एनटीभी प्लसको फ्रिक्‍वेन्सीमा ताजा कन्टेन्टसहित हाललाई चार घण्टा नियमित प्रसारण हुँदैछ । एनटीभी वर्ल्ड टेलिभिजन च्यानलसहित डिजिटल प्लेटफर्महरू न्युजपोर्टल र युट्युबमार्फत २४ सै घण्टा विश्वभर पुग्नेछ ।  

सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले एनटीभी वर्ल्ड प्रसारणमा ल्याउन समय लागेपनि सार्थकता पाएको बताए । "एनटीभी वर्ल्ड नयाँ च्यानल मात्रै होइन । नयाँ सम्भावनाको ढोका पनि हो । ‘नेपाल्स प्रस्पेक्टिभ टु द वर्ल्ड’ भन्ने अवधारणसहित सुरु भएको यो च्यानल विश्वभरका नेपालीहरूको साझा आवाज बन्ने र नेपाललाई विश्व माझ सही रूपमा चिनाउन, प्रवर्धन गर्न र विश्व मञ्चमा स्थापित गर्न महत्त्वपूर्ण कडी बन्नैछ," विष्टले भने । 

सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवको अवसरमा एनटीभी वर्ल्डको औपचारिक सुरुवात गरिएको हो । राष्ट्रपति पौडेलले सो अवसरमा सार्वजनिक प्रसारण सेवाको लोगो र मोबाइल एप समेत सार्वजनिक गरेका छन् ।

यसैबिच सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपालमा मात्रै नभई विश्वभर आमसञ्चार चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै पीएसबीलाई मोबाइल, डिजिटल प्लेटफर्ममार्फत रेडियो र टिभीको दर्शक र श्रोता बढाउने गरी प्रसारण गर्नुपर्नेमा जोड दिएका छन् । 

“हिजोको जस्तो भित्तामा टेलिभिजन राखेर चन्दैन । बद्लिँदो समय र प्रविधि तथा उपकरण अनुरूप अब सुधार गर्नेपर्छ । एनटिभीको पाँच वटै च्यानलमार्फत कसरी जनताको विश्वास जित्ने, भ्युअरशिप बढाउनुपर्छ, निजी क्षेत्रसँग प्रतिस्पर्धी पनि हुनुपर्छ,” खरेलले भने । सार्वजनिक प्रसारण सेवाअन्तर्गत नेपाल टेलिभिजन र रेडियो नेपाल सञ्चालित छन् । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १८:३