महेश बस्नेतसँगको भिडिओ भाइरल भएपछि भण्डारीको स्पष्टीकरण: ‘व्यक्तिगत कामले मात्र भेटेको हुँ’
मंसिर ५, २०८२ ११:९
काठमाडौँ । चर्चित टेलिभिजन रियालिटी शो 'कमेडी नाइट विथ च्याम्पियन' का निर्देशक एवम प्रस्तोता विशाल भण्डारीले आफू राजनीतिक रूपमा कुनै पनि दल वा व्यक्तिको पक्षमा नरहेको स्पष्ट पारेका छन् । एमाले नेता महेश बस्नेतसँगको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उनले शुक्रबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
भण्डारीले उक्त स्टाटसमा व्यक्तिगत समस्याका कारण सहयोगको अपेक्षामा तत्कालीन प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, विभिन्न नेताहरू तथा सम्बद्ध व्यक्तिहरूसँग भेटघाट गरिरहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “यही क्रममा धेरै ठाउँमा गएको, धेरैलाई भेटेको तस्बिर र प्रमाणहरू पनि मसँग छन् । त्यसैबिच महेश बस्नेतज्युको घरमा भेटको क्रममा खिचिएको एउटा फोटो भिडियो अनावश्यक रूपमा भाइरल बनाइयो ।”
उनले एक व्यक्तिसँग नितान्त व्यक्तिगत समस्या सुनाउन र समाधानका लागि भेटेको आधारमा आफूलाई कुनै राजनीतिक धारसँग नजोड्न आग्रह गरेका छन् । “म राजनीतिक रूपमा कसैको पक्षमा उभिएको छैन, न कुनै समूह, दल वा व्यक्तिको समर्थनमा म त्यहाँ गएको थिएँ,” उनले लेखेका छन्, “आजसम्म पनि सहीलाई सही र गलतलाई गलत भन्नु मेरो सिद्धान्त हो ।”
एमाले नेता बस्नेतले पार्टी निकट युवाहरूसँग गरेको छलफलमा भण्डारी पनि सहभागी भएको देखिएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ ११:९
