३५ उद्योग तिरे डेडिकेटेड तथा ट्रंक लाइनको २३ करोड ८७ लाख रुपैयाँ बक्यौता
कात्तिक २७, २०८२ १८:०
काठमाडौँ । लोडशेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत् उपभोग गरेका ३५ उद्योगले बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरे पनि त्यसलाई निरन्तरता नदिएका १० उद्योगले पनि किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् ।
हालसम्म नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ । ३५ उद्योगको कूल बक्यौता रकम भने पाँच अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । अब पाँच अर्ब ७० करोड रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
यो बक्यौता माघ २०७२ देखि वैशाख २०७५ सम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल हो । ऊर्जामन्त्री कुलमान घिसिङले राज्यप्रतिको दायित्व सम्झिएर उद्योगीहरूले बक्यौता रकम तिर्न थालेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
मन्त्री घिसिङले उद्योगीहरूबाट बक्यौताको किस्ता तिर्न थालेपछि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । “उद्योगहरूलाई विद्युत् नियमन आयोग, अदालतलगायतका निकायमा जाने बाटो खुल्लै छ, किस्ताबन्दी तिर्न थालेपछि त्यसलाई पालना गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ । उद्योगीहरूका जायज मागलाई सम्बोधन गर्न सधैँ तयार नै छौँ,” घिसिङले भने ।
प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समय दिएर असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । त्यस अवधिमा पनि बक्यौता तिर्न नआएपछि ४ र ७ कात्तिक गरी दुई चरणमा उद्योगहरूको लाइन काटिएको थियो । किस्ता तिर्ने उद्योगहरूमा लाइन पुन: जोडिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८२ १८:४५
