डिशहोम गोमा एनपीएल हेर्न शुल्क तिर्दा दोहोरो रकम काटियो, कम्पनीले आजै फिर्ता गर्ने
मंसिर १, २०८२ १५:३३
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन हेर्नका लागि डिशहोम गोमा शुल्क तिरेका प्रयोगकर्ताको रकम दुई पटक काटिएको गुनासो आएको छ । प्राविधिक गडबडीका कारण यस्तो समस्या देखिएको स्वीकार गर्दै कम्पनीले बढी काटिएको रकम आजै फिर्ता गर्ने प्रतिबद्धता जनाएको हो ।
नेपालमा ३०० रुपैयाँ तिरेर एनपीएलका सम्पूर्ण खेल डिशहोम गोमा प्रत्यक्ष हेर्न सकिने व्यवस्था छ । तर, भुक्तानी गर्ने क्रममा केही प्रयोगकर्ताको वालेटबाट दुई वा सोभन्दा बढी पटक रकम काटिएपछि उनीहरूले गुनासो गरेका हुन् ।
यस समस्याबारे कम्पनीका एक प्रतिनिधिले प्राविधिक कमजोरीका कारण भुक्तानी दोहोरिएको स्वीकार गरेका छन् । उनका अनुसार काटिएको बढी रकम प्रयोगकर्तालाई आजै फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको छ ।
कम्पनीले एक पटक रकम काटिएर पनि सेवा सुरु नभएमा एपलाई ‘रिफ्रेश’ गरेर हेर्नसमेत प्रयोगकर्तालाई सुझाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १५:३३
