काठमाडौँ । हातमा स्टेथोस्कोप र एप्रन लगाएर बिरामीको नाडी छाम्नुपर्ने हातहरू अहिले सुदूरपश्चिमका हिमाल, पहाड र त्यहाँ पाइने वन्यजन्तुलाई क्यामेराको लेन्समा कैद गर्न व्यस्त छन् । हेल्थ असिस्टेन्ट (एचए)को पढाइ सकेर लोकसेवाको तयारीका लागि काठमाडौँ छिरेका दार्चुलाका हिमालय भट्टले फोटोग्राफी गर्छु भन्ने कहिल्यै कल्पनै गरेका थिएनन् । उनलाई पढाइ अनुसारको सरकारी जागिर खानु थियो ।
त्यही सिलसिलामा काठमाडौँ आएका उनले चार/पाँचमहिना लोकसेवा तयारीमै बिताए । त्यहीबिचमा सँगैका साथीहरू कालिञ्चोक हिउँ हेर्न जाने प्रस्ताव राखे । उनी बसेकै होस्टेलमा पनि हिउँ हेर्न जानेहरू धेरै भेटिए । “२०७४ माघको महिना थियो,” हिमालय आफ्नो सुरुवाती यात्रा सम्झिन्छन्, “कुन बेला कालिन्चोकमा हिउँ पर्ला र हेर्न जाउँला भन्नेमा थिए । हिउँको पर्खाइमा थिए ।”
आफ्नै साथीहरू र होस्टेलका अन्य विद्यार्थीमा पनि ती हिमाल हेर्ने धोको देखेका हिमालयले सोचे; त्योभन्दा कम उचाइ, अझ धेरै महिनासम्म हिउँ रहने आफ्नो सुदूरपश्चिमलाई किन नचिनाउने ? यही प्रश्नले उनलाई लोकसेवाको तयारी चटक्कै छुटाएर काठमाडौँबाट घर फर्कायो । र सुरु भयो एउटा ‘ट्राभल फोटोग्राफर’ को यात्रा । यो यात्रामा उनलाई स्मार्टफोनले विशेष रूपमा सघाएको छ ।
काठमाडौँबाट फर्किएपछि सुरुवाती दिनमा रहरले घुम्न थालेका हिमालयले ‘भिजिट दार्चुला’ नामक फेसबुक पेज खोले । र, साओमी एमआई ए११ फोनबाटै खिचिएका फोटो तथा भिडिओ हाल्न थाले । सुरुमा खासै रेस्पोन्स नपाएपछि उनले पेजको नाम बदलेर ‘भिजिट दार्चुला - अ हिडन हेभन’ राखे । सायद नामको प्रभाव वा उनको निरन्तरता, बिस्तारै मानिसको ध्यान तानिन थाल्यो । त्यतिबेला उनीसँग महँगो क्यामेरा थिएन, मोबाइलले नै सुदूरका दृश्य कैद गर्थे । उनी अगाडि सुनाउँछन्, “मैले थपेको अ हिडन हेभन शब्दले होला मानिसहरूको राम्रो रेस्पोन्स आउन थाल्यो । धेरैले ठाउँको र फोटोको प्रसंसा गर्न थाले । त्यहीँबाट घुम्दाघुम्दै फोटो खिच्न र त्यसलाई पेजमा राख्ने प्रेरणा मिल्यो ।”
करिब दुई वर्ष मोबाइल फोटोग्राफीमै बिताएपछि उनले सामाजिक सञ्जालमा एउटा मनको कुरा पोखे, “अहिलेसम्म सुदूरपश्चिमका ठाउँहरू चिनाउन म मोबाइल क्यामेराबाटै प्रयास गरिरहेको छु । यदि अझै राम्रो क्यामेरा हुन सक्थ्यो भने म सुदूरपश्चिमलाई अझै राम्रोसँग देखाउन सक्थेँ ।”
यो एउटा स्ट्याटसले उनको जीवनमा फरक मोड ल्यायो । पोस्ट गरेको केही मिनेटमै देश-विदेशबाट सहयोगको आश्वासन दिनेहरूको मेसेजले डीएम भरियो । त्यहीबेला युनाइटेड नेसन्सकी चाइना हेड स्मृति अर्यालले हिमालयको फोटोग्राफी प्रतिको रुचि देखेर सम्पर्क गरिन् । “क्यामेरा किन्न कति लाग्छ, हामी दिन्छौं भन्नुभयो स्मृति दिदीले,” हिमालय सुनाउँछन्, “मैले पैसा दिनुस् भनेर पोस्ट त गरेको थिइनँ । राम्रो क्यामेरा भए राम्रो फोटो आउन सक्थ्यो मात्र भनेको थिएँ । मनमा लागेको कुरा मात्र शेयर गर्न खोजेको थिएँ ।”
झन्डै एक वर्षदेखि स्मृतिले हिमालयको फोटोग्राफी यात्रा पछ्याइरहेकी थिइन् । फोटोबाट प्रभावित भएर हिमालयलाई स्मृतिले सहयोग गर्न खोजेकी थिइन् । र, उनले कोसेली सम्झिनु भन्दै ३० हजार रुपैयाँ सहयोग गरिन् । अन्यले पनि क्यूआर कोड माग्न थाले । त्यसपछि हिमालयले सहयोग गर्न चाहनेलाई स्वागत गरे र तीन दिनमै एक लाख ३५ हजार रुपैयाँ संकलन भयो । बाँकी रकम स्थानीय तहले सगयोग गर्यो । त्यही पैसाले उनले ‘क्यानन ९० डी’ क्यामेरा किने र फोटोग्राफीलाई थप निखारे ।
तर, समय र प्रविधिको विकासक्रमसँगै हिमालयको ‘गियर’ फेरि बदलिएको छ । ठुला र गह्रौँ क्यामेरा, ड्रोन बोकेर हिँड्ने हिमालय अहिले पुनः मोबाइल फोटोग्राफीमै फर्किएका छन् ।
उनी भन्छन्, “अहिले सोसल मिडियाको लागि मोबाइल नै पर्याप्त छ । पहिला मोबाइल र क्यामेराको फोटोमा धेरै अन्तर हुन्थ्यो, अहिले खासै छैन ।” हाल उनी सामसङका पछिल्ला फ्ल्यागशिप फोन एस २४ र एस २५ सिरिजका मोडेल प्रयोग गर्छन् । डकुमेन्ट्रीका लागि टिमसँग मिलेर सोनीका क्यामेरा प्रयोग गरे पनि उनको व्यक्तिगत ट्राभल र सोसल मिडिया कन्टेन्ट भने शतप्रतिशत मोबाइलबाटै उत्पादन हुने उनको दाबी छ । उनी प्रविधिले ल्याएको यो सहजतालाई भरपुर उपयोग गरिरहेको बताउँछन् ।
प्रविधिको फड्कोसँगै अहिले एआईको चर्चा पनि चुलिएको छ । फोटोलाई एआईले बनाउने वा एडिट गर्ने चलन बढे पनि हिमालय भने मौलिकतामै विश्वास गर्छन् ।
उनी भन्छन्, “मौलिक ठाउँ घुम्ने चाहना हुनु घुम्नु र फोटो हेर्नु फरक कुरा हो । त्यसमा पनि एआई फोटो र मौलिक फोटोमा बढी भ्यालु मौलिक फोटोकै हुन्छ ।” एआईले फोटो सिर्जना गर्न सक्ला तर मानिसले गरेको अनुभव र त्यो ठाउँको वास्तविक ‘भाइब’ दिन नसक्ने उनको बुझाइ छ । उल्टै एआईका कारण पुराना र वास्तविक फोटोमाथि पनि मानिसले शंका गर्न थालेको तितो अनुभव उनीसँग छ । केही वर्षअघि खिचेको वास्तविक सनसेटको फोटोलाई पनि अहिले मानिसले एआईबाट बनाएको हो कि भनेर सोध्ने गरेको उनी सुनाउँछन् ।
हिमालय र उनीजस्ता कन्टेन्ट क्रिएटरको डिजिटल सक्रियताले सुदूरपश्चिमको पर्यटनमा कायापलट नै ल्याएको छ । वर्षमा मुस्किलले ३०-४० जना पुग्ने अपि बेसक्याम्पमा अहिले सिजनमा दैनिक दुई-तीन सय जनासम्म पुग्न थालेका छन् । “फोटोग्राफीकै कारण देश-विदेशमा प्रचार भएको छ । अहिले महिनौंसम्म त्यहाँका होटल प्याक हुन्छन् । स्थानीयले रोजगार पाएका छन्,” उनी खुसी सुनाउँछन् ।
सामाजिक सञ्जालमा भाइरल हुने भिडिओ र फोटोले विदेशी र स्वदेशी पर्यटकलाई सुदूरपश्चिम तानिरहेको उनी बताउँछन् । तर, प्रविधिको यो वरदानसँगै केही चुनौती पनि थपिएका छन् । विशेषगरी ‘कपीराइट’ र ‘कन्टेन्ट चोरी’ को समस्याले उनीहरूलाई सताउने गरेको छ । एउटा क्रियटरले दुःख गरेर खिचेको भिडिओ वा फोटो अनुमति बिना डाउनलोड गरेर अरूले आफ्नो पेजमा हाल्दिँदा ओरिजिनल क्रियटरको सोसल मिडिया रिच घट्ने गरेको उनी बताउँछन् । “हाम्रो कन्टेन्ट चोरी हुँदा वाच टाइम र भ्युज घट्छ,” उनी गुनासो गर्छन्, “त्यही भिडिओ अरू कसैले पहिले नै राखेको देखियो भने सोसल मिडिया युजर्सले अर्को भिडिओलाई वास्ता गर्दैनन् । त्यसैले हाम्रा कन्टेन्ट अरूले कपि गरेर राख्दा हामी मारमा पर्छौं ।” फेसबुकजस्ता प्लाटफर्मले कडा नियम नल्याएसम्म यो समस्या समाधान नहुने उनको ठम्याइ छ ।
सुदूरपश्चिमका कुना-कन्दराका तस्बिर अन्तर्राष्ट्रिय बजारमा राम्रै मूल्यमा बिक्री भए पनि नेपालमा भने अझै फोटोग्राफीको भ्यालु बुझ्न नसकिएको हिमालयको अनुभव छ । होटल तथा व्यवसायले लाखौँ खर्च गरेर सजावट गर्छन्, तर एउटा स्थानीय फोटोलाई उचित मूल्य तिर्न हिचकिचाउँछन् । त्यसैले उनी इन्स्टाग्राममार्फत भारत, जर्मनी, स्पेन लगायतका देशमा आफ्ना फोटो बेच्छन् । यद्यपि विद्यार्थी र फोटोप्रेमीका लागि भने उनी निकै उदार छन् । हजारौँ पर्ने फोटो पनि विद्यार्थीको बजेट हेरेर तीन-चार सय रुपैयाँमै उपलब्ध गराउने गरेको उनी सुनाउँछन् । “धनगढी र महेन्द्रनगरका अधिकाशं ठुला होटलले आफ्नो स्थानमा सुदूरपश्चिम झल्काउने फोटो राखेको देखिंदैन,” उनी भन्छन्, “ती होटेलमा विकसित देशका दृश्य वालमा राखेको देखिन्छ । स्थानीय फोटो राख्नुस् भन्दा फोटो खरिद गर्ने बजेटको अभाव छ भन्नुहुन्छ । यदि समस्या बजेटकै हो भने म मेरा फोटो निःशुल्क उपलब्ध गराउँछु ।”