पोलभाडा सम्झौता नगरेको भन्दै विद्युत प्राधिकरण सल्यान केन्द्रले काट्यो इन्टरनेटको तार
मंसिर ४, २०८२ १६:२८
सांकेतिक तस्बिर
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्र खलंगाले पोल भाडासम्बन्धी सम्झौता गर्न नआएको भन्दै निजी इन्टरनेट सेवाप्रदायकको फाइबर तार काटिदिएको छ । बुधबार राति प्राधिकरणका कर्मचारीले विभिन्न स्थानमा फाइबर इन्टरनेटको तार काटिदिँदा श्रीनगरसहितका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध बनेको छ ।
प्राधिकरणका कर्मचारीले वर्ल्डलिंक, सुबिसु, टेकमाइन्ड्स, निओ लिंकलगायतका कम्पनीहरूको फाइबर काटिएको छ । सरकारी स्वामित्वको टेलिकमको पूर्वाधारमा भने क्षति नपुगेको सेवाप्रदायकले जनाएका छन् ।
सल्यान वितरण केन्द्रले पछिल्लोपटक पोलभाडा सम्झौता नगरेका आईएसपीहरूलाई सम्झौता गर्न वा नवीकरण गर्न आउन पत्राचार गरेको थियो । केन्द्रले प्राधिकरणको पोलको प्रयोग गरी इन्टरनेट सेवा दिइरहेका र पोल प्रयोग गरे बापतको पोल भाडा रकम नबुझाउने सल्यान जिल्लामा अवस्थित विभिन्न इन्टरनेट सेवाप्रदायक कम्पनीलाई बारम्बार आग्रह गरेको दाबी गरेको छ ।
सल्यान वितरण केन्द्रले सम्पर्क गर्न अनुरोध गर्दा पनि नआउनेलाई ३ कात्तिकभित्र आउन ताकेता गरेको थियो । अन्यथा ४ कात्तिकदेखि इन्टरनेट सेवाप्रदायकहरूको लाइन काट्ने चेतावनी दिएको थियो ।
पछिल्लो अध्यावधिक: मंसिर ४, २०८२ १७:५७
