close

पठाओसँग प्रत्यक्ष अन्तर्क्रिया नगरी नै अब राइडर परीक्षा दिन सकिने, ८०% अङ्क ल्याए पास

टेकपाना टेकपाना

मंसिर २, २०८२ १४:५३

पठाओसँग प्रत्यक्ष अन्तर्क्रिया नगरी नै अब राइडर परीक्षा दिन सकिने, ८०% अङ्क ल्याए पास

काठमाडौँ । राइड-हेलिङ प्लेटफर्म पठाओले आफूसँग प्रत्यक्ष अन्तर्क्रिया नगरी नै राइडर बन्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ । ‘पठाओ राइडर एप’मार्फत अनलाइन तालिम लिएर परीक्षा दिएको अवस्थामा राइडर बन्न सकिने व्यवस्था कम्पनीले सुरु गरेको हो ।

यसका लागि पठाओ ड्राइभ एपमा लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) सञ्चालनमा ल्याइएको छ । उक्त प्रणालीमार्फत अन्तर्क्रिया बिना नै तालिम तथा परीक्षा प्रक्रिया पूरा गर्न सकिने कम्पनीकी निर्देशक सुरक्षा हमालले बताइन् ।

उनका अनुसार सुरुवाती चरणमा पठाओले राइडरलाई भौतिक रूपमा प्रशिक्षण तथा परीक्षा लिने गर्थ्यो । कोभिड-१९ महामारीपछि अनलाइन कक्षामार्फत परीक्षा लिने व्यवस्था गरियो । अहिले भने एलएमएसमार्फत रेकर्डेड भिडिओ हेरेर नै अनलाइन कक्षा लिने र त्यसपछि एपमार्फत परीक्षा दिन सकिने सुविधा थपिएको उनले जानकारी दिइन् ।

हमालले भनिन्, “भिडिओमार्फत एप कसरी चलाउने, सुरक्षित यात्राबारे जानकारी, यात्रुसँग व्यवहार कसरी गर्नेजस्ता सबै सिक्न सकिन्छ । कक्षा पूरा भएपछि राइडरले एपमै परीक्षा दिन सक्छन् । ८० प्रतिशत अंक हासिल गरेपछि मात्र उनीहरू पठाओ राइडर बन्छन् । पास नभएमा भिडियो दोहोर्‍याएर हेरेर पुनः परीक्षा दिनुपर्छ ।” उनका अनुसार पछिल्ला तीन महिनादेखि यही माध्यमबाट परीक्षा लिइँदै आइएको छ ।

यसरी बन्न सकिन्छ पठाओ राइडर 

पठाओ राइडर बन्न इच्छुकले पठाओ ड्राइभ एप डाउनलोड गरी अनलाइन दर्ता प्रक्रिया थाल्नुपर्छ ।

  • एपमा अकाउन्ट खोलेर ब्लु बुक, सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायत आवश्यक कागजात अपलोड गर्नुपर्छ ।

  • पठाओले ती कागजात २४ घण्टाभित्र जाँच गरी अकाउन्ट भेरिफाई गर्छ ।

  • त्यसपछि ड्राइभ एपमै उपलब्ध अनलाइन तालिम लिएर परीक्षा दिनुपर्ने हुन्छ ।

परीक्षामा ८० प्रतिशत वा सोभन्दा बढी अंक ल्याएपछि सम्बन्धित व्यक्तिलाई एसएमएसमार्फत सम्झौतापत्र पठाइने कम्पनीले जनाएको छ । सम्झौतामा हस्ताक्षर गरेपछि मात्र आधिकारिक रूपमा पठाओ राइडर बन्न सकिन्छ ।

कम्पनीको तथ्याङ्कअनुसार परीक्षामा करिब ८५ प्रतिशत सहभागी पहिलो प्रयासमै उत्तीर्ण हुन्छन् । बाँकीले पुनः परीक्षा दिएर राइडर बन्ने गरेका छन् । सक्रिय पठाओ राइडरहरूले मासिक औसत ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको पठाओको दाबी छ ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ १५:६