पछिल्ला स्मार्टफोन तथा ल्यापटपमा हुने बाइपास चार्जिङ प्रविधि र यसका फाइदा
मंसिर १, २०८२ १०:४६
काठमाडौँ । पछिल्लो समय गेमिङ ल्यापटप र फ्ल्यागशिप स्मार्टफोन जस्ता हाई-पर्फर्म गर्ने डिभाइसहरूमा बाइपास चार्जिङ नामक एक स्मार्ट सुविधाको प्रयोग बढ्दै गएको छ । यो प्रविधि मुख्यतया स्मार्टफोनमा ब्याट्रीको स्वास्थ्यलाई लामो समयसम्म कायम राख्न र हाई पर्फर्मेन्सलाई निरन्तरता दिनका लागि डिजाइन गरिएको हो ।
बाइपास चार्जिङ एउटा यस्तो सुविधा हो, जसले ब्याट्रीलाई चार्ज वा डिस्चार्ज नगरी सिधै डिभाइसलाई चार्जरबाट पावर लिने अनुमति दिन्छ । जब तपाईँ फोन चार्ज गर्दै चलाउनुहुन्छ, पावर पहिले ब्याट्रीमा जान्छ र त्यसपछि ब्याट्रीबाट प्रोसेसर तथा डिस्प्ले जस्ता अन्य कम्पोनेन्टहरूमा जान्छ । ब्याट्री चार्ज र डिस्चार्ज दुवै एकै साथ हुने हुँदा यसले धेरै ताप उत्पन्न गर्छ ।
बाइपास चार्जिङ सक्रिय हुँदा चार्जरबाट आएको बिजुली सिधै फोनका आन्तरिक कम्पोनेन्टहरू (प्रोसेसर र डिस्प्ले) मा पठाइन्छ । यस प्रक्रियामा ब्याट्री निष्क्रिय रहन्छ । ब्याट्रीको चार्जको स्तर (जस्तै ३०% वा ८०% ) स्थिर रहन्छ र यो चार्ज साइकलबाट गुज्रँदैन ।
यस अवस्थामा ब्याट्रीले एउटा ब्याकअप पावर स्रोत (यूपीएस) ले जसरी नै काम गर्छ । जसले चार्जर हट्ने बित्तिकै डिभाइसमा पावर दिन थाल्छ । यो प्रविधि खासगरी लामो समयसम्म एकै ठाउँमा बसेर गेम खेल्न वा भिडिओ एडिटिङ गर्न उपयोगी हुन्छ । किनकि यसले तत्कालको प्रयोगका लागि मात्र पावर दिन्छ र भण्डारणका लागि ब्याट्री चार्ज गर्दैन ।
यो सुविधा किन छ महत्त्वपूर्ण ?
बाइपास चार्जिङको प्रयोगले डिभाइसको प्रर्फर्मेन्स र दीर्घायुमा ठुलो फरक पार्न सक्छ । बाइपास चार्जिङको सबैभन्दा ठुलो फाइदा भनेको यसले ताप उत्पादन घटाउँछ । चार्जिङ र गेमिङजस्ता भारी प्रयोग एकसाथ हुँदा डिभाइस धेरै तातो हुन सक्छ । ब्याट्रीलाई प्रोसेसिङबाट बाहिर राख्दा यो अतिरिक्त ताप कम हुन्छ । जसले ब्याट्रीको स्वास्थ्यलाई सुरक्षित राख्छ र यसको आयु बढाउन मद्दत गर्छ ।
त्यस्तै कम तापक्रम कायम रहँदा डिभाइसको प्रोसेसर (एसओसी) ले धेरै तातो हुनबाट बच्नका लागि आफ्नो पर्फर्मेन्स कम (throttle down) गर्नु पर्दैन । यसले गर्दा गेमिङको समयमा उत्कृष्ट प्रदर्शन कायम राख्न सकिन्छ ।
यो सुविधा प्रयोग गर्दा ब्याट्रीले चार्ज र डिस्चार्ज साइकलबाट गुज्रीनु पर्दैन । जसले गर्दा ब्याट्रीको स्वास्थ्यमा हुने ह्रास (degradation) कम हुन्छ ।
कुन स्मार्टफोनमा छ यो सुविधा ?
बाइपास चार्जिङ अहिले पनि सबै डिभाइसहरूमा उपलब्ध भइसकेको छैन । यो मुख्यतया गेमिङ फोन वा हाई-इन्ड फ्ल्यागशिप मोडेलहरूमा पाइन्छ । सामसङका मोबाइलहरूमा Pause USB PD Charging when gaming नाममा यो सुविधा समावेश गरिएको हुन्छ ।
यो सुविधा गेमिङ हब वा गेम बुस्टर सेटिङ्सभित्र लुकेको हुन्छ । यो गेम खेल्दा मात्र सक्रिय हुन्छ । यसलाई प्रयोग गर्न २५ वाट वा सोभन्दा बढीको यूएसबी पीडी (पीपीएस सहित) चार्जर र ब्याट्री कम्तीमा २० प्रतिशत चार्ज भएको हुनुपर्छ । यो ग्यालेक्सी एस २२ सिरिज र त्यसपछिका फ्ल्यागशिप फोनहरूमा उपलब्ध छ ।
गुगल पिक्सेल फोनहरूमा Limit to 80% नाममा यो फिचर समावेश गरिएको छ । पिक्सेल ६ देखि पिक्सेल ९ सम्मका डिभाइसहरूमा उपलब्ध यो सुविधामा फोनको ब्याट्री चार्ज ८० प्रतिशतमा पुगेपछि चार्जिङ एडप्टरले सोझै डिभाइसलाई पावर दिन्छ र ब्याट्री ८० प्रतिशतमा स्थिर बस्छ ।
एसुसले यो फिचरलाई Bypass charging in-game भनेर नाम दिएको छ । रग फोन ३ र त्यसपछिका नयाँ डिभाइसमा एसुस गेम जिनी (ASUS Game Genie) एपमार्फत यसलाई प्रयोग गर्न सकिन्छ ।
त्यस्तै आईक्यूओओमा Direct drive power supply नामबाट यो फिचर प्रयोग गरिएको छ ।
iQOO 13 र iQOO Neo10 जस्ता फ्ल्यागशिप गेमिङ फोनहरूले बाइपास चार्जिङलाई सपोर्ट गर्छन् । यो सुविधा गेम खेल्दा मात्र सक्रिय गर्न सकिन्छ ।
यस बाहेक साओमीका निश्चित गेमिङ फोन, वनप्लस १३ र जेडटीईको नुबिया सिरिजका पछिल्ला फोनहरूमा पनि बाइपास चार्जिङ पाउन सकिन्छ ।
बाइपास चार्जिङ र चार्ज लिमिटबिचको भिन्नता
बाइपास चार्जिङले ब्याट्रीलाई छलेर सिधै डिभाइसमा पावर लैजान दिन्छ । जबकि चार्ज लिमिटले ब्याट्रीलाई पूर्वनिर्धारित थ्रेसहोल्ड (जस्तै ८०% वा ८५%) सम्म मात्र चार्ज गर्न दिन्छ । जसले ब्याट्रीको आयु बचाउन मद्दत गर्छ ।
उदाहरणका लागि गुगल पिक्सेलमा ८०% को चार्ज सीमामा पुगेपछि बाइपास चार्जिङ सक्रिय हुन्छ । तर, एप्पलका आईफोनहरूमा चार्ज लिमिट सेट गर्न मिले पनि निर्धारित सीमामा पुगेपछि डिभाइसले ब्याट्रीबाटै पावर लिइरहन्छ । जसले गर्दा समयसँगै ब्याट्री खिइने क्रम चलिरहन्छ ।
पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १०:४६
