close

पासवर्डमा आफ्नै नाम राख्दा विश्व प्रसिद्ध लुभ्र सङ्ग्रहालयबाट १४ अर्ब बढी मूल्यका गहना चोरी

टेकपाना टेकपाना

कात्तिक २६, २०८२ ९:४७

पासवर्डमा आफ्नै नाम राख्दा विश्व प्रसिद्ध लुभ्र सङ्ग्रहालयबाट १४ अर्ब बढी मूल्यका गहना चोरी

काठमाडौँ । फ्रान्सको राजधानी पेरिसस्थित विश्व प्रसिद्ध लुभ्र सङ्ग्रहालय (Louvre Museum) बाट १०० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब १४ करोड रुपैयाँभन्दा बढी) मूल्यका गहना चोरी भएका छन् । सङ्ग्रहालयले पासवर्डमा आफ्नै नाम प्रयोग गरेका कारण यति ठुलो चोरी भएको हो ।

फ्रेन्च सञ्चार माध्यमकाहरूका अनुसार सङ्ग्रहालयले आफ्नो सर्भिलेन्स सिस्टमको पासवर्डको रूपमा कहिलेकाहीँ आफ्नै नाम Louvre प्रयोग गर्ने गरेको खुलासा भएको छ । सुन्दा अविश्वसनीय लागे पनि यो घटनाले उच्च सुरक्षा आवश्यक पर्ने ठाउँहरूमा समेत मानिसहरू कमजोर पासवर्डको भर पर्छन् भन्ने तथ्य बाहिर ल्याएको छ ।

लुभ्रले Louvre र Thales जस्ता सामान्य पासवर्ड प्रयोग गरेको अनुसन्धानका क्रममा देखिएको थियो । यति मात्र होइन, तीमध्ये एउटा पासवर्ड लगइन स्क्रिनमा नै देखिने समेत बताइएको थियो । साइबरगाइ (CyberGuy) को भनाईमा यो गल्ती भनेको संसारको सबैभन्दा प्रसिद्ध सङ्ग्रहालयको चाबी ढोका मुनि छोडे जस्तै थियो ।

एक दशकअघिको फ्रेन्च साइबर सुरक्षा अडिटले सङ्ग्रहालयको सुरक्षा प्रणालीमा समस्या देखाएको थियो । त्यस क्रममा सङ्ग्रहालयले पुरानो विन्डोज सर्भर २००३ सफ्टवेयर चलाउने गरेको खुलासा पनि भएको थियो ।

लुभ्रका निर्देशकलाई यी गम्भीर सुरक्षा कमजोरीहरू (जसमा क्यामेरा मुख्य बार्दलीबाट फर्काइएको अवस्था समेत थियो) बारे कडा सोधपुछ गरिएको छ ।यद्यपि लुभ्रले अहिले आफ्नो सुरक्षा कडा पारेको भए तापनि विशेषज्ञहरूले यस्ता कमजोर पासवर्डको प्रयोग गर्ने बानी व्यवसायहरू र व्यक्तिहरूमा अझै पनि व्यापक रहेको चिन्ता व्यक्त गरेका छन् ।

साइबर सुरक्षा विज्ञहरूका अनुसार लुभ्रको यो ठुलो चोरीले सबैभन्दा सम्मानित संस्थाहरूले पनि सरल साइबर सुरक्षा गल्तीहरू गर्न सक्छन् भन्ने पाठ सिकाएको छ । तपाईँसँग बहुमूल्य गहना नभए पनि तपाईँको व्यक्तिगत डेटा, वित्तीय जानकारी र डिजिटल पहिचान ह्याकरहरूका लागि उत्तिकै मूल्यवान् हुन्छन् ।

साइबर सुरक्षा विशेषज्ञहरूले बलियो पासवर्ड बनाउन र अनलाइनमा सुरक्षित रहनका लागि पासवर्ड म्यानेजर प्रयोग गर्ने विषयमा विचार गर्न सल्लाह दिएका छन् । पासवर्ड म्यानेजरले हरेक अकाउन्टका लागि युनिक र जटिल पासवर्ड सिर्जना गर्छन् र तिनीहरूलाई एक इन्क्रिप्टेड भल्टमा सुरक्षित रूपमा स्टोर गर्छन् । तपाईँले पासवर्ड म्यानेजर (तथा जेनेरेटर) टुलबाट जटिल पासवर्ड बनाएर अन्यत्र सुरक्षित राख्न पनि सक्नु हुन्छ ।

बलियो पासवर्ड बनाउने तरिका

  • आफ्नो नाम वा सजिलै अनुमान गर्न सकिने कुनै पनि कुरा प्रयोग नगर्नुहोस् ।

  • ठुला र साना अक्षरहरू (uppercase र lowercase), अङ्कहरू र चिन्हहरू (symbols) पासवर्डमा मिसाउनुहोस् ।

  • यदि तपाईँले प्रयोग गर्ने कुनै कम्पनीको डेटा चोरी भएको रिपोर्ट आएमा तुरुन्त पासवर्ड परिवर्तन गर्नुहोस् ।

  • इन्क्रिप्ट नगरिएका पासवर्डहरू स्टिकी नोट वा डिजिटल फाइलहरूमा नराख्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८२ ९:४७