close

एजेन्टिक एआई मार्फत यसरी रूपान्तरण हुनसक्छ नेपालको डिजिटल बैङ्किङ सिस्टम

रेशम आचार्य रेशम आचार्य

मंसिर ९, २०८२ ११:५५

नानो बनानाको सहायताले तयार पारिएको नेपाल राष्ट्र बैंकको प्रतिकात्मक तस्वीर नानो बनानाको सहायताले तयार पारिएको नेपाल राष्ट्र बैंकको प्रतिकात्मक तस्वीर

 

नेपालका हरेक सरकारी , गैरसरकारी, वित्तीय क्षेत्रका संस्थाहरूमा एआई हिजोआज एउटा ‘बज वर्ड’को रूपमा आइरहेको  छ । एआई र यसको  महत्त्वको बारेमा बहस, तालिम, गोष्ठी तथा सभा सम्मेलनहरू दैनिक रूपमा भइरहेको देखिन्छ । 

जानी नजानी एआई विशेष गरी बैङ्किङ प्रणालीको अभिन्न हिस्सा बन्दै गइरहेको छ । अहिले धेरैजसो बैँकहरू पनि रिपोर्ट विश्लेषण, सन्दर्भ सामग्री तयार पार्ने आदि कार्यका लागि जेनेरेटिभ एआई जस्ता च्याटबटमा केन्द्रित छन् । तर एआईको भूमिका यतिमा मात्र सीमित नभई  निकट भविष्यमा एजेन्टिक एआई (Agentic AI)  प्रविधिमा केन्द्रित रहेर बैँकबाट प्रदान गरिने सेवामा  आमूल परिवर्तन हुने निश्चित छ ।  जसले बैङ्किङ सेवा, सुरक्षा, जोखिम व्यवस्थापन र सञ्चालन प्रणालीलाई पूर्ण रूपमा पुनः परिभाषित गर्नेछ ।

के हो एजेन्टिक एआई ?

एजेन्टिक एआई भनेको त्यस्तो स्मार्ट प्रणाली हो, जसले आफूलाई दिएको निर्देश पालना मात्र नगरी वातावरण बुझेर, लक्ष्य निर्धारण गरेर, योजना बनाएर स्वतन्त्र रूपमा स्वचालित रूपमा काम सम्पन्न गर्छ र अनुभवबाट सिक्दै जान्छ । यसलाई हामी ‘डिजिटल बुद्धिमान एजेन्ट’ भनेर पनि बुझ्न सक्छौँ । जसले बैँकका दैनिक कार्यहरूमा मान्छेको सहयोगीको रूपमा काम गर्नेछ ।

विश्व परिदृश्यमा एजेन्टिक एआईको प्रयोग

विश्वका अग्रणी बैँकहरू, जस्तै अमेरिकाका जेपी मोर्गन चेस, सिटी बैँक; सिङ्गापुरको डीबीएस, युरोपका एचएसबीसी र बीएनपी परिबासले एजेन्टिक एआईलाई विभिन्न कार्यक्षेत्रमा प्रयोग गर्न थालिसकेका छन् । ग्राहक सेवा स्वचालन, धोकाधडी पहिचान, जोखिम मूल्याङ्कन, कर्जा स्वीकृति र नियामकीय अनुपालनस्ता क्षेत्रमा एआई एजेन्टहरूले काम गरिरहेका छन् । उदाहरणका लागि एबीएस बैँकले आफ्नो डिजिटल बैँकिङ प्लेटफर्ममा एआई एजेन्ट प्रयोग गरी २४/७ ग्राहक सेवा, कर्जा आवेदन मूल्याङ्कन र धोकाधडी रोकथाममा उल्लेखनीय सुधार गरेको छ ।

भारतमा पनि एसबीआई, एचएफडीसी, आईसीआईसीआई लगायतका बैँकहरूले एजेन्टिक एआई प्रयोग गरी ऋण मूल्याङ्कनमा क्रान्ति नै ल्याएका छन् । त्यहाँ एआईले वैकल्पिक डेटा, जस्तै कारोबार  व्यवहार, बिल भुक्तानी, डिजिटल लेनदेन आदि विचार गरेर रियल–टाइम क्रेडिट स्कोर तयार गर्छ । यसले ऋण स्वीकृति प्रक्रिया केही घण्टामा झार्न, जोखिम कम गर्न र वित्तीय पहुँच बढाउन मद्दत पुर्‍याएको छ । साथै, भारतीय बैँकहरूले स्वचालित रूपमा बैँक खाता खोल्ने, केवाईसी पहिचान गर्ने, ग्राहकका समस्या तुरुन्तै अनलाइनबाटै समाधान गर्ने , एएमएल/सीएफटी निगरानीमा अनियमित व्यवहार पहिचान गर्ने एआई आधारित प्रणाली अपनाएका छन् । जसले धोकाधडी घटाउन मद्‍दत गर्दछ ।

नेपाली बैङ्किङमा सम्भावित प्रयोग क्षेत्र

नेपालमा पनि बैँकहरूले  बिस्तारै डिजिटल सेवा विस्तार गर्दैछन् । एजेन्टिक एआईले यहाँको बैङ्किङ प्रणालीमा ठुलो योगदान पुर्‍याउन सक्छ । ग्राहक सेवा क्षेत्रमा यसले बहुभाषिक संवादमार्फत समस्या समाधान, खाता र कार्ड सेवा स्वचालन र सीआरएम प्रणालीसँग समन्वय गरेर छरितो सेवा दिन सक्छ । यसले काउन्टरमा लाइन कम गर्छ र ग्राहक सन्तुष्टिमा वृद्धि गर्छ ।

ऋण मूल्याङ्कनमा नेपालमा एमएसएमई र खुद्रा ऋण अनुमोदनमा समय र कागजी  प्रक्रिया धेरै लम्बेतान हुने समस्या छ । एजेन्टिक एआईले बैङ्किङ व्यवहार, कर अभिलेख, मोबाइल बैङ्किङ डेटा र अन्य वैकल्पिक आर्थिक सङ्केतहरूको विश्लेषण गरी छिटो र सही क्रेडिट स्कोरिङ गर्न सक्छ । यसले वित्तीय समावेशितामा ठुलो योगदान पुर्‍याउँछ । धोकाधडी र एएमएल निगरानीमा पनि एजेन्टिक एआईले उच्च स्तरको सुरक्षा प्रदान गर्न सक्छ । यसले ग्राहकको कारोबार विवरणबाट  सिकेर अनियमित र सम्भावित धोकाधडी तुरुन्तै पहिचान गर्छ र नियामक निकायको लागि आवश्यकता अनुसारको रिपोर्ट तयार पर्न सकिन्छ । एजेन्टिक एआई मार्फत बैँकको आन्तरिक क्रियाकलाप  सञ्चालन स्वचालित गर्न सकिन्छ ।   सीमित मानव संसाधनबाट  निकै सहज र छिटो छरितो  रूपमा कार्य सम्पन्न गर्न, निर्णय कार्यान्वयन गर्न,  कागजात प्रमाणीकरण, रिपोर्टिङ र टिकट समाधान जस्ता कामहरू गर्न सकिन्छ ।

साइबर सुरक्षा क्षेत्रमा पनि नेपालले धेरै चुनौती भोग्दै आएको छ । एजेन्टिक एआईमा आधारित सुरक्षा प्रणालीहरूले निरन्तर निगरानी गर्दै नयाँ किसिमका साइबर हमलाहरूबाट बैँकलाई बचाउन मद्‍दत पुर्‍याउँछन् ।

एजेन्टिक एआई अपनाउँदा आउन सक्ने चुनौती

एजेन्टिक एआईको प्रयोगमा अवश्य पनि केही सीमितताहरू र जोखिमहरू पनि छन् । एआईले कहिलेकाहीँ असान्दर्भिक अर्थात् गलत सूचना दिन पनि सक्छ ।  नेपालमा डेटा सुरक्षा र नियामक कानुनहरू अझै विकासकै क्रममा छन् । जसले डेटा गोपनीयता र प्रयोगमा चुनौती ल्याउँछन् । साथै, नेपालमा एआई र डेटा विज्ञानको दक्ष जनशक्ति अभाव छ । बैङ्किङ डेटाको गुणस्तर कमजोर हुनाले एआईको निर्णय क्षमतामा असर पर्न सक्छ । पूर्वाग्रह (bias), नैतिकता र निर्णय क्षमताका चुनौतीहरू पनि संवेदनशील विषयहरू हुन्, जसमा विशेष ध्यान दिन आवश्यक छ ।

सफल कार्यान्वयनका लागि आवश्यक रणनीति

एजेन्टिक एआईलाई सफल बनाउन बैँकहरूले केन्द्रीकृत एआई गभर्नेन्स प्रणाली स्थापना गर्नुपर्छ । यसले एआई मोडेलको भर्सनिङ, अडिट ट्रेल र एथिकल गाइडलाइन सुनिश्चित गर्छ । डेटा संरचना, एकीकृत र समय  समयमा अपडेट हुने हुनुपर्छ । एआई एजेन्टहरूको परीक्षण र स्यान्डबक्सिङ जरुरी छ । जसले जोखिम न्यूनीकरण गर्छ । एआईलाई निरन्तर सिक्ने मेमोरी सिस्टमसहित बनाउनु आवश्यक छ । ताकि ती अनुभवबाट सिक्न र सुधार गर्न सकुन् । बैँकका विभिन्न विभागहरू जस्तै प्रोडक्ट, जोखिम,  टेक्नोलोजीबिच सहकार्यले एआई परियोजनाहरू सफल हुन्छन् । एआईमा आधारित सिस्टम बनाउनु अगावै  साइबर सुरक्षा र सोको फ्रेमवर्क  डिजाइन आरम्भमै समावेश गर्नुपर्छ ।

एजेन्टिक एआईले एकल एजेन्टको सीमितता पार गरेर विभिन्न एआई एजेन्टहरूको नेटवर्क र सहकार्यको रूप लिन थालेको छ । बैँकहरूले विभिन्न एआई एजेन्टहरूलाई अन्तरक्रिया गराउने र आवश्यकता अनुसार आउटसोर्स गरेर  एआईमा आधारित नयाँ एजेन्टहरूसँग सहकार्य  गर्न सक्ने छन्  । नियामक संस्थाहरूले एआईको पारदर्शिता, जोखिम मूल्याङ्कन र सुरक्षा सम्बन्धी नियमहरू बनाउन जोड दिनुपर्ने देखिन्छ  । विकसित ट्रेन्ड विश्लेषण गर्दा सन् २०३० सम्ममा अधिकांश बैङ्किङ सेवा एजेन्टिक एआईद्वारा स्वचालित हुने सम्भावना छ ।

त्यसैले नेपालका बैँक तथा वित्तीय संस्थाका नेतृत्वकर्ताहरूले अहिलेदेखि नै एआई प्रयोगको रणनीति बनाउन आवश्यक छ । उनीहरूले एआईको प्रयोगबाट व्यावसायिक मूल्य बढाउने, जोखिम घटाउने र ग्राहक अनुभव सुधार्ने उपायहरूमा ध्यान दिनुपर्छ । बैँकहरूले एआईका लागि सक्षम डेटा पूर्वाधार र दक्ष जनशक्ति विकासमा लगानी गर्नुपर्छ । सेन्टर अफ एक्सिलेन्स स्थापना गरेर एआईको नियमन, विकास र सञ्चालनमा उत्कृष्टता ल्याउन सकिन्छ । तर त्यस अगावै एआई मोडेलको सम्भावना, जोखिम र नियामकीय अनुकूलता सुनिश्चित गर्नु आवश्यक छ ।

निष्कर्ष

नेपालका बैँकहरू अहिले प्रविधिमा आधारित युगमा प्रवेश गरिसकेका छन् । आजको जेनेरेटिभ एआईलाई भोलिको आधार मात्र मान्नुपर्छ । आगामी वर्षहरूमा बैङ्किङ उद्योगलाई रूपान्तरण गर्ने मुख्य शक्ति एजेन्टिक एआई नै हुनेछ । जसले ग्राहक सेवा, सुरक्षा, जोखिम व्यवस्थापन, सञ्चालन दक्षता र लागत नियन्त्रणमा गुणात्मक सुधार ल्याउनेछ । डिजिटल बैङ्किङको चरण पार गरेर एजेन्टिक बैङ्किङ युगमा प्रवेश गर्न नेपाल अब पूर्ण रूपमा तयार छ । अब प्रश्न ‘एआई प्रयोग गर्ने कि नगर्ने’ होइन, ‘कति छिटो र कत्तिको प्रभावकारी रूपमा अपनाउने’ भन्ने हो ।

(लेखक नेपाल स्थित एक विकास बैँकको सूचना प्रविधि विभागमा  विगत १५ वर्षदेखि कार्यरत छन् ।)

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८२ ११:५६