उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’को ट्रेलर सार्वजनिक
मंसिर ६, २०८२ १२:२८
काठमाडौँ । उज्वल थापा फाउन्डेसनले उज्वल थापाको जीवनीमा आधारित डकुमेन्ट्री ‘दिमाग घोच्ने मान्छे’ को ट्रेलर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक भएको डकुमेन्ट्रीलाई २५ पुसमा चलचित्र हलमा हेर्न पाइने फाउन्डेसनले जनाएको छ । डकुमेन्ट्रीमा थापाले राष्ट्र निर्माणका लागि राजनीतिक, सामाजिक, आर्थिक पक्षमा गरेका योगदान, परिकल्पना, अभियान र युवा नेतृत्वको भूमिकालाई समावेश गरिएको छ ।
“‘दिमाग घोच्ने मान्छे’ डकुमेन्ट्रीले अभियन्ता र राजनीतिक सुधारक उज्वल थापाको जीवनयात्रा र लिगेसीलाई समेटेको छ,” फाउन्डेसनले ट्रेलर सार्वजनिक गर्दै भनेको छ, “उनका समर्थक, साथी-भाइ, परिवारजन र अन्य नजिकका मित्रबाट सुनेका कथाहरू, पुराना भिडिओ मार्फत कसरी एक जनाको बेचैन दिमागले पुराना चलनलाई चुनौती दियो, एक पुस्तालाई प्रेरित गर्यो र भित्रैबाट परिवर्तन ल्याउने अर्थलाई पुन: परिभाषित गर्यो भन्ने कुरा सरल, आत्मियता र सशक्त रुपमा प्रस्तुत गर्दछ ।”
ट्रेलरमा विभिन्न क्षेत्रका स्थापित व्यक्तिले थापालाई कसरी स्मरण गर्छन् भन्ने देखाइएको छ । उनी कसरी नयाँ पुस्ताका लागि राजनीतिक क्षेत्रका प्रेरक व्यक्ति बने, कसरी सूचना प्रविधि क्षेत्रमा उद्यमि जन्माउने व्यक्ति बने लगायत उनले मान्छेलाई फरक दृष्टिकोणबाट सोच्न सक्ने कसरी बनाए भन्ने चर्चा गरिएको छ ।
यस वृत्तचित्र निर्माणको लागत उज्वल थापाका शुभेच्छुकहरूबाट सङ्कलन गरेर जुटाइएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनको वेबसाइटमा गएर सहयोग गर्न सकिने छ । वृत्तचित्र ड्रिम विजार्ड्स पिक्चर्स प्रालिले निर्माण गरेको हो ।
आईटी उद्यमी, सामाजिक अभियन्ता हुँदै विवेकशील नेपाली दलको नामबाट उनले राजनीति थालेका थिए । सूचना प्रविधि क्षेत्रमा उनलाई धेरै युवाले पथप्रदर्शकका रूपमा सम्मान गर्छन् । उनी आन्टरप्रेनर्स फर नेपाल एवं वर्डप्रेस नेपाल कम्युनिटीका संस्थापक समेत हुन् ।
उनले स्थापना गरेको डिजिटल म्याक्स सोलुसन्स नामक आईटी कम्पनीले वृद्धि गर्न नसकेपछि त्यसबाट हात झिकेका थिए । उक्त कम्पनी उनले त्यहाँ काम गर्ने कर्मचारीहरूलाई नै जिम्मा लगाएका थिए । स्याङ्जा घर भएका उनले सन् २००८ तिर एक्सोटिक बुद्ध नामक ट्राभल पोर्टल समेत बजारमा ल्याए ।
तर त्यसले पनि अपेक्षित सफलता हासिल गर्न नसकेपछि सन् २०१४ मा आएर बन्द भयो । आफ्नो बचत र समय नेपाली ट्राभल पोर्टलमा लगाएका उनले त्यसबाट आम्दानी गर्न नसकेपछि बन्द गरेका थिए ।
यति मात्र होइन, सन् २००६ सालमै उनले रोजगारी खोज्न सकिने साइट डीएमएस लिस्ट सञ्चालनमा ल्याए । तर त्यो पनि सन् २०१२ सम्म आइपुग्दा बन्द गर्नु पर्यो । उनी त्यसलाई विश्वभर नेपालीहरूले बनाएका रोजगार सूचीकरण साइटको छाता बनाउन चाहन्थे । त्यसले आम्दानी गर्न नसकेपनि त्यस्तै अन्य साइटहरू बन्न उत्प्रेरित गर्न सकेकोमा उनी सन्तुष्टि महसुस गर्थे ।
उनले अनलाइन न्युज पोर्टल समेत ल्याए । न्युजफिड डटकम डट एनपी नामक उक्त साइटको आयु पनि सन् २०१० देखि २०१२ को मात्रै रह्यो । उनी त्यसलाई नेपालसम्बन्धी सबै समाचार एकै स्थानमा पढ्न सकिने साइटको रूपमा विकास गर्न चाहन्थे । त्यस प्रतिको रुचि पैदा गर्न नसकेपछि बन्द गरेर अगाडि बढ्नुपरेको उनी बताउने गर्थे ।
स्याङ्जाको सामान्य परिवारमा जन्मिएका उनी छात्रवृत्तिमा बुढानीलकण्ठ स्कुलमा ४ कक्षामा भर्ना भए । सानैदेखि फरक काम गर्न रुचाउने उनले बेलायतबाट लिइएको ए लेभलको अङ्ग्रेजी साहित्यको परीक्षामा अक्षरमा उत्तर नलेखी कार्टुन बनाएर उत्तर दिएका थिए ।
शिक्षक एवं साथीहरूले उनको कामलाई पागलपन भनेर जिस्क्याए पनि उनलाई बेलायती परीक्षा बोर्डले धेरै जिस्क्याउने साथीहरूको भन्दा उच्च अङ्कमा पास गरेर पठायो । केही समयपछि अमेरिका पुगेका उज्वल मल्टी-मिडियामा स्नातक गरेर चर्चित सर्च इन्जिन याहु डटकमसम्म पुगेका थिए ।
अमेरिकामा राम्रो दाम कमाउने सम्भावना हुँदाहुँदै पनि उनी नेपाल फर्किएपछि धेरैले सन्काहा भनेका थिए । किनभने नेपाली समाजमा जो पैसा कमाउने बाटोमा लाग्छ, उसलाई असल भन्ने चलन छ । उनले आफ्नो मनको कुरा सुने । अमेरिका उनलाई आफ्नो ठाउँ जस्तो लागेन र नेपाल फर्किए ।
कहिले बन्द विरोधी आन्दोलन त कहिले युवा उद्यमीलाई एकजुट पार्ने अभियान चलाइरहेका उज्वलले ‘विवेकशील नेपाली’ नाममा युवाहरूलाई सङ्गठित गरेका थिए ।
आईटी उद्यमशीलता समेत सुरु गरेका उनले विवेकशील नेपालीको राजनीति सुरु गरेपछि त्यसबाट बिदा लिएका थिए । यद्यपि त्यस पछिका दिनमा समेत पूर्णकालीन रूपमा रोजगारीमा नलागेका उनी फ्रिल्यान्सिङको काम गर्दै आएका थिए । कोरोना र निमोनियाले च्यापेपछि २०७८ जेठमा थापाको निधन भएको थियो ।
पछिल्लो अध्यावधिक: मंसिर ६, २०८२ १३:५६
