आश्मा विश्वकर्माको ‘चिक्री चिक्री’ कभर डान्स भाइरल, सामाजिक सञ्जालमा नाघ्यो साढे ७ करोड भ्युज
कात्तिक ३०, २०८२ १९:५७
काठमाडौँ । नेपाली चर्चित डान्सर तथा मोडेल आश्मा विश्वकर्मा पछिल्लो समय एक भिडिओका कारण सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेकी छिन् । उनले हालै सामाजिक सञ्जाल प्लेटफर्महरूमा सार्वजनिक गरेको ‘चिक्री चिक्री’ गीतमा गरेको नृत्यका कारण उनलाई सामाजिक सञ्जालमा रुचाइएको हो ।
हरियाली पहाड र पृष्ठभूमिमा हिमालको दृश्यमा खिचिएको भिडिओमा आश्माले शर्ट, पाइन्ट र गलामा रुमाल बाँधेर दक्षिण भारतका मेघा पावर स्टार राम चरणको लुक्स र डान्स स्टेपलाई पछ्याउँदै नृत्य गरेकी छिन् । ४४ सेकेन्ड लामो उक्त भिडिओ खिच्ने, एडिटिङ र कलरिङको काम सुरोज अधिकारीले गरेका छन् ।
टी-सिरिज र आईभीवाई इन्टरटेनमेन्ट युट्युब च्यानलले कोल्याबको रूपमा ‘चिक्री चिक्री’ बोलको गीत ७ नोभेम्बरमा सार्वजनिक गरेका थिए । यो गीतलाई सोही दिन हिल्दी र तेलगु भर्जनमा पनि सार्वजनिक गरिएको थियो । हिन्दी भर्सनलाई यो सामग्री तयार पार्दा सम्म दुई करोडभन्दा धेरै पटक हेरिएको छ । यस्तै तेलगु भर्सनमा ५ करोड १९ लाखभन्दा धेरै भ्युज आइसकेको छ ।
यो गीत २७ मार्च २०२६ मा सार्वजनिक मिति तोकिएको स्पोर्टस् एक्सन फिल्म ‘पेड्डी’ मा समावेश छ । जहाँ राम चरण र बलिउड अभिनेत्री जान्भी कपुर प्रमुख भूमिकामा देखिने छन् । एआर रहमनको म्युजिक कम्पोजिसन तथा मोहित चौहान द्वारा गाइएको ‘चिक्री चिक्री’ मा राम चरण कुनै पहाड जस्तो ठाउँमा डान्सको स्टेप गरिरहेका छन् ।
गीतमा उनी बिँडी तान्दै र क्रिकेटको ब्याट प्रयोग गरेर नृत्य गरिरहेका छन् । यो गीतमा रहेको राम चरणको डान्स स्टेप पछिल्लो समय भारतसँगै नेपालमा निकै चर्चित भइरहेको छ । यस गीतमा कयौँ फ्यानहरूले भिडिओ बनाइरहेका छन् ।
ती कभर भिडिओहरू मध्ये आश्माको गीत सबैभन्दा धेरै चर्चित बनेको हो । बिँडी तान्दै आश्माले गरेको खुट्टाको स्टेपलाई धेरैले रुचाएका छन् । विभिन्न सामाजिक सञ्जाल प्लेटफर्मबाट ११ नोभेम्बरमा आश्माले कभर डान्स सार्वजनिक गरेकी थिइन् । त्यस यता यो सामग्री तयार पार्दासम्म उनको भिडिओलाई फरक फरक प्लेटफर्मबाट सात करोडभन्दा धेरै पटक हेरिएको छ ।
हालसम्म सामाजिक सञ्जाल प्लेटफर्ममध्ये आश्माको भिडिओलाई इन्टाग्राममा सबैभन्दा धेरै हेरिएको छ । ‘आश्मा विश्वकर्मा अफिसियल’बाट उनले राखेको भिडिओमा हालसम्म दुई करोड १८ लाखभन्दा बढी भ्युज आएको छ । हेर्नुहोस् भिडिओ ।
उनको उक्त रिल्स भिडिओमा चलचित्र पेड्डीको आधिकारिक इन्स्ट्राग्राम पेजबाट पर्फेक्टका लागि जनाउने इमोजी सहित कमेन्ट समेत गरेको छ । जसमा आश्माले हार्ट इमोजी सहित रिप्लाई गरेकी छिन् । सोही रिल्सलाई १३ नोभेम्बरमा पेड्डी फिल्मकी अभिनेत्री जान्भी कपुरले इन्स्ट्राग्राम स्टोरीमा समेत शेयर गरेकी थिइन् ।
टिकटकमा आश्माले राखेको सोही भिडिओलाई दुई करोड १७ लाखभन्दा धेरै पटक हेरिएको छ । फेसबुकमा आश्मा विश्वकर्मा बीगर्ल स्काइ नामक अकाउन्टबाट ११ नोभेम्बरमा सार्वजनिक भिडिओमा यो सामग्री तयार पार्दा सम्म दुई करोड भन्दा धेरै भ्युज आएको छ ।
यसअघि आश्माले फेसबुकमा शेयर गर्ने भिडिओहरूमध्ये केहीले मात्र मिलियनको भ्युज पार गर्ने गरेका थिए । तर उनको फेसबुकमा २० मिलियन (दुई करोड) भ्युज पार गरेको यो नै पहिलो भिडिओ हो ।
यस्तै, आश्मा विश्वकर्मा अफिसियल नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको उक्त भिडिओ युट्युबमा यो भिडिओ एक करोड १० लाख पटक हेरिएको छ ।
सबै सामाजिक सञ्जालमा यो गीत भाइरल भइरहँदा अधिकांश प्रयोगकर्ताले गीतका ओरिजिनल डान्सर भन्दा पनि आश्माको डान्स र कोरियोग्राफी राम्रो भएको भन्दै प्रशंसा गरिरहेका छन् । राम चरणको डान्सलाई चुनौती दिने खालको नृत्य भएको भन्दै धेरैले तारिफ गरिरहेका हुन् ।
उनको नृत्यलाई नायिका प्रियङ्का कार्की, रिमा विश्वकर्मासहित कयौँ सेलेब्रेटीहरूले समेत तारिफ गरिरहेका छन् ।
सन् २०१० देखि सक्रिय डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’को एक्लो महिला डान्सर आश्मा आफूलाई नेपालको पहिलो बीगर्ल रहेको समेत दाबी गर्दै आएकी छिन् । सन् २०१६ ताका फेन्टास्टिक (पानी पर्यो), निर जहिल्यै रिसाउने गीतको कभर सङ, नाइ मलाइ था छैन लगायतका गीतबाट धेरै फ्यानहरूमा ‘द कार्टुन्ज क्रु’ पपुलर भएको थियो ।
प्रायः कार्जुन्स क्रुका संस्थापक सरोज अधिकारीसँगै म्युजिक भिडिओहरूमा देखिने उनको नेपालमा राम्रो फ्यान फलोइङ छ । नेपालमा सबैभन्दा राम्रो महिला डान्सरमा अग्र पङ्तीमा पर्ने उनले द कार्टुन्ज क्रुसँगै सयौँ म्युजिक भिडिओ, विभिन्न चलचित्रका गीतहरूमा नृत्यका साथै कयौँ सिरिजहरूमा काम गरिसकेकी छिन् ।
पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १२:४२
