विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा नेपाली युवा शीर्ष २१औं र २२औं स्थानमा
मंसिर १३, २०८२ १८:५४
काठमाडौँ । विश्वभरका ७०० भन्दा बढी ह्याकर तथा क्लाउड सेक्युरिटी इन्जिनियरको सहभागिता रहेको ‘विज क्लाउड सेक्युरिटी च्याम्पियनसिप’मा दुई नेपाली युवाले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष २१औं र २२औं स्थान हासिल गर्न सफल भएका छन् । क्लाउड सुरक्षामा आधारित यो विश्वव्यापी प्रतिस्पर्धामा नेपालबाट अनुभव रत्न ढकाल र रञ्जन मरासिनीले सहभागिता जनाइरहेका हुन् ।
एक वर्षसम्म चल्ने प्रतियोगितामा एडब्लूएस, जीसीपी, कुबेरनेटिक्स जस्ता प्लेटफर्ममा देखिने वास्तविक सुरक्षा कमजोरीलाई आधार मानेर हरेक महिना नयाँ चुनौती (क्याप्चर द फ्ल्याग च्यालेन्ज) दिने गरिन्छ ।
हाल छैटौं महिनामा चलिरहेको प्रतियोगितामा सहभागी २३ वर्षीय ढकालले इस्लिङ्टन कलेजबाट साइबर सेक्युरिटीमा स्नातक गरेका हुन् । त्यस्तै २४ वर्षीय रन्जन मरासिनी फोर्व्स कलेज चितवनमा साइबर सेक्युरिटी विषयमा स्नातक तह अध्ययन गरिरहेका छन् ।
सुरुमा ७० औं स्थानभन्दा तल रहेका उनीहरूले गएको महिना कुबेरनेटिक्ससम्बन्धी सबैभन्दा कठिन मानिएको चुनौती सफलतापूर्वक पार गरेपछि एकैपटक शीर्ष स्थानमा उक्लिएका हुन् । प्रतियोगिताको लिडरबोर्डमा ढकालले ‘एक्सपर्ट जेरक्स’ र मरासिनीले ‘नुब इन्जेक्टेड’ नामबाट प्रतिस्पर्धा गरिरहेका छन् ।
अर्का नेपाली उश्पल फुयाँल (Bhugate0) ६३ औं स्थानमा छन् भने विदिशा सुवेदी २०७ औं स्थानमा छिन् ।
क्लाउड सेक्युरिटीको राम्रो ज्ञान आवश्यक पर्ने र डोमेनको गहिरो बुझाइ चाहिने भएकाले यो प्रतियोगिता निकै चुनौतीपूर्ण मानिन्छ । नेपालबाट आफूहरू दुईजना मात्र आधिकारिक निमन्त्रणा र छनौट प्रक्रियामार्फत सहभागी भएको ढकालले जानकारी दिएका छन् ।
“यसमा विशेष इन्भिटेसन पाएर हामी दुई जना नेपाली मात्र सहभागी छौं,” टेकपानासँग कुरा गर्दै ढकालले भने, “अहिले पनि यसमा जोसुकै सहभागी हुन सक्छन् ।” टेकपानाले उक्त प्रतिस्पर्धामा यो समाचार तयार पार्दासम्म चार जना सहभागी भएको पाइयो । साइबर सुरक्षामा रुचि हुने व्यक्तिले यहाँ क्लिक गरेर सहभागिता जनाउन सक्छन् ।
विज कम्पनीले आयोजना गरेको यो प्रतियोगिता जितेमा डब्लूडब्लूईको जस्तै च्याम्पियनशिप बेल्ट र आकर्षक पुरस्कार प्राप्त हुनेछ । साथै प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेलाई इजरायल र अमेरिकामा मुख्यालय रहेको विज कम्पनीमा रोजगारीको अवसरसमेत मिल्नेछ । उत्कृष्ट प्रदर्शनकै कारण अनुभव रत्न ढकालले उक्त कम्पनीसँग अनुबन्धित भएर नेपालबाटै रिमोट काम गर्ने अवसर पाइसकेका छन् ।
जुन २०२५ देखि सुरु भएको यो मे २०२६ सम्म चल्नेछ । प्रतिस्पर्धामा अझै उत्कृष्ट नतिजा ल्याउँदै शीर्ष १० भित्र पर्ने लक्ष्य राखेको उनीहरूले बताएका छन् ।
पछिल्लो अध्यावधिक: मंसिर १४, २०८२ १०:१४
