काठमाडौँ । मङ्गलबार इन्टरनेट पूर्वाधार प्रदायक क्लाउडफ्लेयरको सेवामा आएको बगका कारण विश्वभरका धेरै वेबसाइट केही घण्टा चल्न सकेनन् । एक्स, च्याटजीपीटी, डाउनडिटेक्टर लगायत धेरै प्लेटफर्ममा पहुँच रोकियो ।
क्लाउडफ्लेयरका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) डेन् नेकटका अनुसार नियमित रूपमा गरिएको एक सानो कन्फिगरेसन परिवर्तनपछि बोट रोक्ने (Bot Mitigation) प्रणालीमा रहेको लुकेको बग सक्रिय भयो र सेवा क्र्यास भयो । उनले घटनालाई ‘अस्वीकार्य’ भन्दै सार्वजनिक रूपमा माफी मागेका छन् ।
विश्वभरका चर्चित साइटहरूको ट्राफिक ह्यान्डल गर्ने क्लाउडफ्लेयरको डेटाबेस सिस्टम (क्लिकहाउस) मा अनुमति (permissions) परिवर्तन गर्दा फिचर फाइल जेनेरेट गर्ने क्वेरीमा समस्या आएको थियो । यसले फाइलमा हजारौं डुप्लिकेट इन्ट्रीहरू थपिदियो, जसले फाइलको साइज दुई गुणा वा सोभन्दा बढी भयो ।
यो ओभरसाइज फाइल क्लाउडफ्लेयरको सम्पूर्ण नेटवर्कमा फैलियो । त्योसँगै ट्राफिक ह्यान्डल गर्ने सफ्टवेयर (प्रोक्सी सिस्टम) ले यो फाइल रिड गर्न तथा अपडेट गर्न सकेन । जसकारण सफ्टवेयर क्र्यास भई सर्भर एरर कोडहरू जेनेरेट गर्यो । परिणामस्वरूप, उक्तबगको असरले क्लाउडफ्लेयरको नेटवर्क हुँदै जाने सबै इन्टरनेट ट्राफिकहरू (डेटा प्रवाह) रोकियो र वेबसाइटहरू ठप्प हुन थाले ।
उदाहरणका लागि टेकपाना डटकम खोल्न खोज्दा तपाईंको रिक्वेस्ट क्लाउडफ्लेयर हुँदै टेकपानाको मूल सर्भरमा जान्छ । तर बगले यो बाटो बन्द भएपछि साइट ठप्प हुन पुग्यो ।
यो समस्या नेपाली समयअनुसार मङ्गलबार साँझ ५:३३ तिर सुरु भएको थियो । समस्या फैलिँदै जाँदा क्लाउडफ्लेयरमा चलेका धेरै वेबसाइट मात्र नभई कम्पनीका एक्सेस र डब्लूएआरपी जस्ता सेवा पनि ठप्प भए ।
क्लाउडफ्लेयरले नेपाली समयअनुसार बेलुकी साढे ८ बजेतिर समस्या समाधान गरेर पुनः सेवा सञ्चालन गर्न थाल्यो । तर एनालिटिक्स, एरर लकिङजस्ता ड्यासबोर्डका केही फिचर केही समयसम्म आंशिक रूपमा प्रभावित नै रहे ।
क्लाउडफ्लेयरको बोट कन्ट्रोल सिस्टम धेरै वेबसाइट र एपीआईको ट्राफिकसँग सिधै जोडिने भएकाले यसमा समस्या आउँदा विश्वभर असर पर्ने गर्दछ ।
पछिल्लो एक महिनामै यो तेस्रो ठूलो इन्टरनेट अवरोध हो । यसअघि अमेजन वेब सर्भिस र माइक्रोसफ्ट अज्योर दुवैमा ठुलो समस्या आइसकेको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ १४:४७
