के तपाईंलाई थाहा छ ? फेसबुकका ‘ट्याब बार’ आफ्नो रुचि अनुसार राख्न मिल्छ नि !
मंसिर १०, २०८२ २१:३४
काठमाडौँ । सामान्यतः हामीमध्ये अधिकांश प्रयोगकर्ता फेसबुक एप जस्तो छ त्यस्तै अर्थात् डिफल्ट मोडमै प्रयोग गर्छौं । त्यही अनुसार नै हामी बानी परेका हुन्छौं । तर, के तपाईंलाई थाहा छ ? एन्ड्रोइड मोबाइलको माथिपट्टि र आईओएस (आईफोन) को तलपट्टि देखिने फेसबुकका ट्याब तपाईंले आफ्नो आवश्यकता र रुचि अनुसार राख्न वा हटाउन सक्नुहुन्छ ।
फेसबुकले सामान्यतः प्रयोगकर्ताको सहजताका लागि ‘डिफल्ट’ रूपमा करिब ६ ओटा ट्याब राखेको हुन्छ । जसमा होम, रिल्स (Reels), फ्रेन्ड्स, ग्रुप्स, नोटिफिकेसन र प्रोफाइल (मेनु) बार समावेश हुन्छन् । केही प्रयोगकर्ताकोमा फेसबुक मार्केटप्लेस र गेमिङका ट्याबहरू पनि देखिन्छन् ।
यी ट्याबहरू स्वतः अपडेट भइरहन्छन् । उदाहरणका लागि यदि कुनै नयाँ भिडिओ आएको छ भने भिडिओ ट्याबमा ‘रातो डट’ देखिन्छ । यसले प्रयोगकर्तालाई त्यता क्लिक गर्न आकर्षित गर्छ । त्यस्तै ग्रुप वा गेमिङमा पनि यस्तै नोटिफिकेसन देखाइन्छ । यस्ता अनावश्यक नोटिफिकेसन र ट्याबले प्रयोगकर्ताको ध्यान भड्काउने वा लत लगाउने जोखिम हुन्छ । यदि तपाईंलाई यी ट्याब अनावश्यक लाग्छन् भने फेसबुकले तिनलाई हटाउने सुविधा पनि दिएको छ ।
तपाईंले आफ्नो फेसबुक एपमा होम, नोटिफिकेसन र मेनु (प्रोफाइल) बाहेकका अन्य ट्याब लुकाउन सक्नुहुन्छ । यसका लागि दुई ओटा सरल तरिका छन्:
पहिलो तरिका
तपाईं जुन ट्याब (जस्तै: भिडिओ, गेमिङ वा ग्रुप) हटाउन वा लुकाउन चाहनुहुन्छ, उक्त ट्याबको आइकनमा केही सेकेन्ड थिचिराख्नुहोस् (Long Press) । त्यसपछि त्यहाँ देखिने विकल्पमध्ये ‘Hide from tab bar’ मा क्लिक गर्नुहोस् । यसो गर्दा उक्त ट्याब तत्काल हट्नेछ ।
दोस्रो तरिका
-
सबैभन्दा पहिले फेसबुक खोल्नुहोस् र माथि (वा तल) दायाँपट्टि रहेको आफ्नो प्रोफाइल आइकन (मेनु) मा जानुहोस् ।
-
तल स्क्रोल गरेर ‘Settings & privacy’ भित्रको ‘Settings’ छान्नुहोस् ।
-
त्यहाँ रहेको ‘Tab bar’ भन्ने अप्सनमा जानुहोस् ।
-
अब ‘Customize the bar’ अप्सन छान्नुहोस् ।
-
त्यसपछि यहाँ तपाईंले भिडिओ, ग्रुप्स, मार्केटप्लेस लगायतका सूची देख्नुहुनेछ । आफूलाई नचाहिने ट्याबको छेउमा रहेको बक्समा क्लिक गरी ‘Hide’ छान्नुहोस् ।
यसरी सेटिङ मिलाएपछि तपाईंको फेसबुक एप सफा देखिनेछ भने अनावश्यक नोटिफिकेसनको झन्झट र एपमा भुलाइरहने समस्याबाट पनि केही हदसम्म मुक्ति मिल्नेछ ।
पछिल्लो अध्यावधिक: मंसिर १०, २०८२ २१:३४
