close

अनलाइनबाट १ दिनमै ३५ हजारको नाम मतदाता नामावलीमा दर्ता, सिस्टमलाई ओभरलोड धान्नै मुस्किल

टेकपाना टेकपाना

कात्तिक २८, २०८२ १२:३०

अनलाइनबाट १ दिनमै ३५ हजारको नाम मतदाता नामावलीमा दर्ता, सिस्टमलाई ओभरलोड धान्नै मुस्किल

काठमाडौँ । सेवा सुरु भएको २४ घण्टा बित्न नपाउँदै करिब ३५ हजार नागरिकले अनलाइनबाटै मतदाता नामावली दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनबाटै दर्ताको व्यवस्था मिलाइएपछि सिस्टममा ओभरलोडको समस्या समेत देखिएको छ ।

राष्ट्रिय परिचयपत्रको प्रणालीमा अनपेक्षित रूपमा धेरै रिक्वेस्ट हिट (धेरै अनुरोध) भएपछि शुक्रबार १० बजेदेखि सेवा प्रभावित भएको बुझिएको छ । समस्या समाधानका लागि निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका प्राविधिकहरूले काम गरिरहेका छन् ।

आयोगका अनुसार बिहान १० बजेअघिसम्म करिब ३५ लाख नागरिकले अनलाइनमार्फत भोटर रजिस्टर गरिसकेका छन् । परिचयपत्रको सिस्टमले उच्च मात्रामा आएका अनुरोध धान्न नसक्दा केही बेर सेवा प्रभावित हुन पुगेको हो ।

राष्ट्रिय परिचयपत्रका प्राविधिकले समस्या समाधान भइसकेको र अबको केही बेरमा सुधारिएको पर्फर्मेन्स अनुभव गर्न सकिने जानकारी दिए । बिहीबार अनलाइन सेवा सुरु भएपछि शुक्रबार बिहान १० बजेसम्म राष्ट्रिय परिचयपत्रमा ६ लाखभन्दा बढी रिक्वेस्ट हिट भएका छन् । त्यसमध्ये १ लाख रिक्वेस्टमा अथेन्टिकेसन सफल भएको विभागले जनाएको छ । प्रति सेकेन्डमै ४/५ हजार रिक्वेस्ट हिट हुँदा सिस्टममा ओभर लोड हुन पुगेको हो ।

यस्तै कतिपय प्रयोगकर्ताले आयोगको अनलाइन सिस्टमबाट मतदाता नामावली दर्ता गराउने क्रममा नागरिकता विवरण अन्तर्गत जिल्ला छनोट गर्न नमिलेको गुनासो गरिरहेका छन् । बिहीबार ओभरलोडका कारण अनलाइन सिस्टमको सर्भर बन्द हुने समस्या देखिएको थियो । सोही कारणले जिल्ला छनोट गर्न नमिलेको बुझिएको छ ।

तर अहिले भने आयोगले आफ्नो अनलाइन सिस्टममा देखिएको उक्त समस्या समाधान भइसकेको ज नाएको छ । "हाम्रो सर्भरमा आज इस्यु छैन," आयोगका एक प्राविधिकले भने ।

यसअघि निर्वाचन आयोगको अनलाइन प्रि-इनरोलमेन्ट प्रक्रियामा विवरण राखेपछि सेभ हुने व्यवस्था मिलाइएको थियो । तर अहिले भने राष्ट्रिय परिचयपत्रका आधारमा दुई मिनेटमै मतदाता नामावली दर्ता गर्न मिल्ने देखिएपछि सेभ हुने ड्राफ्टको सिस्टम हटाइएको छ ।

ड्राफ्ट सिस्टम हटाउँदा अहिले अनलाइनबाट मतदाता नामावली दर्ता गराउने क्रममा कुनै समस्या देखिए पुनः सुरु देखि नै राष्ट्रिय परिचयपत्र प्रमाणीकरणदेखि विवरण राख्नुपर्ने झन्झट छ । शुक्रबार दिउँसो १२-१ बजेसम्ममा आयोगको सिस्टममा सुधारका लागि केही 'फिक्स'हरू आउने बताइएको छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १२:३६