फ्याक्टचेकः राजाको समर्थनमा विशाल प्रदर्शन भन्दै पुरानो फोटो राखेर राजावादीले फैलाए भ्रम
मंसिर ७, २०८२ १९:३१
काठमाडौँ । शनिबार काठमाडौँमा विशाल प्रदर्शन भएको, तर कुनै पनि मिडियाले कभरेज नगरेको दाबी सहितका फोटो पोस्ट भाइरल भइरहेका छन् । विशेषगरी सामाजिक सञ्जाल फेसबुक र एक्समा राजसंस्था पुनर्स्थापना पक्षधर व्यक्तिले यस्ता पोस्टहरू राखेका छन् ।
ठुलो सङ्ख्यामा प्रदर्शनकारी देखिने फोटो राखेर उनीहरूले मिडियालाई ‘दलाल’को संज्ञा समेत दिएका छन् । टेकपाना फ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा राजावादीले शनिबारको भन्दै राखेका फोटोमध्ये एउटा दुई वर्ष पुरानो र अर्को झन्डै पाँच महिना पुरानो रहेको पाइएको छ । काठमाडौँमा शनिबार राजावादी समर्थकले विशाल प्रदर्शन गरेको भन्ने दाबी पनि भ्रामक देखिन्छ ।
दाबी
फेसबुकमा राजसंस्था पुनस्थापना पक्षधर स्वागत नेपालले २२ नोभेम्बर २०२५ बेलुका ५ः२१ बजे चार वटा फोटो सहितको एक पोस्ट राखे । चार ओटा फोटोमध्ये दुई ओटा फोटोमा ठुलो भिड देखिएको छ भने बाँकी दुई ओटामा सामान्य भिड देखिन्छ ।
उनले क्याप्सनमा लेखेका छन्, “आज स्वतन्त्र अभियन्ताहरुले बिना कुनै संगठन काठमाडौंमा राजसंस्था पुनस्थापनाका लागि यत्रो विशाल प्रदर्शन गरे तर विदेशी दलाल मिडियाहरूले विदेशीका एजेण्टहरुका यो भन्दा साना साना उपस्थितिका कार्यक्रमका मात्र फोटो भिडियो सहितका समाचार प्रस्तुत गरे …”
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ११ हजार बढी लाइक तथा रियाक्सन, ८१० कमेन्ट आएका छन् भने ६३४ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
सामाजिक सञ्जाल फेसबुक र एक्समा राजावादी समर्थकले शनिबार राजधानीमा विशाल प्रदर्शन भएको दाबी गरेका पोस्ट टेकपाना फ्याक्टचेकले खोज्यो । त्यस क्रममा राजावादी समर्थकको नामबाट सञ्चालित विभिन्न फेसबुक पेजले त्यही क्याप्सन र फोटो राखेको पाइयो । नायिका मनिशा कोइरालाले पनि स्वागत नेपालको पोस्ट शेयर गरेकी छिन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
‘संवैधानिक राजतन्त्र आजको आवश्यकता’ नामक पेसबुक पेजले पूर्व राजा ज्ञानेन्द्र शाह देखिने एउटा थप फोटो राख्दै स्वागत नेपालले राखेको क्याप्सन पोस्ट गरेको छ । यो सामग्री तयार पार्दासम्म सो पोस्टमा ३५८ लाइक तथा रियाक्सन र ११ कमेन्ट आएका छन् भने पाँच पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । यिनै फोटो प्रयोग गरेर अन्य दर्जनौँ फेसबुक पेजले विशाल प्रदर्शन भएको दाबी गरेका छन् ।
एक्समा अपिल गुरुङले पनि नेपाली सञ्चार माध्यमलाई लक्षित गर्दै तिनै चार फोटो पोस्ट राखेर आक्रोश पोखेका छन् । झन्डै १३ हजार भ्युज आएको उनको एक्स पोस्टमा २८६ लाइक, १११ रिपोस्ट, कोट रिपोस्ट र १६ रिप्लाई आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
पूर्व पत्रकार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पनि शनिबार स्वागत नेपालले राखेका मध्येबाट दुई वटा र अन्य दुई फरक गरी चार ओटा फोटो समावेश गर्दै पोस्ट गरेका थिए । यद्यपि फोटो पुरानो भएको भन्दै आलोचना भएपछि उनले ती पुराना फोटो हटाएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
दाबी गरिएका चार वटा तस्बिरको सूक्ष्म विश्लेषण गर्दा, त्यस मध्येको एक तस्बिरमा अधिकांश प्रदर्शनकारीले नेपालको राष्ट्रिय झण्डा बोकेका छन् भने केहीले पहेँलो झण्डा बोकेको देखिन्छ । यहाँ अधिकांश सहभागीले छाता ओढेको देखिन्छ ।
‘टाइमएन्डडेट डटकम’का अनुसार शनिबार काठमाडौँको अधिकतम तापक्रम २० डिग्री र न्यूनतम १० डिग्री सेल्सियस थियो भने औसत तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
जाडो मौसमको यो तापक्रममा एकाध जनाले छाता ओढ्नु स्वाभाविक मानिए पनि तस्बिरमा देखिए जस्तो धेरैले छाता ओढ्नु अस्वाभाविक देखिन्छ ।
यसलाई तुलनात्मक रूपमा हेर्दा सोही शनिबार सुन्धारामा आयोजित एमालेको र्यालीमा सहभागी कसैले पनि छाता ओढेको देखिँदैन । एउटै दिनको प्रदर्शनमध्ये एउटामा कसैले पनि छाता नओढ्नु र अर्कोमा (राजावादी भनिएको) अधिकांशले ओढ्नुले विरोधाभास सिर्जना गर्छ ।
तसर्थ दृश्यमा देखिएको पहिरन र छाताको प्रयोगले यो तस्बिर जाडो महिनाको नभई गर्मी यामको भएको सङ्केत गर्छ । गुगल रिभर्स इमेज सर्चमार्फत खोजी गर्दा नेपालक्लिक्स, न्युज नेपा, सिधाकुरा र नेपाल भ्युज लगायतले उस्तै तस्बिर पहिले नै प्रकाशित गरेको भेटियो ।
यसबाट शनिबारको भनिएको उक्त तस्बिर रत्नपार्कस्थित आकाशे पुल क्षेत्रको भएको र त्यो विगतमा जेठ महिनामा राजावादी समर्थकले गरेको प्रदर्शनको तस्बिर रहेको पुष्टि हुन्छ ।
अर्को तस्बिरको विश्लेषणतर्फ लागौँ । उक्त तस्बिरमा एक व्यक्ति फोनमा कुरा गरिरहेको र पृष्ठभूमिमा सयौँले राष्ट्रिय झण्डा फहराइरहेको देखिन्छ । यस तस्बिरलाई रिभर्स इमेज सर्च गर्दा ‘द नोटिस नेपाल डटकम’ले २१ जेठ २०८२ मा ‘तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकियो, आजबाट थुनछेक बहस’ शीर्षकको समाचारमा प्रयोग गरेको पाइयो । तस्बिरमा ‘ओम गेस्ट हाउस’ र अङ्ग्रेजीमा ‘होटेल’ लेखिएको बोर्ड स्पष्ट देखिन्छ ।
साथै, त्यहाँ रहेका चार ओटा ट्राफिक लाइटको उपस्थितिले उक्त स्थान बल्खु हुनसक्ने आधार प्रदान गर्यो । हामीले गुगल म्याप्सको ‘स्ट्रिट भ्यु’ मा ‘बल्खु ओम गेस्ट हाउस’ सर्च गर्दा तस्बिरमा देखिएको स्थान हुबहु मिल्यो ।
थप पुष्टि गर्न बल्खुमा भएका पुराना प्रदर्शनका समाचार खोज्दा ७ मंसिर २०८० मा नेपाल भ्युजले प्रकाशित गरेको ‘मंसिर ७ दिनभर : ‘नक्कली राजावादी’ र ‘असफल गणतन्त्रवादी’को लडाइँ, मारमा निरीह जनता’ शीर्षकको समाचार फेला पर्यो। त्यस्तै, सेतोपाटीको अङ्ग्रेजी संस्करणमा ‘Durga Prasai and supporters hold demonstration at Balkhu’ शीर्षकको समाचारमा पनि ओम गेस्ट हाउस र होटेलको लोगो भएको घर देखिन्छ। यी प्रमाणहरूका आधारमा शनिबारको भन्दै प्रचार गरिएको यो तस्बिर वास्तवमा दुई वर्षअघि बल्खुमा भएको प्रदर्शनको रहेको पुष्टि हुन्छ ।
बाँकी दुई तस्बिर गुगल रिभर्स इमेज सर्चमा पुराना भेटिएनन् । स्वागत नेपाल लगायतले शेयर गरेका यी तस्बिरमा युवायुवतीहरू राष्ट्रिय झन्डासहित मोटरसाइकल र्यालीमा सहभागी देखिन्छन् ।
तस्बिरको सूक्ष्म अध्ययन गर्दा, एक युवकको टाउकोमा बाँधिएको फितामा ‘...नेपाल’ लेखिएको देखिन्छ । यस विषयमा खोज्दा ‘फ्याक्ट नेपाल’ नामक पेजमा शनिबारको प्रदर्शनसम्बन्धी तस्बिर र भिडिओ फेला परे, जहाँ प्रदर्शनकारीले ‘शाही युवा शक्ति नेपाल’ लेखिएको फिता बाँधेको स्पष्ट देखिन्छ ।
सोही आधारमा थप अनुसन्धान गर्दा ‘शाही युवा शक्ति नेपाल’का केन्द्रीय अध्यक्ष पशुपति खड्काको फेसबुक अकाउन्ट भेटियो ।
उनले १८ नोभेम्बर (२ मंसिर) मा पोस्ट गर्दै ६ मंसिरमा सामाखुसीबाट मोटरसाइकल र्याली गर्ने पूर्वजानकारी दिएको पाइयो, जसअनुरूप शनिबार प्रदर्शन भएको देखिन्छ । यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईसँग बुझ्दा सामाखुसी क्षेत्रमा शनिबार शाही युवा शक्ति नेपाल समूहले र्याली निकालेको बुझियो । प्रहरी उपरीक्षक भट्टराईले भने, “त्यो र्यालीमा करिब २०० को हाराहारीमा मानिसहरू सहभागी थिए ।”
माथि उल्लिखित तथ्यका आधारमा शनिबार राजावादी समूहले र्याली आयोजना गरेको भए पनि विशाल प्रदर्शन भएको देखाउन प्रयोग गरिएका दुई तस्बिर भने पुराना हुन् । तीमध्ये एउटा तस्बिर दुई वर्ष र अर्को पाँच महिना पुरानो हो । शनिबारको प्रदर्शन सामाखुसीमा भएको थियो । तर भाइरल बनाइएका तस्बिर भने बल्खु र रत्नपार्कमा पहिले नै भएका प्रदर्शनका हुन् ।
करिब २०० को हाराहारीमा सहभागी भएको कार्यक्रमलाई व्यापक देखाउन, हजारौँको भिड देखिने पुराना तस्बिरको प्रयोग गरिएको स्पष्ट हुन्छ। तसर्थ काठमाडौँमा राजावादी समर्थकले विशाल प्रदर्शन गरेको भन्दै भाइरल बनाइएको पोस्ट भ्रामक छ ।
सन्तोष राजावादी नामका प्रयोगकर्ताले भिडिओ राखेरै फैलाए भ्रम
आफूलाई राजावादी समर्थकका रूपमा चिनाउने सन्तोष राजावदी नामक प्रयोगकर्ताले शनिबार नै बेलुका ६ः४२ बजे एउटा भिडिओ राखेका छन् । ३३ सेकेन्डको उक्त भिडिओको क्याप्सनमा उनले लेखेका छन्, “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ । राजतन्त्र जिन्दावाद ।” यो सामग्री तयार पार्दासम्म उक्त पोटमा ४ हजार बढी रियाक्सन र ४०० कमेन्ट आएको छ भने ६९१ पटक शेयर भएको छ ।
यसमा यो र्याली यही दिनको हो भन्ने खुलाइएको छैन । तर, शनिबार नै भएको अर्को राजावादी र्याली बृहत थियो भन्ने देखाउन यी प्रयोगकर्ताले सो भिडिओ राखेको बुझ्न सकिन्छ ।
टेकपाना फ्याक्टचेक डेस्कले यस भिडिओबाट कि-फ्रेम निकालेर हेर्दा यही भिडिओ १ मार्च २०२५ मा बन्दना प्रकाशन नामक पेजबाट राखेको पाइयो । १ मार्चमा राजावादीसँग सम्बन्धित समाचार खोज्ने क्रममा नागरिकमा ‘नारायणहिटी छिर्न खोज्दै राजावादी समर्थक !’ शीर्षकको समाचार भेटियो ।
भिडिओ बनाउने व्यक्ति राजकुमार ठकुरी भन्दै सन्तोष राजावादी र बन्दना प्रकाशनले मेन्सन गरेका छन् । ठकुरीको अकाउन्टमा हेर्दा १ मार्च २०२५ मा त्यही शैलीका अन्य भिडिओ पोस्ट भएको पाइयो । यी आधारमा सन्तोष राजावादीले फरक सन्दर्भमा पुरानो भिडिओ राखेर भ्रम फैलाउन खोजेको पुष्टि हुन्छ ।
दाबी
सामाजिक सञ्जाल फेसबुक र एक्स (ट्वीटर) मा शनिबार काठमाडौँमा राजसंस्था पुनर्स्थापनाका लागि स्वतन्त्र अभियन्ताहरूले कुनै संगठन बिना नै विशाल प्रदर्शन गरेको दाबी गरिएको छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले हजारौँको भिड देखिने फोटो पोस्ट गर्दै नेपाली सञ्चार माध्यमलाई ‘विदेशी दलाल’ को संज्ञा दिएका छन् ।
उनीहरूले मिडियाले यति ठुलो विशाल प्रदर्शनको समाचार नदिएको तर साना कार्यक्रमको मात्र कभरेज गरेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरेका छन् ।
दाबीकर्ता
स्वागत नेपाल, मनिशा कोइराला, रविन्द्र मिश्र, अपिल गुरुङ, ‘संवैधानिक राजतन्त्र आजको आवश्यकता’, सन्तोष राजावादी लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
टेकपाना फ्याक्टचेकको अनुसन्धानले भाइरल भएका चार मध्ये मुख्य दुई तस्बिर पुराना भएको पुष्टि गरेको छ । ठुलो भिड र छाता ओढेको देखिने तस्बिर हालको जाडो मौसमको नभई करिब पाँच महिना अघि (जेठ महिनामा) रत्नपार्कमा भएको प्रदर्शनको हो ।
त्यस्तै बल्खुको ‘ओम गेस्ट हाउस’ देखिने अर्को तस्बिर दुई वर्षअघि दुर्गा प्रसाईँको नेतृत्वमा भएको प्रदर्शनको हो । यद्यपि शनिबार ‘शाही युवा शक्ति नेपाल’ ले सामाखुसी क्षेत्रमा मोटरसाइकल र्याली भने निकालेको थियो । तर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त र्यालीमा करिब २०० जना मात्र सहभागी थिए, जुन भाइरल पोस्टमा दाबी गरिएजस्तो विशाल प्रदर्शन थिएन ।
निष्कर्ष
काठमाडौँमा शनिबार राजावादी समर्थकले विशाल प्रदर्शन गरेको र मिडियाले त्यसलाई लुकाएको भन्ने दाबी भ्रामक छ । शनिबार करिब २०० को सङ्ख्यामा सामान्य र्याली मात्र निस्किएको थियो । उक्त सानो कार्यक्रमलाई विशाल जन सागर देखाउनका लागि राजावादी समर्थकले दुई वर्ष र पाँच महिना पुराना फरक-फरक स्थानका तस्बिर प्रयोग गरेर भ्रामक सूचना प्रवाह गरेको पुष्टि हुन्छ ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: मंसिर ७, २०८२ १९:३६
