close

कर्णालीलाई हराएपछि चितवन राइनोजको ‘ट्रोल पोस्ट’ भाइरल, सामाजिक सञ्जालमा पक्ष-विपक्षमा बहस

टेकपाना टेकपाना

मंसिर ३, २०८२ १६:३०

कर्णालीलाई हराएपछि चितवन राइनोजको ‘ट्रोल पोस्ट’ भाइरल, सामाजिक सञ्जालमा पक्ष-विपक्षमा बहस

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई पराजित गरेपछि चितवन राइनोजले आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको एउटा पोस्ट भाइरल बनेको छ । विपक्षी टिमलाई साङ्केतिक रूपमा होच्याइएको उक्त पोस्टलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस सुरु भएको हो ।

एनपीएलको दोस्रो दिन भएको खेलमा कर्णाली याक्सले दिएको १६७ रनको लक्ष्य चितवन राइनोजले ५ बल बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गरेको थियो । पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

खेल जितेलगत्तै चितवन राइनोजको फेसबुक पेजमा एउटा साङ्केतिक तस्बिर पोस्ट गरियो । तस्बिरमा क्रिकेट मैदानमा एउटा गैंडाले गाईमाथि आक्रमण गरिरहेको देखाइएको छ । यसलाई टिमको जीतसँग जोडेर प्रस्तुत गरिएको छ । पोस्टको क्याप्सनमा लेखिएको छ, “गैंडाले दमदार प्रदर्शन गर्दै सिजनको पहिलो जित निकाल्यो ।”

यो पोस्ट सार्वजनिक भएपछि चितवन राइनोजका समर्थकले प्रशंसा गरेका छन् । उनीहरूले यसलाई ‘गज्जबको रोस्ट’ भन्दै मिम बनाउने डिजाइनरलाई पुरस्कार दिनुपर्ने तर्क गरेका छन् ।

तर अन्यले भने फ्रेन्चाइज टिमको सामाजिक सञ्जाल व्यवस्थापकले देखाएको अपरिपक्वता भन्दै आलोचना गरेका छन् । आलोचकले घरेलु प्रतियोगितामा एउटै देशका टिमबिच प्रतिस्पर्धा हुँदा यसरी होच्याउनु गलत भएको बताएका छन् ।

केहीले ‘हार बेहोर्दा यस्तै ट्रोलको सामना गर्न तयार रहनु’ भन्दै चितवनलाई सचेत गराएका छन् भने केहीले यसलाई ‘मिम युद्धको सुरुवात’ भनेका छन् । यस्ता पोस्टले समर्थकबिच सामाजिक सञ्जालमा द्वन्द्व बढाउने र टिमले विपक्षीप्रति सम्मान देखाउनुपर्ने उनीहरूको धारणा छ ।

यो पोस्ट सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ । उक्त पोस्टमा १५ हजारभन्दा बढी रियाक्सन, साढे आठ सयभन्दा बढी कमेन्ट र करिब दुई सय सेयर भइसकेको छ । फेसबुकका अन्य पेज तथा ग्रुपहरूले पनि यसको स्क्रिनशट सेयर गर्दै चर्चा गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ १६:३०