काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार हुने सुदूरपश्चिम रोयल्स र काठमाडौँ गोर्खाजबिचको खेलका सबै टिकट बिक्री भएका छन् । बुधबार दिउँसो ४ बजेदेखि सुरु हुने खेलका लागि उपलब्ध सम्पूर्ण टिकट बिक्री भएको एनपीएलको टिकेटिङ पार्टनर खल्तीले जनाएको छ ।
खल्तीका अनुसार १००० मूल्यको प्रिमियम टिकटका साथै सिद्धार्थ बैंक जोन, रेडबुल जोन, एनसेल जोन तथा जोन १, २ र २ सहित सबै प्यारापिटका टिकट बिक्री भएका छन् । एपमा टिकेट सकिएसँगै भौतिक रूपमा पनि टिकेट उपलब्ध नहुने कम्पनीले स्पष्ट पारेको छ ।
प्रतियोगिता अन्तर्गत बिहीबार र शुक्रबारका टिकेट भने उपलब्ध छन् । बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दैछन् भने शुक्रबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।
यसैबिच टिकट बिक्री भइसकेकाले टिकट नभएका दर्शकलाई मैदान वरपर भीडभाड नगरिदिन जिल्ला प्रहरी परिसर काठमाडौँले अनुरोध गरेको छ । टिकटविहीन व्यक्तिको भीडले सुरक्षा व्यवस्थापनमा चुनौती थपिने भन्दै प्रहरीले सबैलाई सहयोग गर्न आग्रह गरेको हो ।
पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ १५:२
