close

विश्वकप २०२६ को प्रमोसनल पोस्टरमा रोनाल्डोको फोटो नराखेपछि फिफा विवादमा, अन्तत: हटायो पोस्ट

टेकपाना टेकपाना

मंसिर ५, २०८२ ९:५४

विश्वकप २०२६ को प्रमोसनल पोस्टरमा रोनाल्डोको फोटो नराखेपछि फिफा विवादमा, अन्तत: हटायो पोस्ट

काठमाडौँ । खेलप्रेमीबाट व्यापक विरोध आएपछि फिफाले २०२६ विश्वकपको पहिलो आधिकारिक प्रमोसनल पोस्टर सामाजिक सञ्जालबाट हटाएको छ । हालसम्म छनोट भएका ४२ राष्ट्रका खेलाडीलाई समेटेर बिहीबार सार्वजनिक गरिएको पोस्टरमा क्रिस्टियानो रोनाल्डोलाई नसमेटिएको भन्दै चर्को प्रतिक्रिया आएको थियो ।

आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने ४८ टिम सम्मिलित विश्वकपका लागि हालसम्म ४२ राष्ट्रले छनोट पक्का गरिसकेका छन् । युरोपेली प्ले-अफसहित बाँकी छ स्थानका लागि प्रतिस्पर्धा जारी छ ।

फिफाले सार्वजनिक गरेको पोस्टरमा एर्लिङ हालान्ड, किलियन एमबाप्पे, लियोनेल मेस्सी, मोहम्मद सलाह, साडियो मानेलगायत चर्चित खेलाडी समेटिएका थिए । तर पोर्चुगलबाट ब्रुनो फर्नान्डेज देखिनु र रोनाल्डो नहुनु प्रशंसकका लागि अचम्मको विषय बन्यो ।

सामाजिक सञ्जालमा ‘रोनाल्डो जस्तो विश्वकै प्रभावशाली खेलाडीलाई हटाउनु बुझ्नै नसकिने निर्णय’ भन्दै आलोचना बढेपछि फिफाले पोस्टर हटाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । फिफाले भने पोस्टर हटाइएको कारण स्पष्ट खुलाएको छैन ।

बरु पोस्टर हटाएको एक घण्टापछि फिफाले ‘कतार २०२२ को तपाईंको मनपर्ने क्षण कुन हो ?’ भन्दै नयाँ फोटो अपलोड गरेको छ, जसमा मेस्सीले विश्वकप उचालेको दृश्य देखिन्छ । 

यसैबिच, रोनाल्डोले विश्वकप जित्नु आफ्नो ‘सपना होइन’ भन्दै आफूलाई इतिहासका महान खेलाडीको रूपमा एक प्रतियोगिताले मात्र परिभाषित नगर्ने बताएको अभिव्यक्ति पनि हालै चर्चामा आएको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ १०:१०