काठमाडौँ । आईएमई खल्तीका सह-संस्थापक तथा निर्देशक अमित अग्रवाल फिनटेक अलायन्स नेपालको अध्यक्ष बनेका छन् । आइतबार राजधानीमा सम्पन्न संस्थाको वार्षिक साधारण सभाले नयाँ कार्यकालका लागि अग्रवाललाई नेतृत्वमा चयन गरेको हो ।
३ वर्षअघि गठन भएको अलायन्समा यसअघि साजन शर्मा अध्यक्षको रूपमा रहेका थिए । उनको एक वर्षे कार्यकाल समाप्त भएपछि संस्थाको नयाँ कार्य समिति गठन भएको हो ।
नव निर्वाचित अध्यक्ष अग्रवाल फिनटेक उद्योगका एक अनुभवी उद्यमी हुन् । उनी गएको कार्यकालमा संस्थाको उपाध्यक्षको रूपमा रहेका थिए ।
अलायन्स नेपालको द्रुत गतिमा बढिरहेको फिनटेक अर्थात् वित्तीय प्रविधिको क्षेत्रमा ज्ञान, अनुभव, सहयोग तथा आइडिया आदान प्रदानको एक मञ्च बनेको छ । सम्बन्ध, सहकार्य र नवप्रवर्तनलाई बढावा दिने कार्यमा समर्पित यो समुदायले विभिन्न कार्यक्रम र अनलाइनमार्फत व्यक्तिहरूलाई जोडेर आवश्यक स्रोतसाधन र मेन्टोरशिप समेत प्रदान गर्दै आएको छ ।
सहकार्यपूर्ण अनुसन्धान र स्टार्टअप सपोर्टमार्फत नवप्रवर्तनलाई प्रोत्साहित गर्दै यसले एक जीवन्त फिनटेक इकोसिस्टम निर्माण गर्ने प्रयास गरिरहेको छ । सबै सरोकारवालाबिचको यस किसिमको समन्वयले नेपालको फिनटेक क्षेत्र दिगो विकासलाई अघि बढाउन मद्दत गर्ने विश्वास लिइएको छ ।
कार्य समिति सदस्यहरूमा सिनर्जी टेक सफ्टवेयर प्रालिका सीईओ देवेन्द्र खड्का, सिटीटेक ग्रुपका सीबीओ विनोद पोखरेल र माछापुच्छ्रे बैँकका आरएम विकाश श्रेष्ठ रहेका छन् । यसैगरी आईमार्क प्रालिका सहसंस्थापक आशिष् शर्मा, एनसीएचएलका सीओओ मुन्नि राजभण्डारी र आईएमएस सफ्टवेयर प्रालिका सन्तोष ताम्राकार समेत कार्यसमितिमा रहेका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८२ १३:१९
