फिलिप्स ब्रान्डमा स्मार्टफोन र ट्याब्लेट आउँदै, पहिलो डिभाइस प्याड एयरको स्पेसिफिकेसन लिक
कात्तिक ३०, २०८२ १४:१८
काठमाडौँ । स्मार्टफोन र ट्याब्लेट बजारमा नयाँ भारतीय खेलाडी फिलिप्स पनि थपिने भएको छ । स्थानीय भारतीय कम्पनी जेनोटेलले फिलिप्स नाम प्रयोग गर्ने अधिकार खरिद गरी बजारमा आउने तयारीमा जुटेको हो ।
कम्पनी विगत केही हप्तादेखि स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा जुटेको छ । यसै क्रममा हालै फिलिप्सको पहिलो डिभाइस मध्ये एकको स्पेसिफिकेसन (विशेषता) लिक भएका छन् ।
जीएसएम अरिनाका अनुसार लिक भएको डिभाइसलाई फिलिप्स प्याड एयर (Philips Pad Air) नाम दिइएको छ । यो एउटा ट्याब्लेट हुने अनुमान गरिएको छ ।
यस ट्याब्लेटमा युनिसक टी ६०६ (Unisoc T606) चिपसेट प्रयोग गरिनेछ । यो चिपसेट ४ जीबी र्याम र १२८ जीबी स्टोरेजसँग जोडिनेछ । यसको स्क्रिनमा २के रिजोलुसन र ९० हर्ज रिफ्रेश रेट हुनेछ ।
यसलाई पावर दिनका लागि ७,००० एमएएच क्षमताको ब्याट्री समावेश गरिनेछ । जसले १८ वाटको वायर्ड चार्जिङ सपोर्ट गर्दछ ।
यो उपकरण आगामी वर्षको पहिलो त्रैमासिक भित्र (अर्थात् मार्चको अन्त्य अगाडि) सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसबाहेक फिलिप्स ब्रान्ड प्रयोग गरी स्मार्टवाच र ल्यापटपहरू पनि ल्याउने योजना रहेको छ । यी सबै उपकरणहरू २०२६ मा बजारमा आइपुग्ने बताइएको छ ।
यसअघि पनि फिलिप्सका केही एन्ड्रोइड फोन सार्वजनिक भइसकेका छन् । जसमा युनिसक चिपसेट र ४,७०० एमएएच ब्याट्री भएको फिलिप्स पीएच१, एन्ड्रोइड र ह्वावे मिडिया सर्भिसेज सहित चीनमा सार्वजनिक भएको फिलिप्स पीएच २ र फिलिप्स एस ३१० एक्स जस्ता मोडेल रहेका छन् । यद्यपि ती मोडेलहरू अहिले बजारमा आउन छोडिसकेका छन् ।
फिलिप्सले स्वास्थ्यमा केन्द्रित स्मार्ट उपकरणहरूको एक सुइट पनि बाहिर ल्याएको छ । यद्यपि केहीले यी डिभाइसहरूलाई फिलिप्सको नाम दिएर बजारमा ल्याइएका ओरिजिनल डिजाइन म्यानुफ्याक्चररिङ-ओडीएम (ODM) उत्पादनहरू मात्र मानिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १४:१८
