close

विदेशबाटै भोट हाल्ने कानुनी व्यवस्था गरिँदै, अर्को निर्वाचन क्षेत्रबाट समेत मतदान 'हुन सक्ने'

टेकपाना टेकपाना

कात्तिक २७, २०८२ १६:५७

विदेशबाटै भोट हाल्ने कानुनी व्यवस्था गरिँदै, अर्को निर्वाचन क्षेत्रबाट समेत मतदान 'हुन सक्ने'

काठमाडौँ । गृह मन्त्रालयले २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि विदेशबाट मतदान गर्ने व्यवस्थाको तयारी थालेको छ । मन्त्रालयले आवश्यक कानुनको मस्यौदा तयार पार्दै राय-परामर्शका लागि कानुन मन्त्रालयलाई पठाएको हो । 

कानुन मस्यौदामा आवश्यक राय माग्दै गृह मन्त्रालयले सुरुमा निर्वाचन आयोगमा पठाएकोमा पठाएको थियो । त्यहाँबाट प्राप्त सुझावलाई समेत समावेश गर्दै अहिले कानुन मन्त्रालय पठाइएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । 

बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले विदेशबाट मतदान गर्ने सम्बन्धमा बनेको मस्यौदा कानुन मन्त्रालय पुगेको बताए । "कानुन मन्त्रालयले आफ्नो सुझावसहित फेरि गृह मन्त्रालयमा पठाउँछ । यही बीचमा विदेशबाट मतदान गर्नका लागि विभिन्न सरोकारवालाहरूसँग छलफल गर्नुपर्नेछ," मन्त्री अर्यालले भने ।

यसका साथै अन्तर निर्वाचन क्षेत्रबाट पनि मतदान गर्न पाउनुपर्ने माग उठिरहेको बताउँदै मन्त्री अर्यालले यसलाई २१ फागुनको निर्वाचनमा सम्भव गराउने दाबी गरेका छन् । "आफ्नो मतदान केन्द्रभन्दा अर्को ठाउँबाट भोट हाल्ने प्रक्रियाका लागि प्राविधिकहरूले भनेको कुरा मान्नुपर्ने हुन्छ । उचित समयमा हामी यस विषयको निष्कर्ष दिन्छौँ । सरकारले उचित काम गर्छ," अर्यालले भने ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८२ १६:५७