close

शब्दकोषको आधिकारिकतासँगै सन् २०२५ को वर्ष शब्द बन्यो ‘भाइब-कोडिङ’, यस्तो छ अर्थ

टेकपाना टेकपाना

कात्तिक २६, २०८२ ११:५०

शब्दकोषको आधिकारिकतासँगै सन् २०२५ को वर्ष शब्द बन्यो ‘भाइब-कोडिङ’, यस्तो छ अर्थ

काठमाडौँ । ‘भाइब-कोडिङ’ (Vibe-coding) लाई कोलिन्स डिक्सनरीले २०२५ को ‘वर्षको शब्द’ (Word of the Year) घोषणा गरेको छ । यसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहायताले प्राकृतिक भाषा (नेचुरल ल्याङ्वेज) प्रयोग गरी कम्प्युटर कोड लेख्ने प्रक्रियालाई जनाउँछ ।

एआईले अङ्ग्रेजी शब्दावली (lexicon) लाई नै परिवर्तन गरिरहेको बेला ‘भाइब-कोडिङ’ ले प्रविधि क्षेत्रमा व्यापकता पाइसकेको छ र अहिले यो आधिकारिक रूपमा शब्दकोशमा समावेश भएको छ ।

कोलिन्स डिक्सनरीले ‘भाइब-कोडिङ’ लाई नाउन (noun) र स्ल्याङ (बोलीचालीको शब्द) को रूपमा वर्गीकरण गरेको छ । यसलाई "कम्प्युटर कोड लेख्न सहयोग गर्नका लागि प्राकृतिक भाषाद्वारा प्रेरित आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग" भनी परिभाषित गरिएको छ ।

सरल भाषामा भन्दा यो भनेको मसिनलाई तपाईँलाई के चाहिएको हो भन्ने कुरा बताउनु हो, आफैँले कष्टपूर्ण तरिकाले कोडिङ गरिरहनु होइन । यो शब्द फेब्रुअरीमा ओपनएआईका सह-संस्थापक तथा टेस्लाका पूर्व एआई निर्देशक एन्ड्रेज कार्पाथीले एक्सको पोस्ट गर्दै पहिलो पटक प्रयोग गरेका थिए ।

कार्पाथीले यसलाई भाइबमा पूर्ण रूपमा समर्पित हुने, घाताङ्कीय (exponentials) कुराहरू अँगाल्ने र कोड अस्तित्वमा छ भन्ने कुरालाई नै बिर्सने नयाँ प्रकारको कोडिङ भनेका थिए । एलएलएम (जस्तै कर्सर कम्पोजर र सोनेट) अति राम्रो हुँदै गइरहेका कारण किन सम्भव भएको कुरा उनले उल्लेख गरेका छन् ।

‘भाइब-कोडिङ’ अहिले प्रविधि सर्कलहरूमा आधिकारिक शब्द मात्र नभई यो एक वैधानिक सीप नै बनेको छ । जसले आकर्षक तलब आर्जन गर्न सक्छ । पछिल्ला वर्षमा नयाँ एपहरू बनाउने वा कम्पनीहरूमा अवधारणाहरू परीक्षण गर्ने काममा यो अनुभवी र सिकारु कोडर दुवैका लागि स्ट्यान्डर्ड बनेको छ ।

कोलिन्सका प्रबन्ध निर्देशक एलेक्स बिक्रफ्टका अनुसार भाइब-कोडिङको चयनले प्रविधिसँगै भाषा कसरी विकसित भइरहेको छ भन्ने कुरालाई पूर्ण रूपमा दर्साउँछ । यसले सफ्टवेयर विकासमा ठुलो परिवर्तनको सङ्केत गर्छ, जहाँ एआईले कोडिङलाई बढी पहुँचयोग्य बनाइरहेको छ ।

यससँग सम्बन्धित प्लेटफर्म निर्माण गर्ने कम्पनीहरूले पनि लगानीकर्ताहरूबाट ठुलो लगानी जुटाइरहेका छन् । जस्तै सन् २०२३ मा स्थापित लोभाबेल (Lovable) ले जुलाईमा १.८ बिलियन डलर मूल्याङ्कनमा २०० मिलियन डलर सिरिज ए लगानी प्राप्तिको घोषणा गर्‍यो

त्यस्तै सेप्टेम्बरमा रेप्लिट (Replit) ले ३ बिलियन मूल्याङ्कनमा २५० मिलियन लगानी जुटाएको छ भने सोही महिना भर्सेल (Vercel) ले ९.३ बिलियन मूल्याङ्कनमा ३०० मिलियन लगानी सङ्कलन गरेको छ ।

कोलिन्स डिक्सनरीले सामाजिक सञ्जालसहित विभिन्न स्रोतहरूबाट २४ अर्ब शब्दको डेटाबेस (Collins Corpus) अनुगमन गरी नयाँ र उल्लेखनीय शब्दहरूको वार्षिक सूची सङ्कलन गर्दछ । यस वर्ष प्रविधिसँग मानवको सम्बन्ध वर्णन गर्ने शब्दहरू प्रमुख रूपमा देखिए ।

कोलिन्सले सन् २०२३ मा एआईलाई वर्षको शब्दको रूपमा चयन गरेको थियो । जसलाई अर्को महान प्राविधिक क्रान्ति मानिएको थियो ।

यस वर्ष भाइब-कोडिनसँगै निम्न शब्दहरू शर्ट लिस्टमा परेका थिए;

  • Clanker: ब्रिटिश अङ्ग्रेजीमा रोबोट, कम्प्युटर वा एआईको लागि प्रयोग गरिने अपमानजनक शब्द, जुन ‘स्टार वार्स: द क्लोन वार्स’ बाट आएको हो ।

  • Broligarchy: यसले राजनीतिक प्रभाव भएका धेरै धनी पुरुषहरूको सानो समूहलाई जनाउँछ ।

  • Henry: यो High earner, not rich yet (उच्च कमाइ गर्ने तर अझै धनी नभएका) को सङ्क्षिप्त रूप हो ।

  • Taskmasking: यसले कार्यस्थलमा आफू उत्पादक भएको झूटो प्रभाव दिने कार्यलाई जनाउँछ ।

  • Micro-retirement: यो व्यक्तिगत रुचि पूरा गर्न रोजगारीको क्रममा लिइने विश्राम हो ।

  • Biohacking: आफ्नो स्वास्थ्य र दीर्घायु सुधार गर्ने प्रयासमा शरीरको प्राकृतिक प्रक्रियाहरू बदल्ने कार्य ।

  • Coolcation: घरमा बढेको गर्मीबाट टाढा रहन शीतल जलवायु भएको ठाउँमा जान लिइने बिदा ।

  • Glaze: कसैको अनावश्यक वा अधिक प्रशंसा गर्नु ।

  • Aura farming: एक विशिष्ट र चमत्कारी व्यक्तित्व विकास गर्न जानाजानी गरिएको प्रयास । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८२ ११:५०