जेनजी विद्रोहमा लुटिएको हतियार देखाई राति फुड डेलिभरी ब्वाई लुट्ने ३ जना पक्राउ
मंसिर १२, २०८२ १२:३९
फाइल तस्बिर
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएका हतियारको दुरुपयोग गरी राजधानीमा लुटपाट मच्चाउने तीन जना पक्राउ परेका छन् । राति २ बजे फुड डेलिभरी गर्ने व्यक्तिलाई पेस्तोल देखाई लुटपाट गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई बुधबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बागलुङका २५ वर्षीय बालकृष्ण गैरे, मकवानपुरका २५ वर्षीय निकेश विक र मकवानपुरकै सुरज विक रहेका छन् । उनीहरू हाल काठमाडौँका विभिन्न स्थानमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार निकेश र सुरज विकले गत ५ मङ्सिर राति अन्दाजी २ बजेको समयमा काठमाडौँको बागबजारमा लुटपाट गरेका थिए । उनीहरूले अनलाइन फुड डेलिभरी सेवाप्रदायक ‘भोज डिल’ का डेलिभरी ब्वाई निरज चौधरीलाई साथमा रहेको हतियार (पेस्तोल) देखाई तर्साएर नगद तथा जिन्सी सामग्री लुटेका थिए ।
यस सम्बन्धमा पीडितले प्रहरी वृत्त सिंहदरबारमा निवेदन दिएका थिए भने अपराध अनुसन्धान कार्यालयमा डाँका चोरी सम्बन्धी किटानी जाहेरी परेको थियो ।
प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट विद्रोहका क्रममा लुटिएका दुई थान पेस्तोल बरामद गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये निकेश विक पेसेवर अपराधी रहेको खुलेको छ । उनी यसअघि पनि विभिन्न अपराधमा संलग्न रही फरार सूचीमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार निकेशविरुद्ध ११ माघ २०८१ मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जाहेरी परेको थियो । साथै उनी ४ भदौ २०८१ मा इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा दर्ता भएको चोरी सम्बन्धी मुद्दामा समेत फरार प्रतिवादी रहेको खुलेको छ ।
पक्राउ परेका तीनै जनामाथि हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १२, २०८२ १२:४३
