सीजी नेटले ल्यायो वाई-फाई सिक्समा आधारित इन्टरनेट सेवा, ९० दिनसम्म ४०० एमबीपीएसको ट्रायल अफर
बैशाख २१, २०८३ १८:३३
काठमाडौँ । इन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले वाई-फाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा सुरु गरेको छ । प्रयोगकर्तालाई इन्टरनेट प्रयोगमा नौलो र उच्च गतिको अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो प्रविधि भित्र्याएको हो ।
वाई-फाई सिक्समार्फत ग्राहकले पहिलेको तुलनामा तीव्र गतिको इन्टरनेट, न्यून लेटेन्सी र एकैपटक धेरै डिभाइसहरू जोड्न सकिने सुविधा प्राप्त गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय भिडिओ स्ट्रिमिङ, अनलाइन गेमिङ, वर्क फ्रम होम, स्मार्ट होम डिभाइस लगायतको प्रयोग बढिरहेको छ । यस्तो अवस्थामा इन्टरनेटको बढ्दो मागलाई सम्बोधन गर्न वाई-फाई सिक्स प्रविधि प्रभावकारी हुने सीजी नेटको विश्वास छ ।
प्राविधिक विशेषताका आधारमा वाई-फाई सिक्समार्फत ९.६ जीबीपीएससम्मको गति प्राप्त गर्न सकिन्छ, जुन वाई-फाई फाइभको तुलनामा करिब ४.५ गुणा बढी ब्यान्डविथ हो । यसमा लेटेन्सी २० मिलिसेकेन्डसम्म मात्र हुने भएकाले अनलाइन गेम खेल्दा वा भिडिओ कल गर्दा ल्याग हुने अर्थात् अड्किने समस्या नहुने कम्पनीको दाबी छ । साथै, यसले एकैपटक १२८ वटासम्म डिभाइस सपोर्ट गर्ने भएकाले धेरै प्रयोगकर्ता हुँदा पनि इन्टरनेटको गुणस्तर स्थिर रहनेछ ।
यस प्रविधिमा डेटा ट्रान्सफरलाई प्रभावकारी बनाउन र नेटवर्क क्षमता वृद्धि गर्न OFDMA, 1024-QAM र 8x8 MU-MIMO जस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन् ।
नयाँ प्रविधिसँगै कम्पनीले विभिन्न प्याकेजहरू समेत सार्वजनिक गरेको छ। जसअनुसार इन्टरनेट मात्रका लागि वार्षिक शुल्क १४ हजार ४९९ रुपैयाँ तोकिएको छ भने मेस राउटरसहितको प्याकेज १७ हजार १३० रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी, आईपीटीभी सहितको प्याकेज १६ हजार २७६ रुपैयाँ र आईपीटीभी तथा मेस राउटर दुवै समावेश भएको प्याकेज १८ हजार ९०७ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।
कम्पनीले नयाँ प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ९० दिनका लागि ४०० एमबीपीएस गतिको इन्टरनेट ‘ट्रायल’का रूपमा समेत उपलब्ध गराउने योजना अघि सारेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८३ १८:५८
