close

टेलिकम, प्राधिकरण, एनटिभीलगायतका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निर्देशन

टेकपाना टेकपाना

मंसिर ४, २०८२ १२:४५

टेलिकम, प्राधिकरण, एनटिभीलगायतका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खरेलले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाउन समेत आग्रह गरे । उनले पीएसबी (रेडियो नेपाल र नेपाल टेलिभिजनको संस्था) को कन्टेन्टमा नवीनता र सिर्जनशीलता तथा प्रस्तुतिमा निखारपन आउनुपर्नेमा जोड दिए ।

मन्त्री खरेलले दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई अपेक्षित उपलब्धि हासिल गर्न निर्देशन दिए । उनले सुरक्षण मुद्रण केन्द्रले सवारी अनुमति पत्र छाप्न थालेसँगै सर्वसाधारणलाई वितरण गर्न पनि आग्रह गरे ।

उनले सङ्घीय सरकारका सबै मन्त्रालयलाई पेपरलेस बनाउने काम माघ महिनाभित्र सक्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । डिजिटल रूपान्तरणका लागि पेपरलेस अनिवार्य भएको उनको भनाई थियो । अहिले अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयलाई पेपरलेस बनाइएको छ ।

मन्त्री खरेलले आम नागरिकले पाउने सेवामा कुनै पनि ढिलासुस्ती नगर्न मन्त्रालयअन्तर्गतका निकायहरूलाई निर्देशन दिए । उनले भने,“म पूर्ण रूपमा विश्वास गर्छु, तपाईँहरूको तर्फबाट सहयोग हुनुपर्छ । अर्को त्रैमासिक बैठक मन्त्रालय अन्तर्गतका निकायका लागि उपलब्धिमूलक र सुखद होस् । आएका सुझावलाई सहजिकरण गर्न मन्त्रालयले पहल गर्नेछ ।”

बैठकमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सन्दिप राई, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्के लगायतले संस्थाले हासिल गरेका प्रगति वितरण प्रस्तुत गरेका थिए ।

 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८२ १२:४५