काठमाडौँ । गुगलले एन्ड्रोइड उपकरणहरूमा अनावश्यक वा समस्याग्रस्त गुगल प्ले सिस्टम अपडेटहरू (Google Play System updates) अनइन्स्टल गर्नका लागि नयाँ र सरल तरिका ल्याएको छ । यस्ता अपडेटले एन्ड्रोइड उपकरणहरूमा महत्त्वपूर्ण सुविधाहरू प्रदान गर्छन् । तर यदि कुनै अपडेटले गम्भीर वा अनपेक्षित समस्या ल्याएमा त्यसलाई रोल ब्याक गर्नुपर्ने आवश्यकता हुन सक्छ ।
यसअघि समस्याग्रस्त गुगल प्ले सिस्टम अपडेटहरू हटाउने प्रक्रिया केही जटिल थियो । यस्तो अवस्थामा प्रयोगकर्ताहरूले पहिले गुगलको GPSUR (Google Play System Update Rollbacks) उपकरण प्रयोग गर्नु पर्थ्यो । तर, यो उपकरण प्रयोग गर्नका लागि एन्ड्रोइड डिबग ब्रिज (Android Debug Bridge - ADB) चलिरहेको कम्प्युटरसँग कनेक्ट गर्नुपर्ने अनिवार्यता थियो ।
यदि यसरी समस्या समाधान नभएमा फ्याक्ट्री रिसेट गर्ने वा फर्मवेयर फ्ल्याश गर्ने जस्ता उपायहरू अपनाउनुपर्ने हुन्थ्यो । तर, अब भने गुगलले प्रत्यक्ष रूपमा उपकरणमै काम गर्ने (अन-डिभाइस) समाधान ल्याएको हो ।
गुगलले यो नयाँ अनइन्स्टल विकल्प Mainline services मार्फत रोल आउट गरिरहेको छ । Mainline updates लाई नै गुगल प्ले सिस्टम अपडेटहरूको अर्को नामको रूपमा बुझ्न सकिन्छ ।
यो नयाँ सुविधा गुगल प्ले सर्भिसको सिस्टम सर्भिसको सूचीमा एउटा नयाँ इन्ट्रीको रूपमा देखा परेको छ । यद्यपि यो अहिले सबै उपकरणहरूमा उपलब्ध भइसकेको छैन । तर यो रोलआउट हुने प्रक्रियामा रहेको देखिन्छ ।
उपलब्ध भएपश्चात जब प्रयोगकर्ताले यो सूचीमा Mainline services मा ट्याप गर्छन्, त्यसले प्ले स्टोर इन्ट्री खुल्छ । एक पटक फोनले गुगल प्ले सिस्टम अपडेट (अर्थात् Mainline update) डाउनलोड गरेपछि, अपडेट पूरा गर्न त्यसलाई रिस्टार्ट गर्नु पर्नेे हुन्छ ।
अपडेट इन्स्टल भइसकेपछि प्रयोगकर्ताले Remove updates (अपडेट हटाउनुहोस्) भन्ने विकल्प देख्न सक्नेछन् । प्राप्त जानकारी अनुसार, अपडेट अनइन्स्टल गर्ने प्रक्रिया अगाडि बढाउनुअघि एउटा डायलग देखा पर्छ, जसले अपडेट हटाउँदा हुने सम्भावित परिणामहरूको बारेमा चेतावनी दिन्छ ।
परीक्षणका क्रममा सफलतापूर्वक अपडेट हटाउन सकिएको र त्यो अपडेट पुनः इन्स्टलका लागि उपलब्ध भएको पाइएको छ ।
यो उपकरण सामान्य प्रयोगका लागि नभएको र अझै पनि केही लुकाइएको अवस्थामा रहेको भए पनि आवश्यक परेको बेला यसले प्रयोगकर्तालाई एन्ड्रोइड डिबग ब्रिज मार्फत कम्प्युटर कनेक्ट गर्नुपर्ने बाध्यताबाट मुक्ति दिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १३:१९
