close

कृषकलाई उपयोगी हुने औजार डिजाइन गरे आविष्कार केन्द्रबाट १५ हजार पाइने

टेकपाना टेकपाना

कात्तिक २५, २०८१ १३:४२

कृषकलाई उपयोगी हुने औजार डिजाइन गरे आविष्कार केन्द्रबाट १५ हजार पाइने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले इन्जिनियरिङ अध्ययन गरिरहेका वा पूरा गरिसकेका विद्यार्थीलाई कृषि औजारको मोडलिङ र एनालाइसिस पठाउन आह्वान गरेको छ । केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जालमा पोस्ट राख्दै कृषकलाई उपयोगी हुने औजारको डिजाइन पठाउन अनुरोध गरेका हुन् । 

“इन्जिनियरिङ पढिरहेको वा पढिसकेका जो कसैले पनि साना कृषकलाई उपयोगी हुने कुनै पनि कृषिको साना र हाते औजारको कम्प्युटरमा मोडेलिङ एन्ड एनालाइसिस गरेर पठाउन प्रस्ताव आह्वान गरिन्छ,” उनले पोस्टमा लेखेका छन् ।

उक्त प्रस्ताव छानिएको खण्डमा प्रस्तावकले पुरस्कार स्वरूप १५ हजार रुपैयाँ पाउनेछन् । पुनले अगाडि भनेका छन्, “सो औजार आफैंले बनाउने हो भने पनि नमुना बनाउन चाहिने पूर्ण सहयोग पाइनेछ ।”

पुनका अनुसार कृषकका लागि उपयोगी हुने औजारको डिजाइन सीप भएका जोकोहीले पठाउन सक्छन् । “विद्यार्थीहरू छन् । उनीहरूले दिमाग चलाएर केही उपकरण बनाउँछन् कि भनेर प्रेरित गर्न यस्तो कार्यक्रम ल्याएका हौं,” पुनले भने । 

प्रस्ताव [email protected] मा पठाउन सकिनेछ । यसका लागि अन्तिम मिति तोकिएको छैन । सीप भएको व्यक्तिले जहिले पनि कृषि औजारको डिजाइन पठाउन सक्ने उनको भनाइ छ । यी औजार वीरगञ्जस्थित कृषि औजार कारखानामा प्रयोग हुनेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८१ १३:५४