close

आज एनपीएलका २ खेल हुँदै, डिशहोम गोले भन्योः लाइभ स्ट्रिमिङमा कुनै समस्या हुँदैन

टेकपाना टेकपाना

मंसिर २, २०८२ ९:३५

आज एनपीएलका २ खेल हुँदै, डिशहोम गोले भन्योः लाइभ स्ट्रिमिङमा कुनै समस्या हुँदैन

काठमाडौँ । एनपीएलको आधिकारिक लाइभ स्ट्रिमिङ ओटीटी एप डिशहोम गोले लाइभ स्ट्रिमिङमा समस्या नहुने बताएको छ । सोमबार नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको लाइभ स्ट्रिमिङका क्रममा समस्या आएपछि माफी माग्दै डिशहोम प्राविधिक समस्या समाधान भएको जनाएको हो । 

डिशहोम गो एपले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै माफी भनेको छ, “हामीले सबै समस्या समाधान गरिसकेका छौँ । हाल स्ट्रिमिङ स्मुथ रूपमा चलिरहेको छ । यसअघि देखिएका समस्याहरूका लागि क्षमाप्रार्थी छौँ ।” 

सोमबार खेलको सुरुवाति समयमा भिडिओ प्ले नहुने, इरर देखाउने, भिडिओ आउँदा पनि आवाज नआउने जस्ता समस्या देखिएका थिए । त्यस्ता समस्याका लागि माफी माग्दै डिशहोम गोले ती सबै समस्या समाधान गरिसकेको जानकारी दिएको हो । "ठुलो इभेन्टको लाइभ भएकाले सुरुमा केही बगहरू देखिएको हो, अहिले हामीले धेरैजसो समस्या समाधान गरिसकेका छौँ," डिशहोमका एक अधिकारीले भने ।  

लाइभ स्ट्रिमिङ राम्रोसँग चलिरहेको दाबी गरिएको भए पनि प्रयोगकर्ताले भिडिओ क्वालिटीलाई लिएर असन्तुष्टि व्यक्त गरिरहेका थिए । आज मङ्गलबार पहिलो खेल ११ः४५ मा चितवन राइनोज तथा कर्णाली याक्स र दोस्रो खेल अपराह्न ४ः०० बजे विराटनगर गिङ्स र पोखरा एभेन्जर्सबिच हुँदैछ । 

सोमबार काठमाडौँ गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्सबिच भएको उद्घाटन खेलको प्रत्यक्ष प्रसारण भने डिशहोम गोले निःशुल्क गरेको थियो । जसमा काठमाडौँले जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो ।  डिशहोम गोमा मात्रै उक्त खेलको लाइभ हेर्ने दर्शकको सङ्ख्या करिब दुई लाख रहेको कम्पनीले जनाएको छ ।  

आजदेखि हुने खेलको लाइभ हेर्न भने डिशहोम गोको सब्सक्रिप्सन लिनुपर्ने हुन्छ । जसमा नेपालभित्रबाट हेर्न चाहनेले ३०० रुपैयाँ, खाडी तथा मध्यपूर्वका प्रयोगकर्ताले ५०० रुपैयाँ र अन्य (भारत बाहेक) देशका प्रयोगकर्ताले १० अमेरिकी डलर तिर्नुपर्नेछ । 

यस बाहेक स्टार स्पोर्ट्स र कान्तिपुर म्याक्स एचडी च्यानलबाट समेत एनपीएलको लाइभ हेर्न सकिने व्यवस्था मिलाइएको छ । डिशहोम गोको सब्सक्रिप्सन लिने तरिका बारे थाहा पाउन यहाँ क्लिक गर्न अथवा तलको भिडिओ हेर्न सक्नु हुनेछ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ ९:३५